Tuesday, June 30, 2015

link

सपनाको देशमा


सपनाको देशमा
,
बसन्त बस्नेत

सम्राट उपाध्याय
देखिएका सम्राट उपाध्यायको कथा पाठकलाई थाहा छ। नदेखिएका सम्राटको कथा कसलाई थाहा छ!
प्रकाशकलाई पाठकमाझ यस्तो मेनु पस्कने बानी लागेको छ – केवल सफलताको कथा सुनाउने चलन छ।
पाठकलाई पनि उही पुरानो मेनु हेर्दै स्वाद चाख्ने बानी लागेको छ– केवल उचाइको आनन्दमा मग्न हुने चलन छ।
टोपी खस्लाजस्तो, नाक ठोक्किएलाजस्तो उकालीको कथा सुन्ने कसले। चढेर उचाइ छोएका सिँढीहरू फर्केर गन्ने कसले !





यो एउटा त्यस्तो नेपाली लेखकको कथा हो, जोसँग सफलताका कथाभन्दा संघर्षका कथा बढी छन्। उचाइभन्दा उकालीका कथा धेरै छन्।

असारे झरीले निथ्रुक्क सम्राट आफ्ना कठिन दिनहरू सम्झन यतिखेर केशरमहलस्थित गार्डेन अफ् ड्रिम्समा यो पंक्तिकारको अघिल्तिर बसेका छन्। चिसोले स्वर छ्याप्प बसेको छ। छेउमा केही पर्यटक बालकहरू खेलिरहेछन्। उनका आँखाहरू भने अन्तै कतै छन्। सके, इतिहास नामको कुनै पाँचौं दिशा हुँदो हो।

'अमेरिकामा विद्यार्थी छँदा मैले कठिन संघर्ष गरें,' ५१ वर्षे आख्यानकार अतीत सम्झछन्, ' पाठकलाई आजसम्म थाहा दिएको छैन।'

...

२०१९ फागुन ७ गते काठमाडौंमा जन्मेका सम्राटले सेन्ट जेभियर्स पढे। मल्पीबाट ओ लेभल गरे। त्यसपछि मुम्बई भागे। 'सोल सर्चिङ डेज्' थिए ती, उनका लागि।

मायानगरी मुम्बई घुम्यो, फिल्म हेर्‍यो। दिन यत्तिकै बित्दै गए। एकदिन अकस्मात् सम्राट काठमाडौं फर्के। त्यसपछि शंकरदेव क्याम्पस जान थाले। पढाइमा उनी राम्रै थिए। मन भने अन्तै बहकिइरहन्थ्यो। २१ वर्षको उमेरमा अमेरिका हानिए। उनका वास्तविक दिनहरू त्यसपछि सुरु भए।

सन् १९८४ मा अमेरिका जाँदा उनी 'गरिब विद्यार्थी' थिए। अमेरिकामा गरिब हुनु भनेको पैसा नहुनु हो। त्यो भनेको अमेरिकामा केही नहुनुजस्तै हो।

'म हरेक दुई हप्तापिच्छे नयाँ साथीको सोफामा बस्न जान्थें, तेस्रो हप्ता साथी बदल्थें, उसैकहाँ बस्थें,' उनी सम्झन्छन्, 'भाडा तिर्ने पैसा नहुँदा आफ्नो कोठा छाड्नुपर्थ्यो, दुइटा सुटकेसमा सामान हाल्थें। त्यसरी साध्य हुन छाड्यो, एउटा ठूलो गार्बेज ब्यागमा सबै सामान हालेर हिँड्न थालें।'

सम्राट थप्छन्, 'त्यो बेला म निराशजस्तै थिएँ।'

नदेखिएका सम्राटको कथा यही हो। यो संघर्ष आठ वर्षसम्म निरन्तर रह्यो। अर्थात्, सन् ९२ सम्म। त्यही साल उनले ओहायो युनिभर्सिटीबाट एमए सके।

अमेरिका सपनाको देश हो। भलै सपनाहरू कहिलेकाहीँ दुस्वप्नमा परिणत हुन्छन्। सम्राटलाई अमेरिका आफ्नो भएन। त्यही बेला साउदी अरेबियामा प्राध्यापन गर्ने प्रस्ताव आयो। त्यहाँ एक वर्ष पढाए। अनि नेपाल आएर दुई वर्ष बसे।

काठमाडौं आएपछि 'ट्राभलर्स नेपाल' म्यागजिनमा सहसम्पादक बने। 'द काठमान्डु पोस्ट' का लागि स्तम्भ लेख्न थाले। बबितासँग सन् १९९३ मा 'नेपाली पाराको' बिहे भयो। अर्थात्, सम्राटको परिवार बबिताको घरमा कुुरा चलाउन गयो। छोरीले हुन्छ भन्दिइन्। अभिभावकले हुन्छ भन्दिए। सम्राट जो दाबी गर्छन्।

पत्नीसँगै अमेरिका फर्केका सम्राटले त्यसपछिको समय प्राज्ञिक गतिविधिमै लगाए। सन् १९९९ मा युनिभर्सिटी अफ् हवाईबाट पिएचडी सके। बबिताले पनि त्यहीँ मास्टर्स सकिन्। अमेरिकामा सितिमिति कसरी काम पाउनु! सीमित बजेटमा चल्नुपर्ने दिनहरू थिए। अरू साथीहरूको कार हुन्थ्यो, उनको हुन्थेन। भन्छन्, 'सार्वजनिक यातायातका भरमा चल्न गाह्रो थियो।'

'ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल' माधवप्रसाद घिमिरेको कविता ठिकै भन्छ। सम्राटको हकमा यो चरितार्थ हुन गयो। अभाव र कष्टबीच सम्राट कथा लेखिरहेका थिए। पहिलो उपन्यास 'माया' लेखे। त्यसले कहिल्यै घाम देख्न पाएन। यसै थन्कियो पाण्डुलिपि। पिएचडी गर्दागर्दै अर्को पनि उपन्यास लेखे उनले। प्रकाशकले सकार्ने कुरै थिएन।

अकस्मात् उल्का!

सम्राटको कथा 'द गुड सपकिपर' 'बेस्ट अमेरिकन सर्ट स्टोरिज सिरिज'मा छापियो। अमेरिकी साहित्यिक पत्रिकामध्येबाट चुनिएका २० कथा त्यसमा छापिन्थे। एमी ट्यानजस्ता ठूला लेखक छापिरहने सिरिजमा आफू अचानक झुल्किनु उनका लागि अप्रत्याशित थियो। 'म अचम्भित भएको थिएँ, त्यसमा कसरी मेरो नाम आयो!' उनी भन्छन्। नाम चलेका लेखक र समीक्षकको आँखामा सम्राट पहिलोपल्ट देखिनेगरी छाएको यो नै पहिलोपटक थियो।

त्यो कथा पढेपछि ठूलो प्रकाशनगृह हटन मिफलिनले सम्राटसँग कथा संग्रहको पाण्डुलिपि पठाउन आग्रह गर्‍यो। उनका लागि यो ठूलो मौका थियो। तुरुन्तै लगेर दिए। प्रकाशकले पनि तुरुन्तै बधाई दियो। अनि छापियो– अरेस्टिङ गड् इन् काठमान्डु।

'हटन मिफलिनले मलाई राम्रो पैसा दियो,' उनी कृतज्ञ छन्, 'अनि पहिलो किताबले नै नचिताएको प्रचार दिलायो।' सम्राटको संघर्षलाई भाग्यले पछ्यायो। कथा यतिमै सकिँदैन। संघर्षका नयाँ अध्याय बाँकी छन्। त्यसैसँग सफलताका खुड्किला पनि गनिँदै जान्छन्।

'अरेस्टिङ गड इन काठमान्डु'का लागि सम्राटले प्रख्यात अमेरिकी पुरस्कार ह्वाइटिङ राइटर्स अवार्ड पाए। त्यो किताब बानर्स एन्ड नोबल डिस्कोभर ग्रेट राइटर्स प्रोग्रामका लागि छानियो। उनका कथाहरू अमेरिकी राष्ट्रिय रेडियोबाट वाचन हुन थाले। अर्को खुड्किलो, अरेस्टिङ गड इन काठमान्डु फ्रेन्च र ग्रीक भाषामा पनि अनुदित भयो।

एकपछि अर्को गर्दै प्राप्त सफलताले सम्राटलाई नयाँ चुनौती दियो। उनले यस बीचमा एउटा उपन्यास लेखे। हटन मिफलिनले नै सन् २००३ मा 'द गुरु अफ लभ' शीर्षकमा त्यसलाई छाप्यो। उक्त किताब सोही वर्ष 'द न्युयोर्क टाइम्स नोटेबल बुक अफ द इयर'का रूपमा छानियो। उत्तिखेरै 'सान फ्रान्सिस्को क्रोनिकल बेस्ट बुक अफ इयर' छानियो। विख्यात 'किरियामा प्राइज'को अन्तिम सूचीमा पुस्तक पर्‍यो।

अब सम्राटका लागि लेखनबाट भाग्ने बाटो थिएन। जीविका हेतु संघर्षरत उनलाई लेखनबाट भाग्नु पनि थिएन। लेखनले नाममात्रै होइन, चुनदाम पनि राम्रै दिलाउन थालेको थियो।

सम्राटको अर्को कथाकृति 'द रोयल गोस्ट्स' त्यसको तीन वर्षपछि छापियो। छापिनु के थियो, फेरि प्रशंसा र अवार्डको ओइरो। 'द रोयल गोस्ट्स'ले त्यसैको अर्को वर्ष एसियन अमेरिकन लिटरेरी अवार्ड, द सोसाइटी अफ मिडल्यान्ड अथर्स बुक अवार्ड पायो। त्यो वासिङ्टन पोस्टको आख्यान सूचीमा दरियो। त्यो फ्रांक ओ कोनोर इन्टरनेसनल सर्ट स्टोरी अवार्डको अन्तिम सूचीसम्म पुग्यो। २०१० मा निस्केको उपन्यास 'बुद्धज् अर्फान्स' जर्मन र चेक भाषामा समेत अनुदित भयो। संघर्ष र चुनौतीबीच यो सबै सम्राटको लेखनले खनेको सफलताको गोरेटो थियो। कम्तीमा उनका पात्रमार्फत् पश्चिमी समाजले नेपाली समाज थाहा पाउन थालेको थियो।

सम्राट भने काठमाडौं या नेपाल चिनाउनकै लागि लेख्ने नगरेको दाबी गर्छन्। यही काठमाडौंमा उनी हुर्के। यसैको माया लाग्दो हो। जेम्स ज्वाइसले लेख्दैपिच्छे डब्लिनको महिमा गाएको प्रभाव उनीभित्र छ। के थाहा, देहातमा जन्मेका भए त्यसैको कथा उन्थे कि!

