Tuesday, June 30, 2015

मेरो चाहनाका अग्ला पर्खाल



विजय कुमार


मेरो जीवनमा 'परिचित'हरू आए, मित्र आएनन्! यस अर्थमा जीवनको धेरै भाग मैले एक्लै बिताएँ। मानिसहरूका बीच घेरिएर पनि म एक्लै, धेरैले मसित समय बिताउन चाहेर पनि म एक्लै!





पत्रकारिताको माध्यमबाट व्यापक समाजसित जोडिएको भए पनि व्यक्तिगत जीवनमा, आंैलामा गन्न सकिनेसँग बाहेक संगत गरिनँ। जोसँग धेरथोर उठबस भयो, तीसित पनि मनका कुरा साटासाट गरिनँ।
आशा भन्थी– 'हरेक मानिसको मस्तिष्क जटिल हुन्छ तर तिम्रो त मोडर्न आर्ट पेन्टिङजस्तो छ। बु‰नै मुस्किल।'
हो आशा! म हरेक कुरालाई 'व्यावहारिक सत्य' को कोणले मात्र हेर्न सक्दिनँ। मेरा निम्ति अंग्रेजी भाषाको 'एक्वेन्टेन्स र फ्रेन्ड' शब्दबीच ठूलो अन्तर छ।
'परिचित' लाई मित्रको दर्जा दिन म सक्दिनँ। सम्बन्धमा जबसम्म पूर्ण नग्न, आवरणहीन भएर मन साटासाट गर्न सकिन्न, दुःखसुखमा दिलोज्यानले मद्दत गर्न सकिन्न, एक–अर्काको निम्ति सच्चा मनले प्रार्थना गर्न सकिन्न, तबसम्म त्यस्तो सम्बन्धलाई मित्रता ठान्नु हुँदैन भन्ने मान्यता थियो मेरो।
मित्रताको अर्थ मेरा निम्ति अरू कोही नपाएर 'टाइम पास पार्टनर' को खोजी थिएन। टाइम पास खेलौनाका रूपमा कसैलाई मित्र बनाउने दरकार मलाई कहिल्यै महसुस भएन। जुन पेसामा छु, चाहेका मानिसको संगत गर्न खासै मेहनत गर्नु पर्दैन।
केही यस्ता मानिससित फुटपाथमा राम्रै परिचय बन्यो, जो कालान्तरमा सिंहदरबारका मालिक बने। उनीहरू सिंहदरबारका मालिक बने भन्दैमा मैले तिनलाई मित्रको सूचीमा दर्ता गरिनँ।
मेरो निम्ति मित्रताको मापदण्ड कठोर 'जिरो सम गेम' थियो, 'शून्य या सय'। हस्तिनापुरको रजाइँ या चपरीमुनिको बास।
मित्रताका विषयमा मेरो मापदण्डको पर्खाल यति अग्लो थियो, त्यसलाई पार गर्न कसैका निम्ति सहज थिएन। फेरि, म आफैं पनि कसैका निम्ति 'फाइदाजनक' मानिस पनि होइन। चिनजानको भरमा अकारण कसैको प्रशंसा वा निन्दा मिडियामा सजिलै गर्न नसक्ने। परिचय छ भन्दैमा कसैलाई सजिलै मिडियामा नल्याइदिने, समाचार शाखामा सिफारिस नगर्ने।

'तिमी मेरो ढाड कन्याऊ, म तिम्रो कन्याउँछु' भन्ने उपयोगितावादको युगमा म खासै उपयोगी मानिस होइन।
त्यसैले पनि मेरो जीवनमा परिचितहरू आए, मित्र आएनन्। हुन त, बेलाबखत मलाई लाग्थ्यो– यो मानिस मेरो मित्र हुन सक्छ। तर फेरि मेरो अपेक्षाको अग्लो पर्खालविपरीत उसले केही यस्तो तुच्छ कृत्य गर्थ्यो, उसमा मित्र देख्ने मेरा सारा सपना भताभुंग हुन्थे। मेरा नजरमा ऊ तत्काल सयबाट शून्यमा झर्थ्यो।

