सपनाको देशमा
,
बसन्त बस्नेत

देखिएका सम्राट उपाध्यायको कथा पाठकलाई थाहा छ। नदेखिएका सम्राटको कथा कसलाई थाहा छ!
प्रकाशकलाई पाठकमाझ यस्तो मेनु पस्कने बानी लागेको छ – केवल सफलताको कथा सुनाउने चलन छ।
पाठकलाई पनि उही पुरानो मेनु हेर्दै स्वाद चाख्ने बानी लागेको छ– केवल उचाइको आनन्दमा मग्न हुने चलन छ।
टोपी खस्लाजस्तो, नाक ठोक्किएलाजस्तो उकालीको कथा सुन्ने कसले। चढेर उचाइ छोएका सिँढीहरू फर्केर गन्ने कसले !
यो एउटा त्यस्तो नेपाली लेखकको कथा हो, जोसँग सफलताका कथाभन्दा संघर्षका कथा बढी छन्। उचाइभन्दा उकालीका कथा धेरै छन्।
असारे झरीले निथ्रुक्क सम्राट आफ्ना कठिन दिनहरू सम्झन यतिखेर केशरमहलस्थित गार्डेन अफ् ड्रिम्समा यो पंक्तिकारको अघिल्तिर बसेका छन्। चिसोले स्वर छ्याप्प बसेको छ। छेउमा केही पर्यटक बालकहरू खेलिरहेछन्। उनका आँखाहरू भने अन्तै कतै छन्। सके, इतिहास नामको कुनै पाँचौं दिशा हुँदो हो।
'अमेरिकामा विद्यार्थी छँदा मैले कठिन संघर्ष गरें,' ५१ वर्षे आख्यानकार अतीत सम्झछन्, ' पाठकलाई आजसम्म थाहा दिएको छैन।'
...
२०१९ फागुन ७ गते काठमाडौंमा जन्मेका सम्राटले सेन्ट जेभियर्स पढे। मल्पीबाट ओ लेभल गरे। त्यसपछि मुम्बई भागे। 'सोल सर्चिङ डेज्' थिए ती, उनका लागि।
मायानगरी मुम्बई घुम्यो, फिल्म हेर्यो। दिन यत्तिकै बित्दै गए। एकदिन अकस्मात् सम्राट काठमाडौं फर्के। त्यसपछि शंकरदेव क्याम्पस जान थाले। पढाइमा उनी राम्रै थिए। मन भने अन्तै बहकिइरहन्थ्यो। २१ वर्षको उमेरमा अमेरिका हानिए। उनका वास्तविक दिनहरू त्यसपछि सुरु भए।
सन् १९८४ मा अमेरिका जाँदा उनी 'गरिब विद्यार्थी' थिए। अमेरिकामा गरिब हुनु भनेको पैसा नहुनु हो। त्यो भनेको अमेरिकामा केही नहुनुजस्तै हो।
'म हरेक दुई हप्तापिच्छे नयाँ साथीको सोफामा बस्न जान्थें, तेस्रो हप्ता साथी बदल्थें, उसैकहाँ बस्थें,' उनी सम्झन्छन्, 'भाडा तिर्ने पैसा नहुँदा आफ्नो कोठा छाड्नुपर्थ्यो, दुइटा सुटकेसमा सामान हाल्थें। त्यसरी साध्य हुन छाड्यो, एउटा ठूलो गार्बेज ब्यागमा सबै सामान हालेर हिँड्न थालें।'
सम्राट थप्छन्, 'त्यो बेला म निराशजस्तै थिएँ।'
नदेखिएका सम्राटको कथा यही हो। यो संघर्ष आठ वर्षसम्म निरन्तर रह्यो। अर्थात्, सन् ९२ सम्म। त्यही साल उनले ओहायो युनिभर्सिटीबाट एमए सके।
अमेरिका सपनाको देश हो। भलै सपनाहरू कहिलेकाहीँ दुस्वप्नमा परिणत हुन्छन्। सम्राटलाई अमेरिका आफ्नो भएन। त्यही बेला साउदी अरेबियामा प्राध्यापन गर्ने प्रस्ताव आयो। त्यहाँ एक वर्ष पढाए। अनि नेपाल आएर दुई वर्ष बसे।
काठमाडौं आएपछि 'ट्राभलर्स नेपाल' म्यागजिनमा सहसम्पादक बने। 'द काठमान्डु पोस्ट' का लागि स्तम्भ लेख्न थाले। बबितासँग सन् १९९३ मा 'नेपाली पाराको' बिहे भयो। अर्थात्, सम्राटको परिवार बबिताको घरमा कुुरा चलाउन गयो। छोरीले हुन्छ भन्दिइन्। अभिभावकले हुन्छ भन्दिए। सम्राट जो दाबी गर्छन्।
