Tuesday, June 30, 2015

विमोचन


शिवराज योगी






पत्रपत्रिका, रेडियो, टिभी र अनलाइनमा जताततै शिशिर उपस्थित हुन्थ्यो। बाटो–बाटोमा, चोक–चोकमा बधाई र प्रशंसाको कमी थिएन। शिशिरको सिर्जना जति झाँगिदै थियो, त्यति नै परिस्कृत बन्दै गयो।


मुलुकभर ऊ परिचित भइसकेको थियो। शिशिरको रचनालाई लिएर हुने बहस र प्रशंसाले सुधा औधी प्रफुल्ल हुन्थी। अगाध घमण्ड जाग्थ्यो, उसमा। किनकि सुधा पहिलो स्रोता थिई, शिशिरकी। नौलो रचना सिर्जना हुनासाथ शिशिर फोनमै सुनाउँथ्यो। यो क्रम कहिलेकाहीँ घन्टांै चल्थ्यो। नयाँ रचनाको पहिलो स्रोता भएपछि सुधाको एउटै प्रतिक्रिया हुन्थ्यो, ‘के हो के— यस्तो गजब! म तृप्त भएँ, आभार हजुरलाई।'
शिशिरले सुधालाई साहित्य पारखी बनाइसकेको थियो। उसलाई मिठो खान, लाउनभन्दा साहित्यपानमा बढी उत्सुकता हुन थालेको थियो। ऊ साहित्यप्रति समर्पित भइसकेकी थिई। यसो भनौं, ऊ साहित्यमा लीन हुन्थी। भौतिक रूपमा शिशिर टाढा हुँदा पनि सुधा साहित्यमै शिशिरलाई अनुभूत गर्न थालेकी थिई। सहरमा अनेक साहित्यिक कार्यक्रम हुन्थे। सुधा प्रायः कार्यक्रममा नछुटाई उपस्थिति जनाउँथी। शिशिरले नै उसलाई सरिक बनाउँथ्यो। सुधा उत्सुकतापूर्वक उसको पछि लाग्थी। दसैंको पूर्वसन्ध्यामा त उनीहरुलाई भ्याइनभ्याई जस्तै हुन्थ्यो।
कार्यक्रममा सरिक हुन आग्रह गर्दा शिशिरसँग जिस्कँदै भन्थी, ‘मैले सुनिसकेको जुठो साहित्य सुनाउनस् न अरूलाई! म नआए कुन पहाड खस्छ र?' ऊ नआउने संकेत गर्थी।
‘फेरि नयाँ रचना सुन्ने आशा मारेकी भए नआए हुन्छ!' शिशिरले यस्तै प्रतिक्रिया दिइहाल्थ्यो।
ऊ बुरुक्क उफ्रन्थी र भन्थी, ‘होलान् नि अरू नै!'
‘हो लाटी! पाठक औधी छन्। स्रोता एउटै। र, त्यो तिमी हौ।'
‘मबाहेक त्यो सौभाग्य पाउँछ पो कसले र!' सुधा घमण्डले फुरुङ्ग हुन्थी।
समयको लामो कालखण्ड पार हुँदै गयो। समयको मझधारमा सागरसँग हेलिँदा हेलिँदै सुधा साहित्यपारखी बनिसकेको उसैलाई पत्तो थिएन। सहरको कुनै पनि सन्दर्भमा साहित्यिक गोष्ठी हुनुहुँदैन, सुधालाई निमन्त्रणा पत्र नछुटाई पुग्ने भएको छ, अचेल। कहिलेकाहीँ ऊ शिशिरलाई भन्ने गर्थी, ‘आफू त डुब्नु भो डुब्नु भो, मलाई पनि चुर्लुम्म पार्नुभएछ।
...