'शून्य या सय'को अतिवादी मानसिकता व्यावहारिक होइन। किनभने शून्य या सयका बीचमा त्यतिका अंकहरू विद्यमान छन्। यथार्थ के भने, हस्तिनापुरको महल र चपरीमुनिको झुपडीबीच नै संसारका अधिकांश निवास रहेका छन्। संसार सेतो वा कालो दुई रङमा मात्र विभाजित हुँदैन। बीचमा धेरै छ्यासमिस रङ पनि छन् भन्ने थाहा हुँदाहुँदै मैले जीवनमा हमेसा प्रस्ट रङको विभाजन रेखा खोजेँ। र, त्यसबापत असिम दुःख पाएँ।
व्यावहारिकताको यथार्थले के भन्छ, मलाई त्यसमा खासै रुचि कहिल्यै भएन। म त हरेक कुरामा पारमार्थिक सत्य (अल्टिमेट ट्र्युथ) खोज्न हिँडेको विशिष्ठ ठान्थेँ आफूलाई।

तर संसारका हरेक कुरा आपसमा जोडिएका रहेछन्। कुनै न कुनै बिन्दुमा विपरीतझंै प्रतीत हुने व्यावहारिक सत्य र पारमार्थिक सत्य एकाकार हुँदा रहेछन्। मेरा अपेक्षाअनुरूप काम नगर्दैमा कोही फुच्चे वा गर्दैमा 'छफुटे' हुने होइन भन्ने जान्न मलाई दशकौं लाग्यो।

जीवनमा मित्रहरू आएनन् भन्दैमा मलाई तिनको अभावचाहिँ खड्किएन। सुषमा छँदै थिई। मित्रका हिसाबले सुषमालाई बाहेक गर्ने हो भने, म एक्लै थिएँ। एक्लै थिएँ तर एक्लो महसुस गर्दैनथेँ।
संसारमा कैयौं यस्ता छन्, जो रातदिन 'मित्रहरू' को भीडबीच बस्छन् तर एक्ला छन्। हरदिन फ्रेन्ड्स पार्टी जाने, हजारौं फेसबुक फ्रेन्ड भएकाहरूको वास्तविक मित्र कति छन्, यो उनीहरू स्वयंले जान्ने कुरा हो।
मेरो निम्ति मित्र शब्दको अर्थ हुन्थ्यो, एक यस्तो साथी जसले मलाई बुझोस्, मेरो दुःखसुखमा समभाव राखोस्, मेरा विषयमा संसारसँग गफ फलाक्दै नहिँडोस्। जो मेरो नामको होइन, मेरो साथी होस्। एक यस्तो, जोसित जुनसुकै विषयमा कुरा गर्न मलाई संकोच नलागोस्। जसले मेरा इच्छाहरू मुखबाट झर्नेबित्तिकै पूरा गर्ने कोसिस गरोस्।

अल्बर्ट कामुझैं मलाई यस्तो साथीको खोज थियो— जो न मेरो अघिअघि हिँडोस् वा पछिपछि लागोस्। मेरै छेउ साथसाथ हिँडोस्।
यस्तो साथीको खोज थियो, जो मेरा विषयमा राम्रो नराम्रो सबथोक थाहा पाएर पनि मलाई स्नेह गरोस्। एक यस्तो साथी जोसित अर्थहीन, अन्टसन्ट, बकवास कुरा गरेर घन्टौं बिताउन सकौं।
आज सम्झँदा पनि हाँसो उठ्छ, मेरो 'मित्र' बन्न चाहिने पूर्वसर्तको सूची कति लामो थियो! त्यसैले होला, मेरो जीवनमा परिचित आए, मित्र आएनन्।
...
हुन त स्कुल/कलेज छँदा केही सहपाठी यस्ता थिए, जसलाई मित्र भन्न सकिन्छ। हामी एक–अर्कासित सुखदुःख सहजै भन्न सक्थ्यौं। मित्रता साँचो हो भने त्यसमा 'सहजता' भन्ने तŒवको उपस्थिति अनिवार्य छ। एक–आपसमा सहज।
जीवनमा तीन शब्द छान्नुपरे 'सहजता' एक हुनेछ। मर्दा एक शब्द मात्र आफैंसँग लैजाने बरदान पाए, त्यही शब्द लैजानेछु।