सम्राटलाई अमेरिकी मिडियाले नेपाली अमेरिकी लेखक भनी चिनाउँदा रहेछन्। उनलाई चाहिँ यस्तो परिचय दिन अप्ठेरो लाग्छ। 'मैले त आफूलाई नेपाली लेखक भनेरै सोचिरहेको हुन्छु,' एनआरएन भइसकेका उनी भन्छन्, 'कसैकसैले त अमेरिकाको एथ्निक राइटर भन्दिन्छन्। त्यो पनि समस्या हो।' आदिवासी बिल्ला भिराइदिएर आफूलाई मूलधारबाट पन्छाउने षडयन्त्र भइरहेजस्तो लाग्दो रहेछ उनलाई। नेपालभित्रका लेखकका लागि यसको माने के होला!

समकालीन अमेरिकी यथार्थवादी आख्यानकारमा उनी उल्लेख गरिन्छन्। सान फ्रान्सिस्को क्रोनिकलले त उनलाई बुद्धिस्ट चेखबका रूपमा मान दिएको छ। सम्राटसँग नयाँ दुःख थपिएका होलान्। पुराना दुःख भने रहेनन्। अब त किताब लेख्नु, पुरस्कार जित्नु, रोयल्टी पाउनु सबै दालभातजस्तो भइसक्यो।

सम्राटका मातापिता यहीँ छन्। पिता हरिभक्त उपाध्याय जेम स्टोन रिसर्चर हुन्। पत्नी बबिता र १२ वर्षीया छोरी शाहजादीसाथ उनी इन्डियाना राज्यको ब्लुमिङ्टनमा बसिरहेछन्। काठमाडौंकै परिवेश तानेर लेखिएको अर्को उपन्यास 'सिटी सन' माघतिर आउँदै छ। उनी भन्छन्, 'सहरको बारेमा होइन, नेपाली पात्रबारे लेखेको हुँ। मेरो लागि यो अहिलेसम्मको उत्कृष्ट लेखन हुनेछ।' उनका अनुसार अहिले त्यसको कभर छनोट भइरहेको छ।

उपन्यासको विषय के छ, उनका लागि उप्काउन गाह्रो छ। कथानक वर्णन गर्न गाह्रो लाग्ने भएकाले नखुलाएका रे। प्रकाशक बदलेका छन्। पुरानो प्रकाशक अर्कोसँग मर्ज भएपछि सम्राटसँग काम गर्ने सम्पादकीय टिम छिन्नभिन्न भयो। 'त्यही बेला सोहो प्रेस नामक प्रकाशकले मेरो नयाँ उपन्यासको पाण्डुलिपि मन परायो,' उनी भन्छन्।

सम्राटले नेपाली किताब खासै पढेका छैनन्। सेन्ट जेभियर्समा पढ्दाताक नेपाली भाषामा राम्रै दक्खल रहेको दाबी गर्छन्। अमेरिका जानुअघिसम्म नेपालीमा लेखेछन् पनि। नेपाली भाषामै लेखेर काठमाडौंमा निबन्ध प्रतियोगिता पनि जिते। अंग्रेजीमै लेख्ने पढ्ने आदत थियो। त्यसमाथि भाषा भनेको निरन्तर अभ्यासबाट प्राप्त हुने साधना हो। उनले अभ्यास र साधना दुवै गर्न छाडिदिए। उनको खास रुचि अंग्रेजीमै थियो। त्यतै लागे।

सम्राटले नेपाली व्यावसायिक उपन्यासकार युधीर थापा, वसन्त पढें। हिन्दीमा अमृता प्रितम, गुलशननन्दा पढे। उनकी आमा शान्ता यस्ता किताब ल्याउँथिन्। आक्कलझुक्कल निस्कने 'पुड्के जासुस'जस्ता नेपाली जासुसी उपन्यास पढे। यतिका कुरा गरिसक्दा पनि कुनै गतिला नेपाली कृतिको नाम उनले सम्झेनन्।

सम्राट लेख्ने बेला धेरै योजना बनाउँदैनन्। यस्सै सुरु गर्छन्। त्यसपछि कथा पानी झैं बग्न थाल्छ। मेरुदण्ड बनाउने चलन छैन। स्ट्रिम अफ् कन्ससनेस प्रविधिजस्तो। लेख्दै जाँदा कथानक, पात्र र परिवेश बिस्तारै दिमागमा सेट हुँदै जान्छ।

'सिटी सन' लेख्दै गएपछि उनलाई उपन्यास विधा राम्ररी बुझेजस्तो लाग्छ। पाठकहरूको टिप्पणी छ, उनका उपन्यासभन्दा कथा बढी जम्छन्। उनको भने उपन्यासमा टक बसिसकेको छ। कथा छाडिहाल्ने मुडमा भने छैनन्। उपन्यासलगत्तै अर्को संग्रह कथाको हुने उनको योजना छ।

नेपाली लेखकको कृति 'अरेस्टिङ गड इन काठमान्डु' को चर्चा नेपालमा हुने नै भयो। अमेरिकामा पाएको चर्चा सोचेभन्दा ठूलो थियो। सम्राट भने त्यसलाई भाउ दिन आनाकानी गर्छन्। 'मानिसहरू मेरो लेखनबारे के सोच्छन् भन्ने केवल बाह्य कुरा हो, मैले नेपालको प्रतिनिधित्व कत्तिको गरें, नेपाल मेरो लेखनमा कत्तिको आयो भन्नु पनि बाह्य कुरो हो,' लेखन–धर्मबारे उनी स्पष्ट छन्। भन्छन्, 'यस्ता चर्चा चल्नु बेठीक होइन। लेखक एउटा कलाकार पनि हो। उसका लागि यस्ता कुराको खास अर्थ छैन।'

कलाकारको दुनियाँ अर्कै हुन्छ। बाहिरी दुनियाँमा केन्द्रित हुन थाल्यो भने त्यसले साधनामा असर पार्न थाल्छ। यसले यसो भन्छ, यसले उसो भन्छ भनेर कहीँ पुगिँदैन। सम्राटका लागि कला कलाको लागि नै भनेजस्तो भने होइन। उनी प्रचार, पुस्तक समीक्षाको चासोभन्दा पर गएर बस्छन्। त्यता उनको दिमाग जाँदैन।

तीभन्दा पर सम्राटको छुटै संसार छ। 'अरूले मन पराउँछन् कि पराउँदैनन् भन्ने होइन, मैले आफ्नै बुझाइ र सामर्थ्यलाई चुनौती पेस गर्न सकेको छ कि छैन, त्यो महŒवपूर्ण कुरा हो,' उनी भन्छन्, 'बरु त्यसरी हेर्दा मैले राम्रै गरिरहेको छु जस्तो लाग्छ। प्रत्येक पुस्तकमा नयाँ प्रयोग गर्दै लगिरहेको हुन्छु। लेखकका लागि नयाँ कुरा लेख्नुको सधैं महŒव हुन्छ। उही कुरा दोहोर्‍याउनुको लेखनमा कुनै अर्थ हुँदैन।'

किहोटे कोभले आयोजना गरेको कथा प्रतियोगितामा निर्णायकका रूपमा यसपालि काठमाडौं आएका सम्राट जुनसुकै भाषामा लेखे पनि फरक नपर्ने, तर पाठकलाई झर्को लाग्न दिनु नहुनेमा स्पष्ट छन्। प्रतियोगी लेखकलाई उनको सल्लाह पनि यही छ। 'अंग्रेजीसँग विश्वभरि चर्चा दिलाउने ल्याकत छ,' उनी भन्छन्, 'तर लेखकले आफैंतिर फर्केर हेर्नुपर्छ, मेरो माध्यम भाषा के हो भनेर। विश्वभरि चर्चा पाउने रहर सबैलाई होला, तर त्यो जीवनको सबथोक होइन।'

सम्राट बिहानको समयमा लेख्छन्। परिवार सुतेको बेला चियाकफी पिउँदै दुई–तीन घन्टा लेख्ने मुड चल्छ उनको। अरु बेलाचाहिँ क्याफे र स्टार बक्समा गएर लेख्छन्। लेख्दा ल्यापटपको छेउछेउमा टिप्छन्, नोट बनाउँछन्। कहिलेकाहीँ निबन्ध र अखबारी लेख लेख्छन्। न्युयोर्क टाइम्स, हफिङ्टन पोस्टमा यदाकदा छापिन्छन्। लामो होस् या छोटो, लेखिसकेपछि पहिलो ड्राफ्ट पढ्न पत्नीलाई दिन्छन्। उनी सम्राटीय कलमको कहिले प्रशंसा गर्छिन्, कहिले आलोचना। उनलाई पनि पत्नीको प्रतिक्रिया कुनै ठिक लाग्छ, कुनै होइन जस्तो। कहिलेकाहीँ विवाद पनि पर्छ।

'रचना पढेर तत्काल प्रतिक्रिया दिने मान्छे आफूसँगै भयो भने गजब हुनेरै'छ,' सम्राट हाँस्दै सुनाउँछन्, 'मेरा विद्यार्थी भन्छन्, खै मेरो त पढिदिने कोही छैन।'

सम्राटमाथि आरोप छ– उनी आख्यानमा बढ्तै छाडा शब्द प्रयोग गर्छन्। उनी भने सकार्दैनन्। 'साहित्यले मानिसलाई केवल शुद्धतावादी बाटोमा मात्रै हिँड्न उपदेश दिनुको के अर्थ?' उनको प्रश्न छ, 'दिमागलाई चुनौती दिनुपर्‍यो। लेखनको काम नै नीतिनियमका ठेकेदारलाई लोप्पा खुवाइदिनु हो। नत्र साहित्य किन चाहिन्थ्यो!'