मोती जयन्तीको अवसरमा सहरमा भव्य साहित्यिक महोत्सव हुने भएको छ। अचेल शिशिरका रचना केही कम देखिन थालेका छन्, पत्रपत्रिकामा। शिशिरले सहर छोडेर बाहिरिएको केही समय भएको छ। जाँदा भनेको थियो, ‘म नआइपुग्न सक्छु, मोती जयन्तीमा।'
उसको गजबको बानी थियो। जाँदा ठ्याक्कै ठाउँ–ठेगाना नभन्ने। शिशिर दुर्गममा जानुपर्दा वा लामो समय बाहिर बस्नुपर्दा अडियो क्यासेटको सहारा लिन्थ्यो, सुधालाई सम्झन। अझै गाउँ–गाउँमा सहरको जस्तो टेलिफोनको विस्तार भएको छैन। ऊ आफ्ना रचना आफ्नै आवाजमा रेकर्ड गरेर पठाउँथ्यो सुधाका निम्ति।
सुधा ती सबै सम्झना साहित्यिक कोसेलीहरू भक्कानिएर सुन्थी। अबेर रातिसम्म। अक्षरमा उतारेर शिशिर सहर आउँदासम्म पत्रपत्रिकामा प्रकाशन गरिदिन्थी।
‘मोती जयन्तीमा यहाँको उपस्थिति प्रार्थनीय छ,' लेखिएको पत्र सुधाको हातमा पर्छ। पत्रमा लेखिएको थियो, ‘गजलकार सन्दीपको गजल संग्रहको भव्य विमोचन।' गजल अर्थात् शिशिरको अर्को नामजस्तै थियो सुधाका लागि। पत्र हात पर्नेबित्तिकै सुधा भावविभोर हुन्छे। ‘शिशिर हुनुहुन्न, के थाहा! राति नै पो आइपुग्नुभयो कि?' सुधा मनमनै आशाको खेती गर्दै आफूलाई प्रोत्साहन दिन्छे, ‘नआइपुगेको भए पनि कतै न कतै, कुनै न कुनैको सिर्जनामा झल्कनु पो हुन्छ कि!'
सुधा एकाबिहानै उठेर कोरीबाटी गर्छे। उसका पाइला पहिलेजस्तै उत्सुक नभए पनि हतार भने उस्तै छ। ऊ शिशिरले नै लगाइदिएको बानीबाट जोगिन सक्दिन। ऊ कार्यक्रमस्थल पुग्छे। सिँगारिएको वाचनालय, झकिझकाउ कार्यक्रम स्थल, भरिभराउ मास र मेहफिल! सम्भवतः सहरमा यति भव्य कार्यक्रम पहिलोपटक हुँदै थियो सायद। झोला र डायरीधारी साहित्यकारको क्रमभंग भएको छ। आज सुटमा सुसज्जित कवि लेखकहरू पनि उपस्थित छन्। दर्जनौ नयाँ अनुहारको उपस्थिति छ। आगनभरि पजेरो र मोटरसाइकल भरिएका छन्। सधैंका भन्दा कहीँ अर्कैस्थलमा पुगेझैं भएको छ, सुधालाई। ऊ असमञ्जसमा परी।
सुधाका नजरहरू चारैतिर घुम्न थाल्छन्। बाक्लो भिडमा आफन्त खोजिरहेको बालकझैं बन्छे ऊ। उसका निर्दोष आँखाले उसको पहिलो प्रेरणास्रोत अनि पहिलो सिर्जना–वाचक खोजिरहेको छ। सुधाका लागि हरेक दिन नौलो सिर्जना सुनाउने सर्जक देखिँदैन, त्यो मान्छेहरूको माझमा। त्यहाँ केवल भव्यता देखिन्छ। नयाँपन भेटिन्छ। सम्पन्नता झल्किन्छ। ऊ त्यो भव्य स्टेजमा शिशिरले सिर्जना वाचन गरेको परिकल्पना गर्छे। सुधा झनै झस्कन्छे। उसको अनुहार फुङ्ग उडेझैं देखिन्छ। मुखाकृतिमा फिकापन छाउँछ।
...