स्कुल/कलेज छँदाका साथीसित चाहिँ म हमेसा सहज हुन सकेँ। हामी एक–अर्कासित 'नाफा–नोक्सान'को हिसाबकिताब नगरीकनै व्यवहार गर्न सक्थ्यौं। तर, पत्रकार भएपछि भेटिएका कतिपय मानिससित म 'सहज' हुन सकिनँ, खुल्न सकिनँ। खुल्ने चेष्टा पनि गरिनँ।
मलाई लाग्थ्यो, भेट हुँदा मानिसहरू एक–अर्कासित 'कुराकानी वा संवाद' होइन, आआफ्नो पूर्वनिर्धारित भूमिकाअनुसार 'परफर्म' गरिरहेका छन्। मानौं, कुराकानीमा होइन अभिनयमा छन्।
पत्रकारितामा लागेपछि 'परिचित' को संख्या ह्वात्तै बढे पनि मित्र भेटिएनन्। मेरो संगत आफूभन्दा बढी उमेरका सित हुन थाल्यो। उनीहरूसित विषयगत कुरा गरेर म घन्टौं बिताउँथेँ तर मन साटासाट गर्न सक्दैनथेँ। कोसँग के विषयमा कुरा गर्ने, पूर्वनिर्धारित थियो। आआफ्नो पेसाका कतिपय उत्कृष्ट मानिस मेरो परिचयको दायरामा थिए, उनीहरू स्नेह पनि गर्थे। तर म कसैसँग त्यसरी खुल्न सकिनँ, जसलाई आवरणहीन मित्रताको दर्जा दिन सकियोस्।

पेसागत कारणबाहेक मैले ज्यादै सीमित मानिस भेटेँ। अचम्म लाग्छ, यतिका वर्ष सार्वजनिक जीवनमा रहेर पनि त्यति थोरैसित उठबस गरेँ। त्यसैले धेरैले मलाई फरक बुझे। मैले बुझाउन पनि चाहिनँ।
म सीमित मानिससित मात्र खुल्थेँ। तर विडम्बना, तिनीहरूसित पनि पूर्णरूपले खुल्न सक्दिनथेँ। सम्बन्ध आंशिक थियो। उदाहरणका लागि श्रीराम दासित किसुनजीका कुरा गर्थें। विद्या भाउजूसँग ज्योतिषशास्त्रका कुरा। चक्र दाइसित राजनीतिक र दर्शन। विश्वम्भरसित गीतसंगीतका कुरा। भिन्नभिन्न मानिससित म अलगअलग विषयमा कुरा गर्थे। फरकफरक रूपमा खुल्थेँ। जब यस्ता स्नेही मानिससितै त्यो हालत थियो भने, अरू सम्बन्धहरूको पातलोपनको बयान गरिरहनुपर्छ र!

आफ्नो दुःखसुख आफैंसित छ, परेको बखत मद्दत गर्न कोही आउने होइन, बेकार किन टाइम वेस्ट गर्ने जस्तो लाग्थ्यो। त्यसबाहेक म लजालु स्वभावको भएकाले पनि धेरैसित घुलमिल हुन रुचाउन्नँ। मेरो आवरणमा देखिने 'एरोगेन्स'का पछाडि केही हदसम्म मेरो 'साई नेचर' पनि लुकेको छ। त्यहाँसम्म पनि ठिकै थियो, आफ्नो–आफ्नो स्वभाव हो।