पत्नीसँगै अमेरिका फर्केका सम्राटले त्यसपछिको समय प्राज्ञिक गतिविधिमै लगाए। सन् १९९९ मा युनिभर्सिटी अफ् हवाईबाट पिएचडी सके। बबिताले पनि त्यहीँ मास्टर्स सकिन्। अमेरिकामा सितिमिति कसरी काम पाउनु! सीमित बजेटमा चल्नुपर्ने दिनहरू थिए। अरू साथीहरूको कार हुन्थ्यो, उनको हुन्थेन। भन्छन्, 'सार्वजनिक यातायातका भरमा चल्न गाह्रो थियो।'
'ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल' माधवप्रसाद घिमिरेको कविता ठिकै भन्छ। सम्राटको हकमा यो चरितार्थ हुन गयो। अभाव र कष्टबीच सम्राट कथा लेखिरहेका थिए। पहिलो उपन्यास 'माया' लेखे। त्यसले कहिल्यै घाम देख्न पाएन। यसै थन्कियो पाण्डुलिपि। पिएचडी गर्दागर्दै अर्को पनि उपन्यास लेखे उनले। प्रकाशकले सकार्ने कुरै थिएन।
अकस्मात् उल्का!
सम्राटको कथा 'द गुड सपकिपर' 'बेस्ट अमेरिकन सर्ट स्टोरिज सिरिज'मा छापियो। अमेरिकी साहित्यिक पत्रिकामध्येबाट चुनिएका २० कथा त्यसमा छापिन्थे। एमी ट्यानजस्ता ठूला लेखक छापिरहने सिरिजमा आफू अचानक झुल्किनु उनका लागि अप्रत्याशित थियो। 'म अचम्भित भएको थिएँ, त्यसमा कसरी मेरो नाम आयो!' उनी भन्छन्। नाम चलेका लेखक र समीक्षकको आँखामा सम्राट पहिलोपल्ट देखिनेगरी छाएको यो नै पहिलोपटक थियो।
त्यो कथा पढेपछि ठूलो प्रकाशनगृह हटन मिफलिनले सम्राटसँग कथा संग्रहको पाण्डुलिपि पठाउन आग्रह गर्यो। उनका लागि यो ठूलो मौका थियो। तुरुन्तै लगेर दिए। प्रकाशकले पनि तुरुन्तै बधाई दियो। अनि छापियो– अरेस्टिङ गड् इन् काठमान्डु।
'हटन मिफलिनले मलाई राम्रो पैसा दियो,' उनी कृतज्ञ छन्, 'अनि पहिलो किताबले नै नचिताएको प्रचार दिलायो।' सम्राटको संघर्षलाई भाग्यले पछ्यायो। कथा यतिमै सकिँदैन। संघर्षका नयाँ अध्याय बाँकी छन्। त्यसैसँग सफलताका खुड्किला पनि गनिँदै जान्छन्।
'अरेस्टिङ गड इन काठमान्डु'का लागि सम्राटले प्रख्यात अमेरिकी पुरस्कार ह्वाइटिङ राइटर्स अवार्ड पाए। त्यो किताब बानर्स एन्ड नोबल डिस्कोभर ग्रेट राइटर्स प्रोग्रामका लागि छानियो। उनका कथाहरू अमेरिकी राष्ट्रिय रेडियोबाट वाचन हुन थाले। अर्को खुड्किलो, अरेस्टिङ गड इन काठमान्डु फ्रेन्च र ग्रीक भाषामा पनि अनुदित भयो।
एकपछि अर्को गर्दै प्राप्त सफलताले सम्राटलाई नयाँ चुनौती दियो। उनले यस बीचमा एउटा उपन्यास लेखे। हटन मिफलिनले नै सन् २००३ मा 'द गुरु अफ लभ' शीर्षकमा त्यसलाई छाप्यो। उक्त किताब सोही वर्ष 'द न्युयोर्क टाइम्स नोटेबल बुक अफ द इयर'का रूपमा छानियो। उत्तिखेरै 'सान फ्रान्सिस्को क्रोनिकल बेस्ट बुक अफ इयर' छानियो। विख्यात 'किरियामा प्राइज'को अन्तिम सूचीमा पुस्तक पर्यो।