'ठूला' लेखकका कृति धेरै वर्षसम्म यस्तै भाषाशैलीका कारण प्रतिबन्धित भएको इतिहास बिर्सन नहुने सम्राट बताउँछन्, 'अंग्रेजीमा बोल्ने र लेख्ने भाषाबीच खास भिन्नता छैन। यहाँ भने साहित्यिक भाषा र मान्छेले बोल्ने भाषाबीच फरक पर्न गएको हो। साहित्य भनेपछि अलि काव्यिक भाषा हुनुपर्छ भन्ने मान्यता छ क्या।' पहिलो कृति छापिँदा यो त साहित्य हुँदै भएन भनी खिसी गर्नेहरू भेटिएको उनी सम्झन्छन्। भन्छन्, 'मखमली भाषामा लेखेपछि मात्रै साहित्य हुन्छ भन्नेलाई नेपाली साहित्यमा पनि चुनौती पेस भइरहेको छ।'

नेपाली लेखकमध्ये मञ्जुश्री थापाको प्रशंसक हुन् सम्राट। 'फर्गेट काठमान्डु' जस्ता नन्फिक्सनले उनलाई प्रभाव छाडेका छन्। पपुलर बान्कीका लेखकसँग उनको खासै विश्वास छैन। शोभा डे, चेतन भगत जस्ताको आफ्नै लेखन छ, आफ्नै पाठकसमूह। सम्राटको छनोट पृथक छ। उनका पाठकबीच स्टिफन किङजस्ता व्यावसायिक लेखक पनि एकैसाथ छाइरहेछन्। त्यस्ता लेखक विश्वविद्यालयमा कहिल्यै पढाइँदैनन्, विमर्श गराइँदैनन्। सम्राटलाई विश्वविद्यालय छिरिरहन मन छ, पुस्तक भएर। अमेरिकाको प्राज्ञिक जमात्मा बसेरै लेखक हुन सजिलो छ भन्ने उनलाई पछि थाहा भयो। प्राध्यापनको पैसाले खान लाउन पुगिहाल्थ्यो। लेखनले जीवन सहज बनाइदियो।

सम्राटले पढाउने विषय क्रिएटिभ राइटिङ हो। यो विषय नपढी पनि लेखक बन्न सकिन्छ भन्नेहरू भेटिन्छन्। सम्राट यस्तो तर्क नकार्छन्। 'लेखन पढेर सिकिने कुरो होइन भन्नेहरूलाई मेरो प्रश्न छ, के उनीहरू संगीतको बारेमा पनि त्यही कुरा भन्न सक्छन्? होइन, त्यो त अभ्यास गर्नुपर्छ भन्छन्,' उनको जिकिर छ, 'पियानिस्ट, भायलनिस्ट, डान्सरहरू धेरै घन्टा अभ्यास गर्छन् र उनीहरू राम्रो प्रदर्शन गर्छन्। लेखन पनि त्यस्तै हो।'

जिनियस हुँ भनेर मात्रै पुग्दैन। त्यसका लागि निरन्तर साधना चाहिन्छ। सम्राटको संघर्षमय लेखनयात्राले यसै भन्छ।

सम्राटले यति चर्चा बटुलिसके। अहिलेसम्म व्यवस्थित प्रचार भने छैन। अरूको करले भर्खरै वेबसाइट खोलेका उनीसँग अहिलेसम्म फेसबुक छैन। 'आ होस्, को यो झन्झटमा लागिरहोस्, फेसबुक समय खाने काम हो,' उनी भन्छन्, 'मान्छेहरूको रेस्पोन्स दिनुपर्‍यो। त्यही भएर ट्वीटरमा पनि छैन।'

जति चर्चा पाए पनि किताब लेखेर आर्थिक आवश्यकता थेग्न उता पनि गाह्रै छ। सम्राटका किताब विश्वविद्यालयमा पढाइ हुन्छन्। पठन सत्र चलिरहन्छन्। उनी आफ्नो उचाइसँग मख्ख छन्, आफ्ना उकालीहरुसँग सतर्क पनि। यो उनको इमानदारी हो।

दुईघन्टे बसाइमा मैले उनीसँग थुप्रै कुरा गरें। सबै कुरा यहाँ लेख्न सम्भव छैन। उनका कथा पढ्दा थाहा हुन्छ, नेपाली समाजलाई उनले अझै गहिराइमा बु‰न बाँकी छ। उपन्यासमा पनि त्यस्तै अनुभूति हुन्छ। सम्राटको मेहनतले उनको उचाइलाई बलियो इँटा हाल्नेछ। आशा गर्नु उचित हुन्छ। एक नेपालीले पश्चिमी पाठकसँग गरिरहेको संवाद गौरवको भागिदार छँदै छ।

झमक्क साँझ परिसकेको छ। मलाई अब उनीसँग छुट्नु छ। अंग्रेजीवाले नेपाली लेखकसँग देवनागरी लिपिमा अटोग्राफ माग्ने इच्छा छ।

अहो, उनले त बडो सुन्दर नेपाली अक्षरमा अटोग्राफ दिए। लेख्दालेख्दै अन्तिम वाक्यमा पुगेर अड्किए।

शर्माए, 'अलिअलि अड्किन्छ क्या कहिलेकाहीँ। यस्तो बेलाचाहिँ अंग्रेजी आउँछ।'

'तपाईंले के लेख्न खोज्नुभएको?'

'आई विस् योर सक्सेस्।'

'तिमीलाई सफलताको कामना।'

'हो यही भन्न खोजेको हो। बरु ह्रस्वदीर्घ मिलेन कि?'

'होइन एउटा पनि गल्ती भएको छैन।'

'पक्का हो?'

'सोह्रै आना।'

'हत्तेरिका! म पहिले निकै राम्रो नेपाली लेख्थें भन्या।'

ढिलो भइसकेको थियो। मैले हतारहतार पत्याएँ र बिदा मागें।



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/3803.html#sthash.yt102FJu.dpuf

समालोचनाको घाम

अमर न्यौपाने

दल र नेतासँग आजित जनता साहित्य पठनतिर लागेका छन्। गतिलो साहित्य लेख्न नसके आफूले आशा गरेका पार्टी र नेतासँग आजित भएझैँ जनता साहित्यकारसँग पनि आजित हुनेछन्। लेखकले पनि जनताको विश्वास गुमाउनेछन्।


चाहे राजनीति होस् या साहित्य, जनविश्वास चाहिन्छ। स्वान्त सुखायः का लागि मात्र साहित्य लेख्ने हो भने लेखे मात्र हुन्छ, छाप्न जरुरी छैन। छापेर पाठकसम्म पुर्‍याउने हो भने त्यहाँ आफ्ना कुण्ठा, सस्ता भावना, उडन्ते कुरा होइन आम मानिसलाई सम्बोधन गरिनुपर्छ। तिनका कथा व्यथा लेखिनुपर्छ। त्यो केही हदसम्म पूरा हुँदै आएको छ। यो सुखद कुरा हो।

त्यसैले अहिलेको यो साहित्यलेखन, प्रकाशन र पठनको स्वर्ण समयको प्रारम्भिक अवस्थालाई साहित्यकारले संयम, धैर्य र कुशलताका साथ पाठकहरुको मागलाई पूरा गर्नुपर्ने चुनौती छ। लेखकले यस समयमा पाठक विश्वास जित्न सकेनन् भने जनता फेरि निराश हुनेछन्। र साहित्यकारलाई पनि नेताझैँ अविश्वास गर्नेछन्।

अहिले साहित्य पढ्नु प्रतिष्ठाको विषय बन्दै गएको छ। पहिले पहिले लेखक, कवि बन्नु भनेको निरीह र समाजको हेपिएको पात्रजस्तो हुन्थ्यो। तर अहिले लेखक, कवि हुनु भनेको इज्जतको विषय बन्दै गएको छ।

सायद त्यसैले होला अहिले लेखक तथा पाठक दुवै उत्साहित छन्। यो उत्साहले साहित्यको भविष्य पनि उज्ज्वल देखिन्छ।

तर साहित्य सिर्जना गरेर मात्र पुग्दैन। बजार बिस्तार भएर मात्र पुग्दैन। लेखक तथा प्रकाशकको सङ्या बढेर मात्र पनि पुग्दैन। साहित्यलाई भित्रैदेख बलियो बनाउने हो भने यसलाई सैद्धान्तीकरण पनि गर्दै लैजानुपर्छ।