मेरो गल्ती कहाँ भयो भने सबैसित घुलमिल हुन नचाहने आफ्नो बानीलाई मैले सकारात्मक रूपमा प्रस्तुत गर्न सकिनँ। कतिपय अवस्थामा झर्केर मानिसलाई पन्छाएँ।
सबै, सबैसित घुलमिल गर्न सक्दैनन्। एरिस्टोटल भन्छन्– 'जो मानिस सबैको मित्र हो, यथार्थमा कसैको पनि होइन।'
मिलनसार भनेर चिनिएका एक जना सम्झन्छु। सकेसम्म धेरै जनाबाट कुरा फुत्काउन उनले मिलनसार भएको सिरक ओढेका मात्र हुन्। मौसम बेमौसममा सिरक ओढ्नुपर्ने बाध्यताले बिचरा रातदिन गर्मीले छट्पटिएका छन्। तर आफ्नो उकुसमुकुस बाहिर देखाउन सक्दैनन्। मिलनसारको पगरी टाउकोबाट झर्ने डर हुन्छ। एउटा 'मित्र' को कुरा दोस्रोलाई र दोस्रोको कुरा तेस्रोलाई सुनाउँदै उनको जीवन बितेको छ।
यस्ता सज्जनको विषयमा एलिस मिलर भन्छिन्– 'आफ्नो मित्रको विषयमा कुरा काट्दा तिमीलाई पीडा महसुस हुन्छ भने कुरा काटे हुन्छ। तर साथी भनिएको मानिसका विषयमा कुरा काट्दा पीडाको सट्टा तिमीलाई मनमनै मज्जा आउँछ भने तिमी उसको साथी होइनौ।'
...
म आफ्नै गल्तीमा फर्कन्छु। भेटेजति सबैसित अँगालो मार्दै हिँड्न सकिन्न भन्दैमा मैले आफूलाई त्यस रूपमा प्रस्तुत गर्न पनि जरुरी थिएन, जुन रूपमा जानीनजानी गरियो। समय नहुँदा वा अन्य कारणले भेट्न नसकिनेलाई झर्केर पन्छाउन जरुरी थिएन। पछुतो लाग्छ।
चार–पाँच वर्षअघिसम्म, मरिन डेडरिचको भनाइबाट चाहिनेभन्दा बढी प्रभावित थिएँ– 'त्योमात्र तिम्रो साथी हो, जसलाई तिमी चार बजे बिहान फोन गरेर उठाउन सक्छौ।'
मेरा नजरमा ती मानिस मित्र शब्दको हकदार थिएनन् जसलाई मैले भेट्न चाहँदा, उनले आफ्नो अप्वाइन्टमेन्ट बुकमा 'खाली समय' खोज्न थालून्। म त यस्तो साथीको कल्पना गथर्ें, जो आफ्नो सब काम छाडेर मलाई भेट्न आओस्!
बानेश्वरमा एउटा परिवार थियो। मलाई लाग्थ्यो, हामीसित धेरै मित्रवत सम्बन्ध छ। एक साँझ हामीलाई डिनरमा बोलाइएको थियो। फर्कने बेला पानी पर्योख। ती दिनमा हाम्रो सवारी साधन थिएन। हुन त हामी बस्ने ठाउँ त्यहाँबाट दस मिनेट हिँडेरै पुगिन्थ्यो। सुषमा र मलाई त फरक पर्ने थिएन। छोरी डेढ वर्षकी थिई।
मनमनै आशा लाग्यो, उनीहरूले आफ्नो मोटरमा पुर्या्इदिनेछन्। तर न मैले मुख खोलेर भन्न सकेँ न तिनले पुर्यागउने अफर गरे।
हामी रु‰दै निस्कियौं, छोरी च्यापेर। त्यस दिनपछि म कहिल्यै त्यो घर पसिनँ। त्यो सानो घटना सम्झेर धेरै दिनसम्म चित्त दुख्यो।
हामीहरू परिचितमात्र थियौं, 'फेयर वेदर एक्वेन्टेन्स।' एक–अर्काका टाइम पास खेलौना। यो बु‰नेबित्तिकै सबै गुनासा हराए।
त्यसपछिका वर्षमा, कसैलाई मित्र बनाउने कोसिस गरिनँ। जो जति बाटामा भेटिए, ती कसैले पनि मेरा पूर्वसर्तहरूको पर्खाल नाघ्न सकेनन्। कल्पना गरिएजस्तो कुनै मित्र मेरो जीवनमा आएन। आएन भनेर मैले वास्ता पनि गरिनँ।
चार वर्षअघि थाहा पाएँ, गलत रहेछु म। त्यस दिन गुरुलाई सोधेको थिएँ :
'मेरा यति धेरै परिचित छन्। नजाने कति मानिसले मलाई चिन्छन्। तर पनि मेरो कुनै सच्चा मित्र छैन जस्तो लाग्छ। किन होला?'
'के तिमी आफूचाहिँ कसैको सच्चा मित्र हौ? के तिमी ती सबै कुरा कसैका निम्ति गर्न सक्छौ, जसको अपेक्षा तिमी अरूबाट गर्छौ, विजय?'
मैले उत्तर दिन सकिनँ। सोच्न थालेँ, त्यस्ता कति जना मेरो जीवनमा छन्, जसका निम्ति म त्यो सब गर्न तयार छु जसको चाहना म अरूबाट गर्छु!
आफ्नो परिवारबाहेक अरू कसैका निम्ति म त्यो सब गर्न तयार थिइनँ जसको अपेक्षा म अरूबाट गर्थें।
मेरो दयनीय हालत देखेर नाम्खा रिम्पोचेले मुस्कुराउँदै भने :
'को मेरा मित्र हुन्, को होइनन्— यी ठुल्ठूला प्रश्न छाडिदेऊ। साधारण कुरा गरौं। मलाई बताऊ, के तिमी आफ्नो मित्र हौ?'
मैले 'हँु' भन्न सकिनँ। जीवन जसरी बिताइयो, त्यो सम्झँदा खुलेर यो पनि त भन्न सकिन्थ्यो, म स्वयं आफ्नो मित्र हुँ। जानीनजानी मैले आफ्नो शरीर, मन र बचनलाई जति दुरूपयोग गरेँ, त्यो सम्झेर कसरी भन्न सक्थेँ, म मेरो मित्र हुँ!
'विजय! तिम्रोमात्र होइन, धेरै मानिसको समस्या के भने उनीहरू पहिला आफ्नो मित्र नबनीकन अरूको मित्र हुन चाहन्छन्। आफैंलाई नचिनीकन धेरैलाई चिन्न चाहन्छन्। अलिकति सकारात्मक सोच राखेर हेर त, तिम्रा कति धेरै मित्रहरू छन्! उनले तिमीलाई कति धेरै प्रेम दिएका छन्! अलि सोच त!'
...
जुन क्षणदेखि मैले फरक दृष्टि राख्न थालेँ, चारैतिर मित्र नै मित्र खडा भए। भिन्नभिन्न पृष्ठभूमिका अनेक मित्र। जस्तै, बेत्रावतीको मजदुर कान्छा गुरुङ। कति प्रेमले उसले मलाई आफ्नो कोठामा बसाएको थियो! मैले कसरी उसको मित्रतालाई बिर्सन सकेको होला!
मकवानपुरकी चमेली वाइबालाई सम्झेँ। मैले दिएको सानो रकममा थपथापबाट उसले बाख्रापालन गरी। सन्देश पठाएकी थिई– 'दाइको भाग सुरक्षित छ।' मैले कसरी बिर्सन सकेको होला चमेली मेरो साथी हो! २४ वर्षमा साक्षर भएकी चमेलीले प्लान इन्टरनेसनलको पुरस्कार थाप्न लन्डन जानुअघि कति उत्साहसाथ फोन गरेकी थिई!
कसरी बिर्सेको होला, त्यतिका मित्रलाई! तिनीहरू थिए र पो म यहाँसम्म आएँ। मानिस कति छोटो र स्वार्थी हुन सक्दो रहेछ! मैले आफैंलाई हेरेर थाहा पाएँ।
एक अपवाद रहे, विजय शाह! मित्रहरूका सम्बन्धमा रिम्पोचेले मेरो आँखा खोल्नुअघि पनि उनलाई मैले हमेसा मित्र मानेँ। मित्रताको परिभाषा गलत रूपले बु‰ने बेला पनि मैले उनलाई साथी ठानेँ।
अपेक्षाको अग्लो पर्खाल, नाजायज पूर्वसर्तहरूको युगमा पनि उनी हमेसा उत्तीर्ण भए। उत्तीर्ण भए, किनभने मैले उनलाई परीक्षामा कहिल्यै हालिनँ। 'रि–अस्योर' हुने आवश्यकता देखिनँ। जसरी म आमा र सुषमाप्रति पुरापुर विश्वस्त छु, तिनको प्रेम परीक्षा लिने विचार मनमा आउँदैन। हो, त्यसैगरी म विजय शाहको स्नेहमा हमेसा विश्वस्त रहेँ।
हाम्रो भेट कहिलेकाहीँ महिनौं, वर्षौं हँुदैन। उनका नियमित 'सोसल फङ्सन' मा पनि म जान्नँ। फोनफान पनि महिनौंमा हुन्छ। एक–अर्काप्रति स्नेहबाहेक हाम्रो बीचमा कुनै 'अब्लिगेसन' छैन। न मलाई नेपालको 'लिकर किङ' भनिने विजय शाहको पैसाको कुनै लोभ छ, न त उनलाई मेरो मिडिया पहुँचको रत्तिभर पर्वाह छ।
तर मलाई थाहा छ, कुनै दिन बिहान चार बजे फोन आए म उनका निम्ति खुसीसाथ उठ्न तयार हुनेछु। शिवभक्त हुन् विजय शाह, अध्यात्ममा रुचि राख्छन्। जीवन र जगतमा जे देखिन्छ, त्योभन्दा पर पनि एउटा संसार छ भन्ने बोधसँग परिचित छन्, उनी।
...
पुरुषको तुलनामा मलाई नारी बढी मित्रवत लागे। मित्रता भन्ने शब्द नै स्त्रीलिंगी जस्तो लाग्छ। बढी 'फेमिनिन', बढी कोमल। भाग्यशाली रहेँ, केही साह्रै बुद्धिमान र उदार महिलासित मेरो मित्रवत सम्बन्ध बन्यो। आजको दिनमा म कुनै पनि मानिसलाई उसको लिंगभन्दा पर राखेर सहज व्यवहार गर्न सक्छु भने त्यसको एउटा कारण मेरो जीवनमा आएका महिला मित्रहरू हुन्।