अब सम्राटका लागि लेखनबाट भाग्ने बाटो थिएन। जीविका हेतु संघर्षरत उनलाई लेखनबाट भाग्नु पनि थिएन। लेखनले नाममात्रै होइन, चुनदाम पनि राम्रै दिलाउन थालेको थियो।
सम्राटको अर्को कथाकृति 'द रोयल गोस्ट्स' त्यसको तीन वर्षपछि छापियो। छापिनु के थियो, फेरि प्रशंसा र अवार्डको ओइरो। 'द रोयल गोस्ट्स'ले त्यसैको अर्को वर्ष एसियन अमेरिकन लिटरेरी अवार्ड, द सोसाइटी अफ मिडल्यान्ड अथर्स बुक अवार्ड पायो। त्यो वासिङ्टन पोस्टको आख्यान सूचीमा दरियो। त्यो फ्रांक ओ कोनोर इन्टरनेसनल सर्ट स्टोरी अवार्डको अन्तिम सूचीसम्म पुग्यो। २०१० मा निस्केको उपन्यास 'बुद्धज् अर्फान्स' जर्मन र चेक भाषामा समेत अनुदित भयो। संघर्ष र चुनौतीबीच यो सबै सम्राटको लेखनले खनेको सफलताको गोरेटो थियो। कम्तीमा उनका पात्रमार्फत् पश्चिमी समाजले नेपाली समाज थाहा पाउन थालेको थियो।
सम्राट भने काठमाडौं या नेपाल चिनाउनकै लागि लेख्ने नगरेको दाबी गर्छन्। यही काठमाडौंमा उनी हुर्के। यसैको माया लाग्दो हो। जेम्स ज्वाइसले लेख्दैपिच्छे डब्लिनको महिमा गाएको प्रभाव उनीभित्र छ। के थाहा, देहातमा जन्मेका भए त्यसैको कथा उन्थे कि!
सम्राटलाई अमेरिकी मिडियाले नेपाली अमेरिकी लेखक भनी चिनाउँदा रहेछन्। उनलाई चाहिँ यस्तो परिचय दिन अप्ठेरो लाग्छ। 'मैले त आफूलाई नेपाली लेखक भनेरै सोचिरहेको हुन्छु,' एनआरएन भइसकेका उनी भन्छन्, 'कसैकसैले त अमेरिकाको एथ्निक राइटर भन्दिन्छन्। त्यो पनि समस्या हो।' आदिवासी बिल्ला भिराइदिएर आफूलाई मूलधारबाट पन्छाउने षडयन्त्र भइरहेजस्तो लाग्दो रहेछ उनलाई। नेपालभित्रका लेखकका लागि यसको माने के होला!
समकालीन अमेरिकी यथार्थवादी आख्यानकारमा उनी उल्लेख गरिन्छन्। सान फ्रान्सिस्को क्रोनिकलले त उनलाई बुद्धिस्ट चेखबका रूपमा मान दिएको छ। सम्राटसँग नयाँ दुःख थपिएका होलान्। पुराना दुःख भने रहेनन्। अब त किताब लेख्नु, पुरस्कार जित्नु, रोयल्टी पाउनु सबै दालभातजस्तो भइसक्यो।
सम्राटका मातापिता यहीँ छन्। पिता हरिभक्त उपाध्याय जेम स्टोन रिसर्चर हुन्। पत्नी बबिता र १२ वर्षीया छोरी शाहजादीसाथ उनी इन्डियाना राज्यको ब्लुमिङ्टनमा बसिरहेछन्। काठमाडौंकै परिवेश तानेर लेखिएको अर्को उपन्यास 'सिटी सन' माघतिर आउँदै छ। उनी भन्छन्, 'सहरको बारेमा होइन, नेपाली पात्रबारे लेखेको हुँ। मेरो लागि यो अहिलेसम्मको उत्कृष्ट लेखन हुनेछ।' उनका अनुसार अहिले त्यसको कभर छनोट भइरहेको छ।
उपन्यासको विषय के छ, उनका लागि उप्काउन गाह्रो छ। कथानक वर्णन गर्न गाह्रो लाग्ने भएकाले नखुलाएका रे। प्रकाशक बदलेका छन्। पुरानो प्रकाशक अर्कोसँग मर्ज भएपछि सम्राटसँग काम गर्ने सम्पादकीय टिम छिन्नभिन्न भयो। 'त्यही बेला सोहो प्रेस नामक प्रकाशकले मेरो नयाँ उपन्यासको पाण्डुलिपि मन परायो,' उनी भन्छन्।