हो, साहित्य समालोचनाभन्दा अघिअघि हिँड्छ। तर हाम्रो समालोचना त साहित्यको पछि मात्र होइन धेरै पछि छ। साहित्यले यसो पछाडि फर्केर हेर्दा पनि नदेखिने गरी पछाडि छ। एकछिन कुरे पनि समालोचना परसमेत देखिँदैन। धेरै पछाडि छ। तर साहित्यले समालोचनालाई नजिक ल्याउन आफ्नो गति कम गर्नु हुँदैन। समालोचना आफैंले आफ्नो गति बढाउनुपर्छ।

पत्रपत्रिकामा पुस्तक समीक्षा ह्वात्तै बढेको छ। त्यो समालोचना होइन, पुस्तक समीक्षा मात्र हो। पुस्तकमा के छ, के छैनको सामान्य परिचय हो। विश्वविद्यालयमा पढाइ हुने पाठ्यपुस्तक, एमए तथा विद्यावारिधिमा गरिएका शोधपत्रलाई सामान्य फेरबदल गरेर मोटा समालोचनाका पुस्तक पनि ह्वात्तै बढेका छन्। तर ती नेपाली साहित्यलाई भन्दा धेरै पनि लेख्नेका बायोडाटामा तथा आफ्नो नामको अगाडि डा. लेख्ने काममा बढी प्रयोग भएका छन्। र विश्वविद्यालयमा ती समालोचकलाई बढुवा हुन काम लागेको छ।

नेपालमा साहित्यका डाक्टरको संख्या पनि ह्वात्तै बढेको छ। तर कस्तो अचम्म! तिनै साहित्यका डाक्टर भन्छन्— नेपालमा अहिलेसम्म कुनै सैद्धान्तिक समालोचना छैन।

त्यसो भए उनीहरू कसरी साहित्यका डाक्टर भए? साहित्यका डाक्टरले नेपाली समाज, संस्कृति र जनजीवन अनुसारको सैद्धान्तिक समालोचना यसरी नै प्रस्तुत गर्न सकेनन् भने पादरी शिक्षा पढेका डार्विन वैज्ञानिक, औषधि विज्ञानका डाक्टर फ्रायड मनोविज्ञानको प्रखर व्याख्याता भएजस्तै अब नेपालमा पनि साहित्यका डाक्टरलाई चुनौती दिन अन्य क्षेत्रका व्यक्ति प्रस्तुत हुने सम्भावना बढेको छ।

यहाँ एउटा पनि सैद्धान्तिक समालोचना नभएको आजसम्मको यो अवस्थामा हाम्रो माटोबाट जन्मिएका साहित्यिक कृतिको समालोचना कसरी हुन्छ हँ? यही माटोमा जन्मिएका यति धेरै साहित्यिक कृतिमाथि एमए तथा पिएचडीका शोध भएका छन्। के ती शोध पास गर्न, शैक्षिक प्रमाणपत्र लिन र आफ्नो नामको अगाडि डा. लेख्न मात्र भएका हुन्?

साहित्य मात्र होइन समालोचना पनि आविष्कार हो। तर यहाँ खाली मिस्त्री काम मात्र भइरहेछ। विश्वविद्यालयमा नेपाली साहित्य पढाइ हुन्छ। के नेपाली साहित्यलाई व्याख्या गर्न नेपाली सैद्धान्तिक समालोचना चाहिँदैन?

नेपाली साहित्यमा जे लेखिए पनि तिनलाई पश्चिमी समालोचनाका साँचोमा राखेर हेरिन्छ। त्यसैले नेपाली साहित्य—समालोचनाले अहिले आफ्नो साना खुट्टामा ठूला साइजका पश्चिमी जुत्ता लगाइरहेछ। आफ्नो शरीरमा नमिल्ने ठूलो ह्वाङ्लाङ्गे कोटपाइन्ट लगाएर मख्ख भइरहेछ। पाइन्ट त बेलाबेलामा धर्म छोडेर खसिरहन्छ। खसेको पाइन्टलाई हातले समाएर माथि तान्नै पर्‍यो। समात्न बिर्सिए फेरि खस्छ। यस्तो प्रक्रिया चलिरहन्छ। कसैकसैले मज्जाले पेटी कसिदिन्छन्। पाइन्ट त पेटिकोट लगाएको जस्तो पो देखिन्छ।

हाम्रो समाज विज्ञान र सांस्कृतिक मनोविज्ञानका आधारमा हाम्रो साहित्यको मौलिक व्याख्या र समालोचना जरुरी छ। त्यसका लागि हामीसँग साहित्यको आफ्नो मौलिक सिद्धान्तको आवश्यकता छ।

साहित्यको महत्वपूर्ण आधार भनेको कृतिले उभिएको ठाउँ हो। धरातल हो। अपवाद छोडेर नेपाली साहित्य नेपाली परिवेशमै उभिएको छ। आफ्नै धरातलमा उभिएको साहित्यको व्याख्या, विश्लेषण गर्न आफ्नै धरातलको समालोचना चाहिन्छ। तर हामीकहाँ त्यो छैन।

'मुनामदन'देखि 'सुम्निमा,' 'माधवी,' 'घामका पाइला' हुँदै 'लू'सम्मका कृतिको व्याख्याविश्लेषण गर्न पश्चिमी सिद्धान्तको प्रयोग गरिन्छ। त्यहाँका विषय, भाव, शैली प्रस्तुति केहीलाई पनि पश्चिमी समालोचनाका वस्त्र सुहाउँदैनन्। यस्ता कृति हाम्रोमा कयौँ छन्। तिनको न्यायोचित सैद्धान्तिक व्याख्या भएको छैन।

मानिसको सामाजिक तथा आर्थिक व्यवहार, यौन मनोविज्ञान संस्कृतिसँग जोडिएको हुन्छ।

एउटा अर्को सानो उदाहरण— जस्तो म आर्य संस्कृतिको मानिस। हाम्रो संस्कारमा मामाकी छोरीलाई आफ्नै बहिनी सरह मानिन्छ। तिहारमा टीका लगाएर ढोग्नुपर्छ। मेरो साथी गुरुङ हुन्। उनको आफ्नी मामाकी छोरीमाथि वैवाहिक हक नै लाग्छ। उनलाई मामाकी छोरी देख्ता यौनको भावना आउँछ भने मलाई भगिनी प्रेमको भावना आउँछ। बाहुन क्षेत्री आदि जातिमा भाउजूलाई आमासरह मानिन्छ तर हिमालतिर लामा तथा शेर्पा संस्कारमा पत्नी बनाउने चलन छ। थारु जातिमा दाजुको कुनै कारणवश देहान्त भए देवरले भाउजूलाई पत्नी बनाउँछ। भनेपछि कुनै जाति तथा संस्कृतिमा भाउजूलाई देख्ता मातृत्वको भाव आउँछ भने कुनैमा वासनात्मक भावना आउँछ। यस्तो किसिमको यौन मनोविज्ञानको व्याख्या के फ्रायड, एडलर या कार्ल गुस्ताब जुङको यौन मनोविज्ञानको सिद्धान्तले गर्न सक्छ?

यौनमनोविज्ञान भन्ने कुरा संस्कृति र संस्कारसँग जोडिएको हुन्छ। पश्चिमी यौन जीवन र पूर्वीय यौन मनोविज्ञान धेरै फरक छ। यहीँ नेपालमा पनि जाति र संस्कृति अनुसार यौनमनोविज्ञान फरकफरक हुने गर्छ। यस्तो किसिमको यौन मनोविज्ञानको व्याख्या गर्न हामीलाई आफ्नै मौलिक समालोचनाको आवश्यकता छ।

यस्ता अनेकौं संस्कार यहाँ छन्। ती केही हदसम्म कृतिमा आएका पनि छन्। यस्तो किसिमको यौनमनोविज्ञानको व्याख्या फ्रायड, एडलर या जुङ्गको सिद्धान्तले गर्ला त? तर हाम्रा समालोचक हाम्रो मौलिक सांस्कृतिक यौनमनोविज्ञानलाई ल यो कृतिमा यौन आयो भनेर हतारिँदै सबै कुरा फ्रायडवादको साँचोमा राखिदिहाल्छन्।

पहिले हाम्रोमा धेरै अनमेल विवाह हुने गर्थे। यससम्बन्धी केही उपकथा 'सेतो धरती'मा पनि छन्। आफ्नो बूढो लोग्नेप्रतिको असन्तुष्टि तरुनी स्वास्नीहरु वनमा दउराघाँस गर्न जाँदा यसरी पोख्थे— वल्लो छेउको कत्ले माछो पल्लो छेउमा धाउँछ, बूढो पोइको ओछ्यान लाउन जाँगर मरी आउँछ। यो किसिमको यौन मनोविज्ञानको व्याख्या गर्न फ्रायडको यौनमनोविज्ञान पर्याप्त हुन्छ जस्तो लाग्दैन।

नेपाली साहित्यमा केही आयाम र वाद नआएका होइनन् तर तिनले त्यति स्पेस लिन सकेका छैनन्। जस्तो तेस्रो आयाम आयो। तेस्रो आयामका तीन आयाम बस्तुता, चित्रात्मकता र सम्पूर्णतामध्ये जीवनको सम्पूर्णता लेख्न सकिदो रहेनछ भनेर इन्द्रबहादुर राई लीला लेखन भनेर लागे।

त्यसको धेरैपछि सृजनशील अराजकता, रङ्गवाद, भयवाद भनेर थुप्रै वाद आए तर यिनले आफूलाई पूर्ण प्रमाणित गर्न सकेका छैनन्। र तिनका आधार पनि प्रायः पश्चिमी नै देखिन्छन्। पाटपुर्जा विदेशबाट ल्याएर यहाँ फिटिङ गरेजस्तो। यिनलाई मौलिक बनाउने आधार खोज्न सकिन्छ। यो कर्म भने शुभ सङ्केत हो। यी वादले भोलिका दिनमा हुर्कन, बढ्न, फुल्न, फल्न पाए भने अवश्य पनि बीउ लाग्ने छन्।

इन्द्रबहादुर राईले लीलालेखनमा धेरै हदसम्म मौलिक व्याख्या गरेका छन्। जसलाई मलजल गर्ने काम कृष्ण धरावासी, रत्नमणि नेपालले गरे। रत्नमणि नेपालले आफ्नो कृति 'लीलाधारणा र कथाहरू' मा लीलावाद नाम दिएर नेपाली समाज, इतिहास, राजनीति र साहित्यको संक्षिप्त रुपमा भए पनि गतिलो व्याख्या गरेका छन्। यो र यस्तै नेपाली साहित्यमा देखिएका सैद्धान्तिक समालोचनाको सङ्केतले केही आशावादी बनाएको छ। आशा गरौँ अबको केही वर्षमै नेपालमा आफ्नैपनको सैद्धान्तिक समालोचनाको घाम उदाउनेछ र नेपाली साहित्यको व्याख्याविश्लेषण गरिनेछ।



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/2896.html#sthash.DggqiyDq.dpuf

फुकोका अनेक अनुहार


फुकोका अनेक अनुहार

सिपी अर्याल/सरोज जी.सी.