तीमध्ये रोजी फाइन्डसिनलाई सम्झनैपर्ने हुन्छ। पेसाले आर्किटेक्ट उनी जमुन कन्ट्र्युल रिम्पोचेकी चेली हुन्। उनीबाट मैले धेरै कुरा सिकें। त्यसैगरी मलेसियन धर्मबहिनी पावेनप्रति पनि अनुगृहीत छु। यी दुवै महिला आफ्नो समयमा आआफ्ना देशमा उत्कृष्ट प्रोफेसनल थिए।
मलाई लाग्छ, नारी र पुरुष बराबर होइनन्। असमान पनि होइनन्। भिन्न हुन्। नारीले पुरुषजस्तो हुन जरुरी छैन। पुरुषजत्तिकै अवसर र स्वतन्त्रता पाउन भने जरुरी छ। व्यावहारिक रूपमा, महिलामाथि लामो समयदेखि भएको अन्यायको पृष्ठभूमिमा, म महिलाका लागि आरक्षणको पक्षमा छु।
पुरूष र महिला भन्ने लैंगिक विभाजन गर्नुसाटो 'पुरुषोचित' र 'स्त्रैण' गुणमा बढी विश्वास गर्छु म। किनभने हरेक पुरुषभित्र नारी र हरेक नारीभित्र पुरुष लुकेर बसेको हुन्छ।