सम्राटले नेपाली किताब खासै पढेका छैनन्। सेन्ट जेभियर्समा पढ्दाताक नेपाली भाषामा राम्रै दक्खल रहेको दाबी गर्छन्। अमेरिका जानुअघिसम्म नेपालीमा लेखेछन् पनि। नेपाली भाषामै लेखेर काठमाडौंमा निबन्ध प्रतियोगिता पनि जिते। अंग्रेजीमै लेख्ने पढ्ने आदत थियो। त्यसमाथि भाषा भनेको निरन्तर अभ्यासबाट प्राप्त हुने साधना हो। उनले अभ्यास र साधना दुवै गर्न छाडिदिए। उनको खास रुचि अंग्रेजीमै थियो। त्यतै लागे।
सम्राटले नेपाली व्यावसायिक उपन्यासकार युधीर थापा, वसन्त पढें। हिन्दीमा अमृता प्रितम, गुलशननन्दा पढे। उनकी आमा शान्ता यस्ता किताब ल्याउँथिन्। आक्कलझुक्कल निस्कने 'पुड्के जासुस'जस्ता नेपाली जासुसी उपन्यास पढे। यतिका कुरा गरिसक्दा पनि कुनै गतिला नेपाली कृतिको नाम उनले सम्झेनन्।
सम्राट लेख्ने बेला धेरै योजना बनाउँदैनन्। यस्सै सुरु गर्छन्। त्यसपछि कथा पानी झैं बग्न थाल्छ। मेरुदण्ड बनाउने चलन छैन। स्ट्रिम अफ् कन्ससनेस प्रविधिजस्तो। लेख्दै जाँदा कथानक, पात्र र परिवेश बिस्तारै दिमागमा सेट हुँदै जान्छ।
'सिटी सन' लेख्दै गएपछि उनलाई उपन्यास विधा राम्ररी बुझेजस्तो लाग्छ। पाठकहरूको टिप्पणी छ, उनका उपन्यासभन्दा कथा बढी जम्छन्। उनको भने उपन्यासमा टक बसिसकेको छ। कथा छाडिहाल्ने मुडमा भने छैनन्। उपन्यासलगत्तै अर्को संग्रह कथाको हुने उनको योजना छ।
नेपाली लेखकको कृति 'अरेस्टिङ गड इन काठमान्डु' को चर्चा नेपालमा हुने नै भयो। अमेरिकामा पाएको चर्चा सोचेभन्दा ठूलो थियो। सम्राट भने त्यसलाई भाउ दिन आनाकानी गर्छन्। 'मानिसहरू मेरो लेखनबारे के सोच्छन् भन्ने केवल बाह्य कुरा हो, मैले नेपालको प्रतिनिधित्व कत्तिको गरें, नेपाल मेरो लेखनमा कत्तिको आयो भन्नु पनि बाह्य कुरो हो,' लेखन–धर्मबारे उनी स्पष्ट छन्। भन्छन्, 'यस्ता चर्चा चल्नु बेठीक होइन। लेखक एउटा कलाकार पनि हो। उसका लागि यस्ता कुराको खास अर्थ छैन।'
कलाकारको दुनियाँ अर्कै हुन्छ। बाहिरी दुनियाँमा केन्द्रित हुन थाल्यो भने त्यसले साधनामा असर पार्न थाल्छ। यसले यसो भन्छ, यसले उसो भन्छ भनेर कहीँ पुगिँदैन। सम्राटका लागि कला कलाको लागि नै भनेजस्तो भने होइन। उनी प्रचार, पुस्तक समीक्षाको चासोभन्दा पर गएर बस्छन्। त्यता उनको दिमाग जाँदैन।
तीभन्दा पर सम्राटको छुटै संसार छ। 'अरूले मन पराउँछन् कि पराउँदैनन् भन्ने होइन, मैले आफ्नै बुझाइ र सामर्थ्यलाई चुनौती पेस गर्न सकेको छ कि छैन, त्यो महŒवपूर्ण कुरा हो,' उनी भन्छन्, 'बरु त्यसरी हेर्दा मैले राम्रै गरिरहेको छु जस्तो लाग्छ। प्रत्येक पुस्तकमा नयाँ प्रयोग गर्दै लगिरहेको हुन्छु। लेखकका लागि नयाँ कुरा लेख्नुको सधैं महŒव हुन्छ। उही कुरा दोहोर्याउनुको लेखनमा कुनै अर्थ हुँदैन।'