'व्यक्तिगत रूपमा अहिलेसम्म मैले कोही बौद्धिक मानिस भेटेको छैन। उपन्यास लेख्नेहरू, बिरामीको हेरचाह गर्नेहरू, अर्थशास्त्रीहरू भेटें। पढाउनेहरू भेटें, पेन्ट गर्ने मानिस भेटें र केही पनि काम नगर्ने मानिस भेटें। बौद्धिक व्यक्तिहरू कहिल्यै भेटिनँ।' विश्वविख्यात दार्शनिक मिसेल फुकोले कोही पनि मानिस बौद्धिक होइनन् भन्ने छनक दिँदै यस्तो भनिदिएपछि आफूलाई बौद्धिक भन्न रुचाउनेहरू उनीविरुद्ध जाइलागे। उनलाई दुर्व्यसनी, मनोरोगी, समलिंगी स्वपीडक र पागल भन्दै उनको खेदो खने।


पेरिसका विश्वविद्यालयमा फुकोका प्रवचन अरस्तु र नित्सेका ज्ञान सिद्धान्तभन्दा फरक थिए। उनका लेक्चर आवरमा भीड लाग्थ्यो। दिक्क भएर उनले आफ्नो लेक्चर सबेरै गराए, बिहानै विद्यार्थीहरू उठेर नआउलान् भनेर। तर भीड के रोकियोस्! लाठीचार्ज नै गर्नुपर्ने!
फुकोका विचारले संसारलाई अभूतपूर्व गुन लगाएका छन्। यिनै फुको मानविकी तथा समाजशास्त्रअन्तर्गत हुने अनुसन्धानहरूमा सबैभन्दा धेरै पढिन्छन्। रिफरेन्सिङमा पनि यिनैको नाम अग्रपंक्तिमा आउँछ।

उनको योगदान प्रमुख गरी शक्ति (पावर) को व्याख्यामा रिङेको छ। सामान्य जीवनमा शक्तिले कसरी काम गर्छ, त्यसले ज्ञान (नलेज) र संकथन (डिस्कोर्स) लाई कसरी प्रभाव पारिरहेको हुन्छ, त्यसले सत्य कसरी निर्माण गर्छ र सामाजिक नियन्त्रण कसरी स्थापित हुन्छ, भन्ने व्याख्या गरेका छन्। मार्क्सेली विचारले उत्पादनको स्वरूपमाथि पकड भएका शासक वर्गमाझ शक्ति निहित हुन्छ भन्यो। महिलावादीहरूले पुरुषले मात्र शक्तिको उपभोग गर्छन् भने।

शक्तिमाथिका परम्परागत विचार उल्ट्याउँदै फुकोले नयाँ विचार दिए। भने– 'शक्ति जहाँसुकै हुन्छ। यो दमनकारी नभएर सिर्जनशील हुन्छ। जो कोही व्यक्तिले निश्चित अवस्थामा शक्तिको प्रयोग गरिरहेको हुन्छ।'

फुकोका अनुसार शक्ति कुनै निश्चित तŒव वा व्यक्तिमा निहित हुँदैन, त्यो अनियमित सञ्जाल (डिस्कर्सिभ नेटवर्क) मा हुन्छ। यस्ता विचारले बौद्धिक जगत्मा एकखालको भुइँचालो नै ल्याइदियो। फुकोको यो विचार पागलपन, सामाजिक संकाय (सोसियल डिसिप्लिन), शारीरिक प्रतिमा, सत्य र यौनिकतामा लागु भए, जसले उत्तरआधुनिक पाण्डुचित्र कोर्न विशेष सहयोग पुर्‍याए। फुकोका यस्ता विचार हामीमाझ तात्तातो बहसको विषय बन्ने उत्तरआधुनिकताका केन्द्र हुन्।

हाम्रो राजनीतिक परिप्रेक्ष्यमा पनि फुकोले भनेझैं प्रत्येक नेताले आफ्नै किसिमको सत्य निर्माण गर्छन् र त्यसलाई शक्ति प्राप्त गर्ने सिँढी बनाउँछन्। त्यसमा उनीहरू सफल भए एउटा संकथन निर्माण हुन्छ र आम मानिसहरूमा त्यसैअनुसारको ज्ञानले ठाउँ ओगट्छ।

डाक्टर बाले छोरो फुको पनि आफूजस्तै बनोस् भन्ने चाहेका थिए। तर बाको इच्छा नकार्दै उनी पेरिसको चर्चित पाठशालामा इतिहास पढ्न थाले। पछि आमाले कडा कानुन भएको रोमन–क्याथोलिक विद्यालयमा भर्ना गरिदिइन्। त्यहाँ उनले रुचिकर समय बिताएनन्। मन नलागी–नलागी भए पनि इतिहास, दर्शन, संस्कृति र मानव सभ्यताका गह्रँुगा पुस्तकका पाना पल्टाउन थाले। संगत गुनाको फल भनेझैं गुरु लुइस अल्थुइसरको उठबसमा परेपछि फुकोको रुचि दर्शनशास्त्रमा बढ्न थाल्यो।

किताबी किरो भएर उनी पुस्तकालयमा घन्टौं बिताउन थाले। त्यहाँ दिनरात पढ्दै/चिन्तन–मनन गर्दै बस्थे, उता परिवार भने उनको खोजीमा धुइँपत्ताल गर्थ्यो। 'अर्डर अफ दि थिङ्स' र 'दि बर्थ अफ दि क्लिनिक' किताब लेखेपछि उनी संरचनावादतिर ढल्किए।

फुकोका अनौठा बानी थिए। एक्लै बस्न रुचाउने, कोहीसँग बोल्न मन नगर्ने, रिसाहा र हिंसा मन पराउने प्रवृत्तिका। कलेज छात्रावासको कोठामा हिंसात्मक दृश्य पोखिएका पोस्टर टाँस्थे।

फुकोले आफूलाई अपराधी भन्न पनि भ्याए, कारणचाहिँ प्रष्ट्याएनन्।

कुनै बेला आफ्ना सहपाठीलाई मार्न तरबार लिएर पनि दगुरे। एकपटक आत्महत्याको असफल प्रयास गरेपछि उनी मनोरोग अस्पतालमा भर्ना भए। डाक्टरहरूले त्यसको कारण बताए– समलैंगिकताबाट चरम उद्वेलित भएर उनले आत्महत्याको प्रयास गरेका हुन्। समलैंगिक हुनु फ्रान्सेली कानुनमा वैध भए पनि त्यो सामाजिक निषेध थियो।

फ्रान्समा समलैंगिकता निषेधित भएकोले उनी स्वीडेन गए। त्यहाँ गएर आफ्नो जीवनको महत्त्वपूर्ण खण्ड बाँचे। समलैंगिक सम्बन्धमा अनेकन मानिससँग बाँधिए, रक्सी खाएर ढुन्मुनिँदै हिँडे, ड्रग्सको व्यापक प्रयोग गरे। अझ जगुआर नामक रेसिङ कारमा हुइँकिदै अनेकन हत्कन्डा मच्चाए। आफ्ना औंलाहरूमा तीखा काँटीले घोचेर बगिरहेको रगत हेर्दै आत्मानन्द प्राप्त पनि गरे! त्यसबाहेक स्वीडेनमै त हो उनले बौद्धिकताको चरम सीमा छुन सकेका। स्वीडेनको उप्सालास्थित पुस्तकालयमा उनी घन्टौं पढेर बसिदिन्थे। त्यहाँ उनले चिकित्साशास्त्र इतिहासको विशेष अध्ययन गरे।

सन् १९६६ मा फुको ट्युनिसियामा गएर प्राध्यापन गर्न थाले, ट्युनिस विश्वविद्यालयमा। त्यहाँ उनले नित्से, डेकार्ट्स पढाए। त्यसबेलासम्म फुको एउटा सार्वजनिक व्यक्तित्व भइसकेका थिए। ट्युनिसियामा बस्दा त्यहाँको संस्कृतिबाट धेरै प्रभावित भए।

फुकोका धेरै तस्बिरहरू हेर्दा उनी मुडुलो टाउकोमा देखिन्छन्। उनी बस्ने ट्युनिसियाको गाउँमा प्रत्येक दिन दाह्री खौरिएजस्तै कपाल पनि खौरनुपर्थ्यो। त्यही संस्कार मान्दै फुको दैनिकजसो आफ्नो कपाल खौरन्थे। त्यहाँ बस्दा पनि फुकोले आफ्नो जिन्दगीको पूर्ण उपभोग गरे। उनी सार्वजनिक छवी बोकेका विद्वान कहलिए। त्यहीँ बस्दा उनको उग्रस्वभावले धेरैलाई चिढ्याएको थियो। कारणतः उनी केही युवाद्वारा नराम्ररी पिटिए। त्यस घटनाले उनलाई ट्युनिसियाबाट पेरिस फर्कायो।

पेरिस गएर उनी अझ चर्चित भए। त्यहाँका विश्वविद्यालयमा प्रवचन दिन थाले जुन अरस्तु र नित्सेले दिएका ज्ञानका सिद्धान्तभन्दा बिलकुल फरक थिए। उनका लेक्चर आवरमा यति भीडभाड हुन थाल्यो, त्यसले फुकोलाई दिक्दार बनायो। एक्लै आफूमात्र बोलिरहनुपर्ने। त्यस्तो भीडबाट प्रश्नहरूको माग पनि गर्न नसकिने। दिक्क भएर उनले आफ्नो लेक्चर सबेरै गराए, त्यति बिहानै विद्यार्थीहरू उठेर नआउलान् भनेर। तर भीड के रोकियोस्! लाठीचार्ज नै गर्नुपर्ने!