मित्रताका सम्बन्धमा गलत दृष्टिकोणको चस्मा फुकाल्नुअघि म त्यसलाई उपयोगितावादी (युटेलिटारियन) कोणबाट पनि हेथर्ें सायद। को मानिस मलाई काम लाग्ने हो, को होइन भन्ने भावबाट केही हदसम्म निर्देशित भएँ होला।
विशुद्ध उपयोगितावादी नजरबाट, मित्रता जीवनका लागि अनावश्यक छ। नभए पनि मज्जाले जीवन चल्छ। आज एउटालाई 'मित्र' बनायो, भोलि फ्रेन्डसिपका नाममा कुनै अर्कोलाई उल्लु बनायो। त्यसो गर्दा फरक पर्दैन भन्ने सिद्धान्तमा जीवन चलायो!
सिएस लेविस भन्छन्– 'मित्रता अनावश्यक छ, नभए पनि जीवन चल्छ। ठिक त्यसरी जसरी घरको गमलामा फूल नभए पनि जीवन चल्छ। पेट भर्ने होइन फूलले। नभए पनि हुन्छ। बाँच्नका लागि पनि मित्रताको आवश्यकता छैन। जीवन रोकिँदैन। तर बाँच्नुको अर्थ बु‰नचाहिँ जीवनमा मित्र अनिवार्य छन्।'
मानिस शरीरमात्र होइन, भावना पनि हो। मानिसभित्र उपयोगितावादको रणनीतिमात्र होइन, निस्वार्थ सम्बन्धहरूको तृष्णा पनि लुकेको हुन्छ। त्यसैले मित्रहरू अपरिहार्य छन्।