किहोटे कोभले आयोजना गरेको कथा प्रतियोगितामा निर्णायकका रूपमा यसपालि काठमाडौं आएका सम्राट जुनसुकै भाषामा लेखे पनि फरक नपर्ने, तर पाठकलाई झर्को लाग्न दिनु नहुनेमा स्पष्ट छन्। प्रतियोगी लेखकलाई उनको सल्लाह पनि यही छ। 'अंग्रेजीसँग विश्वभरि चर्चा दिलाउने ल्याकत छ,' उनी भन्छन्, 'तर लेखकले आफैंतिर फर्केर हेर्नुपर्छ, मेरो माध्यम भाषा के हो भनेर। विश्वभरि चर्चा पाउने रहर सबैलाई होला, तर त्यो जीवनको सबथोक होइन।'
सम्राट बिहानको समयमा लेख्छन्। परिवार सुतेको बेला चियाकफी पिउँदै दुई–तीन घन्टा लेख्ने मुड चल्छ उनको। अरु बेलाचाहिँ क्याफे र स्टार बक्समा गएर लेख्छन्। लेख्दा ल्यापटपको छेउछेउमा टिप्छन्, नोट बनाउँछन्। कहिलेकाहीँ निबन्ध र अखबारी लेख लेख्छन्। न्युयोर्क टाइम्स, हफिङ्टन पोस्टमा यदाकदा छापिन्छन्। लामो होस् या छोटो, लेखिसकेपछि पहिलो ड्राफ्ट पढ्न पत्नीलाई दिन्छन्। उनी सम्राटीय कलमको कहिले प्रशंसा गर्छिन्, कहिले आलोचना। उनलाई पनि पत्नीको प्रतिक्रिया कुनै ठिक लाग्छ, कुनै होइन जस्तो। कहिलेकाहीँ विवाद पनि पर्छ।
'रचना पढेर तत्काल प्रतिक्रिया दिने मान्छे आफूसँगै भयो भने गजब हुनेरै'छ,' सम्राट हाँस्दै सुनाउँछन्, 'मेरा विद्यार्थी भन्छन्, खै मेरो त पढिदिने कोही छैन।'
सम्राटमाथि आरोप छ– उनी आख्यानमा बढ्तै छाडा शब्द प्रयोग गर्छन्। उनी भने सकार्दैनन्। 'साहित्यले मानिसलाई केवल शुद्धतावादी बाटोमा मात्रै हिँड्न उपदेश दिनुको के अर्थ?' उनको प्रश्न छ, 'दिमागलाई चुनौती दिनुपर्यो। लेखनको काम नै नीतिनियमका ठेकेदारलाई लोप्पा खुवाइदिनु हो। नत्र साहित्य किन चाहिन्थ्यो!'
'ठूला' लेखकका कृति धेरै वर्षसम्म यस्तै भाषाशैलीका कारण प्रतिबन्धित भएको इतिहास बिर्सन नहुने सम्राट बताउँछन्, 'अंग्रेजीमा बोल्ने र लेख्ने भाषाबीच खास भिन्नता छैन। यहाँ भने साहित्यिक भाषा र मान्छेले बोल्ने भाषाबीच फरक पर्न गएको हो। साहित्य भनेपछि अलि काव्यिक भाषा हुनुपर्छ भन्ने मान्यता छ क्या।' पहिलो कृति छापिँदा यो त साहित्य हुँदै भएन भनी खिसी गर्नेहरू भेटिएको उनी सम्झन्छन्। भन्छन्, 'मखमली भाषामा लेखेपछि मात्रै साहित्य हुन्छ भन्नेलाई नेपाली साहित्यमा पनि चुनौती पेस भइरहेको छ।'
नेपाली लेखकमध्ये मञ्जुश्री थापाको प्रशंसक हुन् सम्राट। 'फर्गेट काठमान्डु' जस्ता नन्फिक्सनले उनलाई प्रभाव छाडेका छन्। पपुलर बान्कीका लेखकसँग उनको खासै विश्वास छैन। शोभा डे, चेतन भगत जस्ताको आफ्नै लेखन छ, आफ्नै पाठकसमूह। सम्राटको छनोट पृथक छ। उनका पाठकबीच स्टिफन किङजस्ता व्यावसायिक लेखक पनि एकैसाथ छाइरहेछन्। त्यस्ता लेखक विश्वविद्यालयमा कहिल्यै पढाइँदैनन्, विमर्श गराइँदैनन्। सम्राटलाई विश्वविद्यालय छिरिरहन मन छ, पुस्तक भएर। अमेरिकाको प्राज्ञिक जमात्मा बसेरै लेखक हुन सजिलो छ भन्ने उनलाई पछि थाहा भयो। प्राध्यापनको पैसाले खान लाउन पुगिहाल्थ्यो। लेखनले जीवन सहज बनाइदियो।