जीवनका पछिल्ला कालमा उनले दार्शनिकहरूले पत्रकारिता लेखन पनि गर्नुपर्छ भन्ने ठाने। त्यसैअनुसार उनका लेखहरू पत्रिकामा निरन्तर प्रकाशित भए, 'मिसेल फुको इन्भेस्टिगेट्स' नामक स्तम्भमा।

आफ्नो एउटा चर्चित पुस्तक 'आर्किएलजी अफ नलेज' मा फुकोले ग्रिक–रोमनकालको ज्ञानसम्बन्धी अवधारणालाई प्रश्न गरेका छन् जसले ज्ञानलाई गणितीय विज्ञानका रूपमा मात्र व्याख्या गर्छ। इतिहास केवल घटनाहरूको क्रमिकता हो भन्ने धारणालाई फुकोले उल्ट्याए र भने, सिलसिला नमिलेको कालखण्ड नै इतिहास हो। यसमा पनि खाडल र अभाव हुन्छ। यो अनियमित आकस्मिकता पनि हो।

फुकोले भाषालाई गौण ठाने। मानिसको स्वरूपमा जोड दिए। प्राचीन ग्रिक ज्ञानले मानिसबारे दिएको परिभाषालाई आफ्नै ढंगमा व्याख्या गर्दै भने, मानिस आफैंमा सैद्धान्तिक अवधारणा होइन। आफ्नो सांसारिक अवस्थालाई पूर्णरूपमा भोग गर्दै आफू भएर बाँच्नु नै मानिस हुनु हो भने। प्राचीन ज्ञान र अस्तित्ववादी विश्लेषक हाइडेगर, सार्त्र, डेकार्ट्स र नित्सेले दिएका विचारहरूबाट अलग्गिएर उनले नलेज (ज्ञान), ल्यांग्वेज (भाषा) र म्यान (मानव) सम्बन्धी आफ्नै धारणा विकास गरे। नित्सेले 'डेथ अफ गड' को घोषणा गरेजस्तै फुकोले 'डेथ अफ म्यान' भने। त्यो भन्नाले ग्रिको रोमन समाजले मानवबारे गरेको परम्परागत व्याख्याको अन्त्य भयो भन्नु थियो।

यौनिकताबारे फुकोका विचारले विद्वानहरूलाई चकित बनाएको छ। ग्रिकहरूले यौनलाई आवश्यक तत्त्व माने जुन लुकिछिपी हुनुपर्थ्यो। स्वर्गानुभूति प्राप्त गरी जीवनलाई भोग गर्ने एउटा माध्यम माने। यस विचारलाई फुकोले 'एस्थेटिक्स अफ दि सेल्फ' नामकरण गरे।

उनी कुनै याममा कम्युनिस्ट भए, फ्रेन्च कम्युनिष्ट पार्टीको सदस्य भएर। तर त्यसको कट्टर कार्यकर्ता भएनन्। कुनै याममा कम्युनिस्टका निन्दक पनि भए, 'यहुदी र समलिंगीलाई विभेद गरियो' भन्दै। आफ्नो समलैंगिकतालाई फुको संलग्न पार्टीले स्वीकार्न सकेन, सो पार्टीले यहुदीहरूको पनि घोर विरोध गर्थ्यो। त्यो उनलाई चित्त बुझेन। पार्टी राजनीतिलाई बिदावारी गरेपछि फुकोको जिन्दगी अझ फराकिलो भयो। त्यसपछि उनी साइकियाट्री र साइकोलोजीको अनुसन्धान र अध्यापनमा लागे।

पागलपनबारे फुकोका गहकिला अनुसन्धानहरू आए। आफ्नो विद्यावारिधि पनि पागलपनको अध्ययनबारे नै गरे जहाँ उनले पागलपनको अवधारणा तीन चरणबाट गुजि्रएको बताए– रिनेसा एज (पुनर्जागरण काल), क्लासिकल एज (प्राचीन काल) र मोडर्न एज (आधुनिक काल)।

फुको यस्तो समयमा जन्मिए जुनबेला ज्ञानलाई नै मनुष्य अस्तित्वको प्रमुख तŒव ठानिन्थ्यो। अज्ञानीहरूको अस्तित्व मनन गरिँदैनथ्यो। त्यो युग प्रतिस्पर्धात्मक थियो। धेरैभन्दा धेरै कुराको ज्ञान हुनु नै त्यसबेला महŒवपूर्ण मानिन्थ्यो। फुको पनि युगअनुसारकै थिए। चार वर्षमै विद्यालय जान थालेका उनी हुर्कंदै गए। एकलकाँटे स्वभाव उतिबेलैदेखि उनमा टाँसियो। उनको तीक्ष्ण बुद्धिलाई कसले भेट्न सक्नु!

बालक फुकोलाई उनका डाक्टर बाले एकपटक अस्पताल लगे। त्यहाँ एक बिरामीको खुट्टा चिरिँदै थियो। उनको मस्तिष्क बलियो होस् र डराउने खालको मन नहोस् भनेर फुकोलाई त्यो दृश्य हेर्न लगाइयो। यसैगरी एउटा घरमा दशकौंदेखि एक महिला थुनिएकी थिइन्। उनी बारम्बार चिच्याउँथिन्– पीडा र क्रोधले। ती महिलाको चित्कार सुनेर फुकोले आनन्द लिए। त्यसैले उनी त्यो घरको बाटो बारम्बार हिँड्ने गर्थे। यस्ता घटनाको प्रभाव फुकोलाई जीवनभर परिरह्यो। त्यो प्रभाव उनका लेखनीहरूमा स्पष्ट देख्न सकिन्छ।

आफूलाई लागेका उत्तरसंरचनावादी र उत्तरआधुनिकतावादीको बिल्ला हटाउन उनले चाहेका थिए। तर अझै पनि मानिसहरूले टेरेका छैनन्। उनले आफूलाई आधुनिकतावादी सिद्धान्तका समालोचकमात्र भन्न रुचाए। जति काम गरे त्योभन्दा थोरै श्रेय लिन खोजे। हामीकहाँ हुने बौद्धिक संस्कारको ठ्याक्कै उल्टो! इतिहासविद्, उत्तरसंरचनावादी, उत्तरआधुनिकतावादी हुँदै अन्त्यमा उनले आफूलाई आधुनिकतावादीमा मात्र सीमित राख्न चाहे। यसको कारण आधुनिकतावाद नै त्यसपछिका दर्शनका मूल हुन् भन्ने लागेर हुन सक्छ।

फुकोको आत्मकथा लेखक डिडियर एरिबनले उनलाई 'जटिल र बहुरूपी पात्र' भनेका छन्। हुन पनि फुको उस्तै थिए। कुनै पनि विषयको अथाह ज्ञान उनीमा थियो अनि स्वभावचाहिँ उग्र। उमेर बित्दै जाँदा उनको व्यक्तित्वमा पनि व्यापक उतारचढाव आए। युवा अवस्थामा 'स्वपीडक' फुको जीवनको मध्यकालतिर त्यसभन्दा भिन्दै भए, प्रफुल्ल खालका। उनले भनेका पनि छन्, मानिसको चरित्र सधैं एकै किसिमको हुँदैन, परिवर्तनशील हुन्छ। अरूसँग छलफल गर्दा व्यक्तिको चरित्र छताछुल्ल हुन्छ। फेरि जीवनको उत्तरार्द्धमा उनलाई व्यक्तिगत र बौद्धिकताको संकट पर्‍यो। गतिलो बौद्धिक खुराक विश्वलाई दिइसकेका थिए, तर आफू भने पूरै सन्तुष्ट थिएनन्, त्यसपछि के? भन्नेमा पनि उनलाई द्विविधा रह्यो।

फुकोले त्यहीबीचमा गम्भीर खालको कार दुर्घटना भोग्नुपर्‍यो। कार दुर्घटनाले फुकोलाई दुःखी होइन खुसी पो तुल्यायो! सो दुर्घटनाले उनलाई मृत्युको भयबाट दूर राखिदियो जुन उनको जीवनको सबैभन्दा 'सुन्दर स्मृति' रहन गयो। यसप्रकार फरक–फरक किसिमका जिन्दगी एकैपटक जिउन सक्ने अद्भूत क्षमता फुकोमा थियो; मानिस र परिस्थितिअनुसार उनले व्यवहार गर्न सक्थे। उनी बहुरूपी विद्वान थिए।