जीवनको बाटोमा भेटेजति सबैसित अंकमाल गरेर हिँड्न सकिन्न। न म कुनै सन्त हुँ, जसका निम्ति भेटेजति सबै मानव बराबर हुन्। म कोसिस गर्दै छु, सबैप्रति समभाव राखूँ। आज नभए भोलि सकूँ, यो जुनीमा नसके अर्कोमा। त्यसका लागि प्रयत्नशील छु।
साई बाबाको दर्शन गर्न पुट्टपर्ती पुगेको थिएँ। प्रशान्ति निलायममा ठूलो भीड थियो। भीडमा, मलाई त्यहाँ लाने सुमन बस्नेत हरायो। मेरो मुखबाट अनायास निस्कियो :
'ह्वेयर इज माई फ्रेन्ड?'
मेरो पछाडिबाट एक अपरिचित आवाज आयो :
'अल आर योर फ्रेन्ड।'
यस्तो जीवन्त अनुभवबाट गुज्रेको भए पनि मेरो जीवनमा धेरै मित्र आएनन्। धेरै साथी भएनन् भन्ने मलाई पछुतो छैन। भेटेजति सबैलाई 'फ्रेन्ड' बनाउन सकिँदैन। तर भेटिएका सबैसित 'फ्रेन्डली' हुन सकिन्छ। यो सिक्न मलाई धेरै वर्ष लाग्यो। पछुतो छ भने त्यसमा मात्र छ।
विवेकानन्द भन्छन् :
'जीवनमा कति जनासँग सम्बन्ध छ भन्ने कुरा मुख्य होइन। भएका सम्बन्धहरूमा जीवन छ वा छैन भन्ने तथ्य सर्वोपरि हो।'
अब फर्केर हेर्दा लाग्न थालेको छ, मेरो जीवनको प्रत्येक पाइलामा अनगिन्ती मित्रको साथ थियो। दोष कसैको थियो भने मेरै थियो, मैले तिनलाई देख्न सकिनँ।
एउटा पुरानो भनाइ उद्धृत गर्दै सुषमाले भनी– 'राम्रा मित्र भनेका आकाशका ताराजस्ता हुन्। नांगो आँखाले हेर्दा कहिले देखिन्छन्, कहिले देखिन्नन्। तर तिम्रो आँखाले नदेख्ने बेलामा पनि उनीहरू त्यहाँ थिए।'
(भदौ २७ गते सार्वजनिक हुने पुस्तक 'खुसी' बाट)

 

No comments:

Post a Comment