कार्यक्रम सुरु हुन्छ। उद्घाटनको नियमितता सकिन्छ। शिशिर अझै आइपुग्दैन। मुलुकमै स्थापित साहित्यकारबाट गजलको भव्य विमोचन गरिन्छ। देशका विभिन्न कुनाबाट आइपुगेका सर्जकहरूले रचना वाचन गर्छन्। सुधा दर्शकदीर्घाको पछाडि कुनामा बसेकी छे। विमोचित कृति पूरापूर उपस्थित २५ सय साहित्यकार, साहित्यानुरागीका हातहातमा पुर्यायइँदै छ। कुनै दस्तुरको अपेक्षा गरिँदैन। आजसम्म प्रकाशित र विमोचित कृति न त पाँच सयभन्दा बढी छापिएका थिए, न त हलमा त्यत्रो संख्या उपस्थित हुन्थ्यो।
गजबको कृतिकार! साच्चै उत्कृष्ट हुनुपर्छ यो कृति। हतोहात हजारौं प्रति बेचिने अपेक्षा र विश्वासले नै त्यसो गरिएको हुनुपर्छ।
विमोचित कृतिमाथि टिप्पणी, समीक्षाको क्रम सुरु भयो। एक जना वरिष्ठ समीक्षक भन्दै थिए, ‘सन्दीपले एकाएक आफूलाई बाहिर्याकएका छन्। जसका रचना पढ्दै जाँदा उनीदेखि आरिस हुन्छ। जलन भएर आउँछ। औडाहा हुन्छ कि मैले यस्तो किन लेख्न भ्याइनँ भनेर।'
साँच्चै भाव, लय, विषय, शब्द छनोट, शब्द संयोजमा र भावुकताले ओतप्रोत छ, संग्रह। टिप्पणीकार संग्रहबाट दुई शेर गजल वाचन गर्न पुग्छन्—
दियौ अनौठो याद बाँकी छ
दिन ढलिसक्यो रात बाँकी छ
घमाइलो उहिल्यै लुक्यो बादलमा
अब त केवल बर्सात बाँकी छ।
कुनापट्टि बसेकी सुधा जुरुक्क उचाल्लिई। एकाएक छाँगाबाट खसेझैं भई। उसका कान खरायोका झैं ठाडा भए। ऊ रनभुल्लमा परी। हत्तारिँदै विमोचित कृति बाँडिरहेको युवकछेउ पुगी। कृति मागी। पुनः पुरानै ठाउँनेर हान्निई। थचक्क मेचमा बसी। सुधालाई देख्दा लाग्थ्यो— कुनै आँधीबेहरी आइरहेको छ, उसको भित्री संसारमा।
टिप्पणीकारले उच्चारण गरेका शेर उसका लागि नौला थिएनन्। र, ती बिराना पनि थिएनन्। ती अक्षर–अक्षरसँग ऊ उहिल्यै परिचित थिई। उहिल्यै उसको अन्तस्करणमा ती शब्दहरू उनिएर बसेका थिए। रुवामा पानी भिजेझैं ती शेरहरू उसको दिलमा बसेका थिए।
महोत्सवस्थलमा एकाएक अनानको प्रवेश हुन्छ। सुधा उत्सुक हुन्छे। केही राहत महसुस गर्छे। आँखा उठाएर बाहिर हेर्छे। किनकि अनान शिशिरको पुरानो र मिल्ने साथी हो। सम्भवतः सुधा नारी भएकाले अझ प्रिय होली तर अनान पनि कम प्रिय छैन शिशिरका लागि। अनान भएको स्थानमा शिशिर, शिशिर भएको ठाउँमा अनानको उपस्थिति सिक्काको दुई पाटाझैं दशकदेखि हुँदै आएको सुधाले अजमाएकी छे। अनानको हातमा एकापट्टि केही कोरिएको सानो चिट देखिन्छ। अनान कतै आँखा नडुलाई स्टेजमा पुग्छ। सञ्चालकसँग केही कानेखुसी गर्छ।
शिशिर नासही! अनानकै भए पनि रचना सुन्नमा सबै उत्सुक देखिन्छन्। सुधा पनि शिशिरको याद अनानको गजलमा मेटाउन चाहन्छे। सुधालाई यति बेला पनि विमोचित कृतिको त्यही एक अंश जगलले चिमोटिरहेको छ। पिरोलिरहेको छ।
अनान रोस्ट्रममा उभिन्छ। माइक आफूतिर तानेर बोल्न खोज्छ। उसको आँखा पर छेउमा बसेकी सुधाको आँखामा ठोक्किन्छ। उसको आँखामा अपनत्व छैन। तेजस्वी बन्दैन अनुहार। केही अनकनाउँछ माइकमा। हुन सक्छ— अनानको गजल पनि शिशिरको जस्तै भावुकताको अन्तिम हद पार गरेको होस्।
अनान भावुक र रुग्ण आवाजमा बोल्छ, ‘आज बडो दुःखका साथ मैले स्टेजमा अप्रिय खबर पस्कनुपरेको छ। त्यो पनि आफ्नै सहृदयी, समकक्षी मित्रको...।'
सारा मेहफिल एकाएक तेल सकिन थालेको दियोजस्तै बन्छ। स्तब्धता छाउँछ। शून्यतामा हराउँछ। निःशब्द बन्छ माहोल। अनानका आँखा रसाउन थाल्छ। लाग्थ्यो— कुनै वियोगान्त नाटकको अन्तिम दृश्यमा छ ऊ। अनान सकसका साथ यथार्थ ओकल्न समर्थ हुन्छ, ‘यस क्षेत्रका सहृदयी, भावुक र प्रख्यात गजलकार, मेरा सहृदयी साथी शिशिर जीवनको कठिनद्वारनेर उभिएका छन्। उनलाई छ प्वाइन्छ रगत चाहिएको छ। कुनै उदारमना...।'
अनान वाक्यलाई पूर्णता नदिएरै स्टेजबाट बाहिरिन्छ। सुधामा छाएको स्तब्धता आँखैअगाडि रात परेझैं भयो। उसले टेकेको जमिन भासिएझैं भयो। पिङझैं वरपरको संसार घुम्न थाल्यो।
...