सम्राटले पढाउने विषय क्रिएटिभ राइटिङ हो। यो विषय नपढी पनि लेखक बन्न सकिन्छ भन्नेहरू भेटिन्छन्। सम्राट यस्तो तर्क नकार्छन्। 'लेखन पढेर सिकिने कुरो होइन भन्नेहरूलाई मेरो प्रश्न छ, के उनीहरू संगीतको बारेमा पनि त्यही कुरा भन्न सक्छन्? होइन, त्यो त अभ्यास गर्नुपर्छ भन्छन्,' उनको जिकिर छ, 'पियानिस्ट, भायलनिस्ट, डान्सरहरू धेरै घन्टा अभ्यास गर्छन् र उनीहरू राम्रो प्रदर्शन गर्छन्। लेखन पनि त्यस्तै हो।'
जिनियस हुँ भनेर मात्रै पुग्दैन। त्यसका लागि निरन्तर साधना चाहिन्छ। सम्राटको संघर्षमय लेखनयात्राले यसै भन्छ।
सम्राटले यति चर्चा बटुलिसके। अहिलेसम्म व्यवस्थित प्रचार भने छैन। अरूको करले भर्खरै वेबसाइट खोलेका उनीसँग अहिलेसम्म फेसबुक छैन। 'आ होस्, को यो झन्झटमा लागिरहोस्, फेसबुक समय खाने काम हो,' उनी भन्छन्, 'मान्छेहरूको रेस्पोन्स दिनुपर्यो। त्यही भएर ट्वीटरमा पनि छैन।'
जति चर्चा पाए पनि किताब लेखेर आर्थिक आवश्यकता थेग्न उता पनि गाह्रै छ। सम्राटका किताब विश्वविद्यालयमा पढाइ हुन्छन्। पठन सत्र चलिरहन्छन्। उनी आफ्नो उचाइसँग मख्ख छन्, आफ्ना उकालीहरुसँग सतर्क पनि। यो उनको इमानदारी हो।
दुईघन्टे बसाइमा मैले उनीसँग थुप्रै कुरा गरें। सबै कुरा यहाँ लेख्न सम्भव छैन। उनका कथा पढ्दा थाहा हुन्छ, नेपाली समाजलाई उनले अझै गहिराइमा बु‰न बाँकी छ। उपन्यासमा पनि त्यस्तै अनुभूति हुन्छ। सम्राटको मेहनतले उनको उचाइलाई बलियो इँटा हाल्नेछ। आशा गर्नु उचित हुन्छ। एक नेपालीले पश्चिमी पाठकसँग गरिरहेको संवाद गौरवको भागिदार छँदै छ।
झमक्क साँझ परिसकेको छ। मलाई अब उनीसँग छुट्नु छ। अंग्रेजीवाले नेपाली लेखकसँग देवनागरी लिपिमा अटोग्राफ माग्ने इच्छा छ।
अहो, उनले त बडो सुन्दर नेपाली अक्षरमा अटोग्राफ दिए। लेख्दालेख्दै अन्तिम वाक्यमा पुगेर अड्किए।
शर्माए, 'अलिअलि अड्किन्छ क्या कहिलेकाहीँ। यस्तो बेलाचाहिँ अंग्रेजी आउँछ।'
'तपाईंले के लेख्न खोज्नुभएको?'
'आई विस् योर सक्सेस्।'
'तिमीलाई सफलताको कामना।'
'हो यही भन्न खोजेको हो। बरु ह्रस्वदीर्घ मिलेन कि?'
'होइन एउटा पनि गल्ती भएको छैन।'
'पक्का हो?'
'सोह्रै आना।'
'हत्तेरिका! म पहिले निकै राम्रो नेपाली लेख्थें भन्या।'
ढिलो भइसकेको थियो। मैले हतारहतार पत्याएँ र बिदा मागें।

- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/3803.html#sthash.yt102FJu.dpuf
No comments:
Post a Comment