Tuesday, June 30, 2015

हजुरआमाको सम्झना


२१ भाद्र, २०७१
श्यामकृष्ण खुलिमुली


'ह्या! आज फेरि सुक्या सागमा पानीरोटी पकायो। म त खाँदै खान्न।'
थालमा आमाले पस्किदिएको पानीरोटी देखेर रोहन रिसाउँदै भुतभुतायो।
'चामल हुनुपर्योि नि, भात पकाउनलाई। यही त खान नपाउने भइसक्यो। खुरुक्क नखाईकन,' आमाले थाल अगाडि सार्दै भनिन्।
'म त खाँदै खान्न। बरु भोकभोकै स्कुल जान्छु।' यति भनेर रोहन बाहिर गयो।

'रोहन, ए रोहन!' आमाले उसलाई बोलाइन्, तर ऊ पछाडि पनि नफर्की गयो गयो।
सँगै पिर्कामाथि बसेकी सलोजा भने कपाकप पानीरोटी मुखमा हाल्दै चपाउँदै थिइन्।
'अलिकति भात पनि पकाएको भए हुन्थ्यो नि आमा,' खाना मुखमा हाल्दै उनले भनिन्।

'के गर्नु छोरी! मलाई पनि मन नभएको त होइन नि। सधैं सुक्या सागमा पानीरोटी मात्र खाइरहन मलाई पनि त इच्छा छैन। चामल नभएपछि यही भए पनि त खानुपर्यो ,' रोहनले छाडेको थाल तान्दै आमाले भनिन्।
सलोजा कपाकप पानीरोटी खान थालिन्। त्यही बेला बुबा पनि टुप्लुक्क आइपुगे र भुइँमा राखेको पिर्कामा टुसुक्क बस्दै भने, 'मिश्री! मलाई पनि खाना लेऊ। एकचोटि काइँला दाइकहाँ जानुछ। अलि–अलि ऋण त गर्नैपर्यो् नि। त्यत्रो वर्ष दिनको श्राद्ध गर्नुछ। समाजलाई देखाउनै भए पनि श्राद्ध गनुपर्यो नि।'
आमाले बुबालाई पानीरोटी दिइन्। अनि आफू पनि खान थालिन्। खाँदै गर्दा अगाडि रोहनलाई नदेखेपछि बुबाले सोधे, 'अनि रोहन खोइ त? कि खाइसक्यो?'

सलोजा चुपचाप खाँदै थिइन्। आमाले भनिन्, 'आज पनि भात भएन भनेर खानै मानेन।'
'हरे, यी केटाकेटी पनि कुरै बु‰दैनन्,' बुबाले दिक्क मान्दै भने।
'बुबा! त्यो माथि बोरामा राखेको चामल के गर्नलाई नि? त्यही अलिकति पकाए भइहाल्थ्यो नि,' सलोजाले खाना खाँदै मनको कुरा प्वाक्क खोलिन्।
'छोरी, त्यो त श्राद्धको लागि जाँड पकाउनलाई चाहिन्छ। त्यो कहाँ भात पकाएर खानलाई हो त?' बुबाले भने।
'त्यत्रो चामलको जाँड पकाउनुपर्छ र?' सलोजाले आश्चर्य मान्दै भनिन्।
'हो छोरी, के गर्नु श्राद्ध गर्नैपर्छ। अझै श्राद्धमा खाना पकाउनलाई चामल पुगेको छैन,' बुबाले खाना हातमा लिँदै भने।
\
'बुबा, एउटा कुरा भनूँ?' सलोजाले हिच्किचाउँदै भनिन्।
'के कुरा, भन न,' सलोजालाई हेर्दै बुबाले सोधे।
'जाँड–रक्सी खानु राम्रो हो र?' सलोजाले सोधिन्।
आमाले पनि पुलुक्क बुबाको मुखमा हेरिन्। बुबाले भने, 'त्यो त होइन।'
'त्यसोभए त्यत्रो चामलको जाँड किन पकाउनुपर्यो,? भोज, श्राद्ध भन्दैमा जाँड–रक्सी नभई हुन्न र? जाँडरक्सीमा खेर पठाउने चामलले कति दिनलाई भात खान पुग्थ्यो,' सलोजाले बुबालाई भनिन्।
उनको कुरा सुनेर आमाले प्रतिवाद गर्दै भनिन्, 'छोरी, त्यस्तो कुरा गर्नुहुन्न। पाप लाग्छ।'
'होइन आमा! हामी ऋण गरी श्राद्ध गर्छौं। अनि पछि ऋण तिर्न सक्दैनौ। अलि–अलि कमाउँछौं, श्राद्ध र भोजमा खेर फाल्छौं। अनि कसरी हाम्रो प्रगति हुन्छ। यो श्राद्ध नगरे हुन्न र?' सलोजाले आफ्नो भनाइ राखिन्।
बुबाले प्रतिवाद गरे, 'त्यस्तो कहाँ हुन्छ र?'
सलोजाले फेरि सोधिन्, 'श्राद्ध गर्योह भने के हुन्छ बुबा?'
बुबाले भने, 'हजुरआमाले शान्ति पाउँछिन्।'