सन् १९२६ मा फ्रान्समा जन्मिएर ५८ वर्ष बाँचेका फुकोको एड्स रोगको कारण मृत्यु भएको मानिन्छ। यद्यपि, उनको मृत्युको कारण एड्स रोग हो/होइन भन्नेबारे फरक–फरक मत पाइन्छन्।

दर्शन र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका फुकोका त्यसैखालका सिद्धान्त र विचारहरू वास्तवमै जटिल र बुझ्न नसकिने खालका छन्। केही विचार वर्णनात्मक छन्, वस्तुहरूको ऐतिहासिकता मात्र उल्लेख गर्ने। फुकोले के भन्न खोजेका थिए, ठ्याक्कै बुझ्नु पर्ने के हो, त्यो फेला पार्नै गाह्रो हुन्छ। फुकोप्रेमी धेरैलाई यस्तै लाग्न सक्छ। अभि सुवेदीको विचारमा, 'फुकोजस्ता बुझ्न जटिल दार्शनिकहरूको कुरालाई सजिलो ढंगमा बुझाउने यत्न नेपालका विद्वानहरूले गर्नुपर्छ।'

हाम्रा विश्वविद्यालयका भित्तामा फुकोका सिद्धान्त गुन्जायमान हुन्छन् तर तिनलाई बुझ्न विद्यार्थीहरूलाई खुब कठिन हुन्छ। फुको दर्शनको नेपाली राजनीतिक, सांस्कृतिक तथा सामाजिक परिप्रेक्ष्यमा मिल्ने गरी व्याख्या हुन सके उनको योगदान नेपाली परिवेशमा पनि सही सावित हुन सक्थ्यो।



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/1542.html#sthash.zUBK9QRQ.dpuf

संकटमा पद्य



नवराज लम्साल


'शब्द थुपारीकन के हुन्छ? भाव भए पो कविता हुन्छ।' कविताका सन्दर्भमा सधैं प्रयोग हुने यो कवितात्मक वाक्य। कविता के हो– भाव हो कि शिल्प? विचार हो कि कला? या सबै हो? नेपाली सन्दर्भमा पनि यो प्रश्न सधैं उठ्ने गर्छ। वर्ण–मात्रा गनेर, निश्चित गति, यति र लय पछ्याएर लेखिने शैली पद्य र यस्ता सीमाबाट मुक्त भएर लेख्ने गद्य शैली कुन ठीक–बेठीक भन्ने हिजैदेखिको बहस आज पनि जारी छ। छन्दमा कसैले लेख्यो भने त्यो छन्दे कवि कसैले गद्यमा लेख्यो भने त्यो काव्य सौन्दर्य नबुझेको नारावादी, यी बेतुकका तर्कले विभक्त गरेको छ नेपाली कवि समाजलाई तर गद्यको गमकका सामु निरीह बन्दै गएको मानिँदैछ छन्द लेखनलाई।


केहीले छन्दलाई गायत्री सम्झे र कविता लेख्नभन्दा छन्द–छन्द भन्नमै समय खेर फाले। तिनलाई न समय–स्वरको वास्ता भयो, न समाज र परिवर्तनको हेक्का। लेखेर हुने हो कविता, कविताले बनाउने हो कवि। छन्दमात्रै राम्रो भन्नेले छन्दमा लेख्नुपर्छ र तान्नुपर्छ पाठकीय चेतना। 'बरु मासलाई मस भन छन्द नबिगार' भन्ने झुसे अर्तीले कुनै अभियान पूरा हुँदैन।
नेपाली कविताको प्रारम्भ र छन्द

नेपाली कविताको प्रारम्भ छन्दबाटै भएको पाइन्छ। धार्मिक ग्रन्थ र संस्कृत भाषाको प्रभाव र लयप्रधान काव्य प्रवाह प्रतिको जनताको श्रुतिमोहको जमाना। प्रारम्भमा कि कविता संस्कृतमा लेखिए, कि अनुवाद भए संस्कृतबाट नेपाली भाषामा। ज्ञानगुनका कुरा, भजन, सिलोक तथा कृष्णचरित्र र रामायण वाचनको प्रचलन। अपठित आमाहरूले समेत जाँतो पिँध्दै र ढिकी कुट्दै गर्दा सुललित स्वरमा गरेको श्रुतिमधु गायन। यी प्रभाव र प्रेरणाले मौलिक लेखनलाई पनि प्रभाव पार्यो्। नेपाली साहित्यको प्राथमिक कालदेखि माध्यमिक काल र आधुनिक कालसम्मका साहित्यिक महारथिहरूले समेत छन्दकै बाटो अपनाए। भानुभक्त आचार्यको रामायण जनजनको वाचनको मानक बन्यो। रामायण लेखिनुअघि नै यदुनाथ पोखरेलले लेखे–

गोरा त शूरा दुइएक हुन्छन्

गोर्खामहाँ काँतर आज कुन् छन्?

गारन् डराई पनि चिट्ठि लेख्यो

नेपालका वीर सिपाही देख्यो।

भानुभक्त आफैंले लेखे–

'कि ता सक्तिनँ भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि

भोली भोली हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली।'

यी हरफहरू नेपाली कविताका प्रारम्भिक कालकै हुन्। माध्यमिककालीन स्रष्टा मोतीराम भट्टदेखि शम्भुप्रसाद ढुंगेललगायत स्रष्टाहरू छन्दमै चुर्लुम्म डुबे। त्यतिखेर लामो भाकामा सिलोक चल्थ्यो, गजल हुन्थ्यो, भजन गुन्जन्थ्यो र खाँडो जगाइन्थ्यो। लय चेतनामा सामाजिकता र व्यंग्यविनोद, शृंगार र सौन्दर्य, वीरता र प्रकृतिप्रेम सबै थिए। अखण्ड नेपाल सुगौली सन्धिमा बाँधिएपछि ढुंगेलले लेखे–

'अनाथ कविवर्गको भयि सनाथ बस्तामहाँ

सदा अतुल देशको मधुर गान सुन्थ्यौँ यहाँ

हरे! सकल त्यो कुरा नसहँदा संगैमा गयो

अखण्ड यस नाउँको फगत आज बाँकी रह्यो।'

माध्यमिक काल र आधुनिक कालका सन्धि लेखनाथ पौडेल, बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता हस्तीहरू पनि जमे छन्दमै। लेखनाथको सम्पूर्णता छन्दमै हो। समले नाटकहरूमा समेत अतुकान्त शैलीमा अनुष्टुप छन्दको प्रयोग गरे र उनको बेजोड प्रवाह गद्यमा पनि त्यत्तिकै रह्यो। देवकोटा त ती भगीरथ गंगा हुन् जहाँ बगे पनि उत्तिकै बेजोड। 'शाकुन्तल' महाकाव्यको छन्दओज र 'प्रमिथस' महाकाव्यको गद्यचुली उनको सामर्थ्य हो। छन्द कविताका अर्का कलात्मक उचाइ राष्ट्रकवि माधव घिमिरे हुन्। उनले लेखे–

'तिम्रो नीति यही छलेर पिठमा हिर्काउने दाउ छ

धर्तीमा असहायलाई उभिने सानो कहाँ ठाउँ छ?'

गद्यमा लेखेर गोपालप्रसाद रिमाल, भूपि शेरचन, मोहन कोइराला, वैरागी काइँलाहरू पनि त्यत्तिकै बेजोड छन् तर पनि बहस जारी छ– गद्य कि पद्य? यो बहसमा तिक्तता पनि छ, पन्यालो कुरा पनि छ, एक अर्कालाई खुइल्याउने कुरा पनि छ। सिद्धिचरण श्रेष्ठले लेखेका छन्द कविताको छङछङमा पाइने मिठास नबु‰नेहरूका लागि यो कुन्नि कसले च्याउ खाओस् न स्वाद पाओस् भनेजस्तो छ। उनले लेखे–

'छप्काई शत्रुलाई छपछप खुकुरी धार हाम्रो कुँडिन्न

गर्दी घम्सान पर्दा पछितिर मुहुडा हेर हाम्रो मुडिन्न।'

के माथिका कविताहरूलाई कविता हुन छन्दले छेक्यो र? कसैले शब्दको ह्रस्व दीर्घ जान्दैन, बग्न सक्तैन छन्दमा र ऊ काव्यिक अनुशासनको सीमालाई बन्धन भन्छ त, त्यसमा के दोष छन्दको? त्यो उसैको अज्ञानता हो।

ढोंगीहरूको रुवाइ र छन्द कविताको स्खलन

काव्य समाज बाँडियो दुई धारमा र शत्रुताजस्तो भो गद्य–पद्यबीच। कतै छाप्नु पर्यो भने एक दुइटा छन्दको पनि राखिदिऊँ न त भन्ने दयाभाव जागृत हुन थाल्यो। हुँदा–हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सवमा समेत तेस्रो स्थानमा एउटा छन्द कविता आरक्षित हुन थाल्यो। प्रतिष्ठानमा प्रथम हुने ताकत राख्ने र छन्दमा दमदार कविता लेखनेहरूका मनमा पनि प्रथमै हुन त गद्य नै लेख्नुपर्छ भन्ने भान हुन थाल्यो र छन्दमा लेख्ने धेरै कविहरूले गद्य कविता लेखेर प्रथम पड्काए। तर केहीले चाहिँ छन्दलाई गायत्री सम्झे र कविता लेख्नभन्दा पनि छन्द छन्द भन्नमै समय खेर फाले। तिनलाई न समय–स्वरको वास्ता भयो, न समाज र परिवर्तनको हेक्का। समाजले तिनैलाई कवि भने तथाकथितहरूले तिनैको गुणगान गाए। पछाडि फर्केर थु भने पनि अगाडि वाहवाही गर्दिए। शब्द थुपार्नु, जेनतेन गण र अनुप्रास मिलाउनु र भाका हालेर चिच्याउनुमै कविता देख्न थाले र स्खलित भए काव्यिक सामर्थ्यबाट। छन्दलाई देखिनसहनेहरूले तिनैलाई छन्दको बेजोड मान्छे भनेर उपहास गरे र गद्यलाई गाली गर्न तिनैलाई उक्साए। मूलतः गण मिलाउनु र शब्दको खुट्टा काटेर भाका तान्नुको अचानोमा रेटिन थाल्यो छन्द कविता।

छन्द अभियान, तालिम र प्रचार

तर पन्ध्र वर्ष अघिदेखि छन्द बचाउ अभियान, छन्द प्रशिक्षण र यसको प्रचार–प्रसारमा पनि केही स्रष्टा लागि परे। पोखरेली स्रष्टाहरू पोखराबाट लागे, राजधानीमा भएकाहरू पनि आ–आफ्नै तरिकाले लागे र भने– छन्द भनेको मौलिकता हो, यसलाई बचाउनुपर्छ। काठमाडांैमा पुरानो पिँढीको एक डफ्फा 'कोक' नामको कोठे कवि गोष्ठी गर्न थाल्यो। १५ वर्षमा उनीहरू न २० बाट एक्काइस भएका छन्, न त देखाउन लायक र वाह भन्ने संग्रह निकालेका छन्। छन्द बचाऊ अभियानमा लाग्ने साथीहरूले लेखेको काव्यबाट सूक्तिमय कुनै हरफ टिप्नुपर्योल भने धेरै पाना पल्टाउनुपर्छ। तालिम पनि चले छन्दका तर समय एकातिर छ, काव्यले खोजेको विषयबिम्ब अर्कैतिर छ र कविको ध्यान अन्ततिर। राजनीतिक पार्टीको संगठन गरेजस्तो होइन काव्य लेखन। धेरै जना भेला भएर केही गरौं भन्दा सामूहिकता आउला तर फेरि पनि लेखिनुपर्ने त कविता नै हो। रामको वर्णन गरेर रामायण चर्चित भयो, तर आज लेखिएको भए रामायण न त रामायण हुन्थ्यो, न त भानुभक्त त्यो उचाइमा हुन्थे। आज अर्कै छ काव्यको स्पन्दन। लेखेर हुने हो कविता, कविताले बनाउने हो कवि। छन्दमात्रै राम्रो भन्नेले छन्दमा लेख्नुपर्छ र तान्नुपर्छ पाठकीय चेतना। 'बरु मासलाई मस भन छन्द नबिगार' भन्ने झुसे अर्तीले कुनै अभियान पूरा हुँदैन। छन्दले कवि खेलाउने सोच छ धेरैमा तर हैन असल कविले छन्द खेलाउने हो। छन्दका नाममा गति, यति र लय खेलाएर लेघ्रो पसार्ने प्रचलनबाट शिथिल छ छन्द कविता।

गजल मोह, बहर र गायन

६० को दशक गजलको चर्चाले पिटेको दशक हो। यसको उत्तरार्धतिर आइपुग्दा बहर लेख्नेहरूको संख्या निकै बढेको छ। बहरको संचना–स्वरूपसंग पूर्वीय छन्द शास्त्रको केही सूत्र नजिक हुनुले पनि छन्दतिर तानेको छ धेरैलाई। गजलसँग गायनको सम्बन्ध र छन्दसँग पनि गलाको कला! एकातिर संरचनामा निकटता र अर्कोतिर गायनको प्रभावका कारण बहर सिक्ने र लेख्नेहरूले पनि छन्दमा लेख्न र छन्दको प्रसार गर्न सहयोग गरेका छन्। कतिपयबाट ‰याउरेमा रदिफ र काफिया भरेरमात्र गजलकार भइन्न भन्ने चर्को नारा समेत लाग्नुले गजल लेख्न बहर सिक्नुको बाध्यता र त्यसले बढाउने छन्दमोह! छन्दवादीहरूलाई यो सुखद पक्ष हो। गजल भनेपछि कतिको यही नै ईश्वर हो भन्ने भ्रम र कतिको आफू त कविता लेखिन्छ भन्ने भुत्ते अहंकार। सिर्जना र संयमसँग समय कुँद्ने, आफू पनि तात्ने र तन्नेरी तताउने अभियानमा कसैलाई फुर्सदै छैन, अनि कहाँ लेखिन्छ समयको कविता र बढ्छ काव्यिक ओज समाजमा?

कोठे समालोचना र भाटगिरी

आज विश्वविद्यालयमा प्राडा भएका र समालोचनाको कर्ममा पनि लिप्त कतिपय आदरणीय शिक्षकहरूलाई थानकोटबाहिर पनि संसार छ भन्ने थाहा छैन। उहाँहरू नयाँ पुस्तालाई चिन्नुहुन्न र चिन्ने आवश्यकता पनि ठान्नुहुन्न। तीस–चालीस वर्षदेखिको थोत्रो नोटकपीमा टिपिएका टिपोट छापेर समालोचनाको भारी बोकाइदिनुहुन्छ। दुई–चार ठालु र ठेकेदारहरूको प्रशंसा गरेर पाण्डित्याइँ भर्नुहुन्छ। तन्नेरी पुस्ताले हप्तैपिच्छे गर्ने कार्यक्रमहरू, दिनहुँ आएका नयाँ स्रष्टा र तिनका पुस्तकबारे धेरै कमलाई थाहा छ। थाहा भएपछि पनि त्यहाँ वाद र विचारको कुरा आउँछ। अनुहार र भूगोलको कुरा आउँछ। पक्ष र विपक्षको कुरो आउँछ। पद, प्रतिष्ठा, पैसा र पहुँचको कुरा आउँछ। प्रज्ञा प्रतिष्ठान पस्ने कुरा आउँछ र मिडियामा छाउने रहर बढ्छ। प्रज्ञा प्रतिष्ठानका पाका प्राज्ञ र पुराना प्राध्यापकले नाति उमेरको एउटा रिपोर्टरलाई दश औंला जोडेको धेरै ठाउँमा देखेको छु। त्यो आत्मविश्वासको कमी र आफैंप्रतिको अविश्वास हो। अधिकांश समालोचकलाई पनि गद्य र पद्य विभाजनको भूत सल्केको छ। कतिपय बडे समालोचकहरू आफूलाई क्रान्तिकारी देखाउन यो युग छन्दको होइन भनेर लेखिदिन्छन् र त्यही सन्देश प्रवाह हुन्छ र पैल्यै टाढा हुन्छन् पाठकहरू।

फुको खुसी र उधारो शान

बढ्दो सञ्चार माध्यम र छन्द कवितामात्रै प्रसार गर्ने गरी सञ्चालित रेडियो कार्यक्रमहरू। बहर लेख्नेहरूले गाइदिने छन्दको गुणगान बढ्दो छ, तर ठाउँ जति पाए पनि प्रचार जति गरे पनि मूलतः कवितै राम्रो लेखिनुपर्छ। त्यसो नहुँदासम्मको यो हल्ला फुको खुसी र उधारो शान मात्र हो। आज पनि कतै उदाहरण पेस गर्नुपर्दा उनै पाकाको पंक्ति खोज्नुपर्छ। आफ्नो सुगन्ध आफैंले थाहा नपाउने कस्तुरी शैलीमा छन् छन्दका कविहरू। तिनलाई भन्नु छ, विद्रोहमा पनि छन्द यसरी बग्छ– कवि युद्धप्रसाद मिश्र–

'खोक्रा पेट अनाज भेट नहुने भोका र नाङ्गा उठ

कोदाला उठ बन्चरा र हँसिया नाम्ला र डोका उठ

साहुका करकापका कठिनता भोग्नेहरु हो उठ

ताकेका जिमिदारले युवतीका लोग्नेहरु हो उठ।'

किन लेखिन्नन् आज त्यस्ता हरफहरू वा लेखिएर पनि गुमनाम छन् त? कसले खोज्ने हो उत्तर? छन्द लेखन कमजोर हुनुमा छन्दवादी भनिनेहरूको दोष अझ बढी छ। उनीहरू अक्षर गन्दै जसै तसै मसै, अनि तनि रनि जोडेर कविता भयो भन्छन्। समाजसँग घुलमिल हुँदैनन् र समाजको संवेदना टिप्दैनन्। वस्तु, व्यक्ति र सन्दर्भको एकसरो वर्णनमा मात्र रमाउँछन्। वर्णन र विवरणको भारीले थिचिएपछि कविता कसरी कविता हुन्छ? दुई–चारले गरिदिने प्रशंसा र दुई सय स्रोता भएको रेडियोमा ठाउँ भर्न लिइदिने दुई घन्टा लामो अन्तर्वार्ताले फुर्किनेहरूले कति बुझेछन् धरातल? कठै भन्नुबाहेक अरू केही छैन तर ती कठैहरू कोट लगाएर छन्द बचाउने भाषण दिइरहेका हुन्छन्। त्यो हुल छिचोल्ने ताकत लिएर नयाँ पुस्ताले कविता–विद्रोह गर्नु जरुरी छ। राम्रा कविता सबै हल्ला र भ्रम चिर्ने एकमात्र सुकुमार अस्त्र हो। कविहरू हो एकपटक आ–आफ्ना कविता आफैंले पढौं र सोधौं आफ्नै मनलाई– हामी कविता लेखिरहेछौं कि कवि हुने रहरमा अक्षर गनेर घुँडा खियाइरहेछौं?

अन्त्यमा, महाकवि देवकोटाका पंक्तिहरू सम्झन्छु–

'माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन

दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण।'



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/2106.html#sthash.ZCOSCjoo.dpuf