'त्यसको लागि श्राद्ध गर्नैपर्छ र? नसकी–नसकी भोज गर्नैपर्ने? आखिर हजुरआमालाई सम्झनु त हो नि। अनावश्यक खर्च गरेर श्राद्ध गर्नुभन्दा बरु हजुरआमाको नाम पछिसम्म रहने कुनै काम गरौं न बुबा,' उनले प्रस्ताव राख्दै भनिन्।
छोरीको कुरा सुनेर बुबा दंग परे र सोधे, 'के गर्ने त छोरी?'
'हाम्रो गाउँमा एउटा राम्रो पुस्तकालय पनि छैन। भएको पुस्तकालयमा पनि किताब छैन। बरु हामी सबैले अलि–अलि पैसा जम्मा गरेर हजुरआमाको नाममा एउटा कोष बनाऔं र त्यसबाट पुस्तक किनेर पुस्तकालयलाई सहयोग गरौं। यस्तो गर्योम भने हजुरआमाको पनि नाम रहन्छ। मेरा एक जना साथीका बुबाले पनि यस्तै गरेका छन्।'

छोरीको कुरा सुनेर बुबाले टाउको हल्लाए र सोच्न थाले। अनि एक छिनपछि भने, 'ओहो छोरी! तिम्रो प्रस्ताव त साह्रै राम्रो छ। बेकारमा अनावश्यक पैसा खर्च गरेर श्राद्ध गर्नुभन्दा त यस्तो गर्दा झन् धेरै पुण्य मिल्छ।'
'त्यही त भनेकी नि बुबा। गाउँका केटाकेटीले पनि पढ्न पाउने, हजुरआमाको पनि नाम रहने,' छोरीले खुसी व्यक्त गरिन्।
'हुन त मलाई पनि यस्तो श्राद्धमा विश्वास थिएन। तैपनि बाध्यताले गर्दै आइरहेको छु। यसपालि अब ऋण गरेर यस्तो कर्मकाण्ड गरिन्न,' बुबाले पनि आफ्नो मनको कुरा राख्दै भने।
बुबाको कुरा सुनेर सलोजा खुसी भइन्। ढोकापछाडि बसेर अघिदेखि यो कुरा सुनिरहेको रोहन पनि खुसी भयो।
साँझ स्कुलबाट फर्कने बेला सलोजाले एउटा खुत्रुके किनेर ल्याइन्। अनि कागजमा हजुरआमाको नाममा 'पुण्यश्वरी स्मृति कोष' लेखेर टाँसिन् र भान्छामा गइन्।

'बुबा, मैले त खुत्रुके पनि किनेर ल्याएँ,' खुत्रुके देखाउँदै सलोजाले भनिन्। बुबाले त्यसमा टाँसिएको अक्षर पढे। अनि खल्तीबाट पाँच सयको नोट निकाले र खुत्रुकेमा खसाल्दै भने, 'ल मेरोतर्फबाट आमाको नाममा गाउँको पुस्तकालयमा पुस्तक किन्न पाँच सय रुपैयाँ।'
आमाले पनि पटुकाबाट थैली निकालिन् र 'मेरो तर्फबाट' भन्दै दुई सय रुपैयाँ खसालिन्। भर्खरै आइपुगेको भाइले पनि पाँच रुपैयाँ खसाल्यो। त्यसपछि सलोजाले आफ्नो खाजा खर्चबाट जोगाएर राखेको पचास रुपैयाँ खसालिन्।

सलोजाको कार्यप्रति खुसी व्यक्त गर्दै बुबाले भने, 'छोरीले धेरै राम्रो काम गरेकी छिन्। अब यसरी नै भएको बेला खुत्रुकेमा पैसा जम्मा गर्दै जानुपर्छ। अनि आमाको पुण्यतिथिका दिन खुत्रुके फुटाएर जम्मा भएको पैसा पुस्तकालयलाई पुस्तक किन्नका लागि हस्तान्तरण गर्नुपर्छ।'
'हजुरआमाको नाम पनि रहने, हामीले पनि पढ्न पाउने। आहा, क्या राम्रो काम!' सलोजा खुसीले उफ्रिइन्।
यतिन्जेलमा आमाले खाना पकाइसकेकी थिइन्। भनिन्, 'ल ल अब यो खुसीको उपलक्ष्यमा खाना खाऔं।'
रोहनले सोध्यो, 'आज के पकाउनुभएको छ आमा?'

'के हुनु नि, त्यही हिजो–अस्ति जे पकाएको थिएँ त्यही।' आमाले हाँस्दै भनिन्।
'ह्या! फेरि त्यही,' रोहनले ठुस्कँदै भन्यो।
'होइन। अब श्राद्ध गर्न नपरेपछि चामल पनि चाहिएन। त्यसैले आज त भात र मासु पकाएकी छु,' आमाले हाँस्दै भनिन्।
'ए हो र? अघिदेखि कहाँबाट मासुको मिठो बास्ना आयो भनेको त आफ्नै घरबाट पो रहेछ। आज त टन्न खाना खाइन्छ,' रोहनले खुसी हुँदै भन्यो।
रोहनको कुरा सुनेर सबै जना गललल हाँसे। त्यसपछि खुसी हुँदै खाना खान गए।

No comments:

Post a Comment