एकाएक सुधा अस्पतालको ढोकामा ठोकिन पुगी। रक्ताम्य निधार भएकी सुधालाई अनानले सम्हाल्दै १०७ नम्बर कोठामा लग्यो। विमोचित कृतिभरि रगत लतपतिएको छ। बिस्तारै सुधा होसमा आई। आँखा खोलेर हेर्दा दुई बेडको बीचमा राखिएको स्टुलमा अनान घोप्टिरहेको थियो। सुधाले बिस्तारै हात पसारी। अनान बिउँझियो। दुवै बेड नजिक पारिदियो। सुधाले एकनासले शिशिरलाई हेरी र बरबर्ती आँसु झारिरही। अनानले शिशिरको कोल्टो परेको टाउको सिधा पारिदियो। शिशिरको आँखा सुधाको आँखासँग पर्दानपर्दै रसाउन थाले। उसको आँखामा एकनासले साउन उर्लिरह्यो। शिशिरको मन मडारिएर आयो। ऊ चिच्याएर रुन चाहन्थ्यो सायद, आवाज सुनिएन। शिशिरका हातलाई घन्टौंसम्म सुधाको निधार सुमसुम्याउन मन थियो। हात उठ्न सकेनन्। अनानको मन पनि मडारिएर आँखाबाट बग्न थाल्यो। कठोरताले आँसु च्यापेर अनानले सुधाको निधारमा शिशिरको हात राखिदियो।
सुधाले विमोचित कृति लुकाउने प्रयत्न गरी। शिशिरको अवस्था दिनदिनै खस्कँदै गयो। ‘अनान दाइ, के भएको उहाँलाई?' सुधाले प्रश्न गरी। अनान भक्कानियो। उसले ठूलो साहस जोडेर भन्यो, ‘एउटा सर्जकको अवसान भएको हो बैनी, एउटा कृतिकारको देहान्त हो यो!'
शिशिर थला परेको दिनयता उसलाई भेट्ने तेस्रो व्यक्ति सुधामात्रै थिई। उसको अगाडि लाम लागेर सिर्जना सुन्ने कुनै अनुहार उपस्थित भएन। बाटोभरि नमस्कार गर्ने, बधाई दिने कुनै पात्र दुःख बाँड्न आएनन्। शिशिरलाई हृदयाघात भएको छ। उसलाई व्याथाले झन् च्याप्दै लगेको छ।
ऊ मोती जयन्तीमा उपस्थित हुन नसक्ने सन्देश सुधालाई दिएर गाउँ पसेको थियो। एक टुक्रा कागजको पैसाको अभावले उसले आफ्नी आदर्शकी बत्ती गुमाउनुपरेछ। उसले जीवनका लागि कुनै धनाढ्यलाई सम्पूर्ण साहित्यिक सिर्जनाको सौदा गरेछ। जुन घन्टौंसम्म सुधालाई सुनाउँथ्यो ती सबै रचनाको मोलमोलाई भएछ। उसले ती सबै पाण्डुलिपि सन्दीपलाई बेचेछ। अन्ततः जीवनको आदर्शकी प्रतिमूर्तिले सदाका लागि जीवनको किनाराबाट बिदा लिइछन्। जहाँ जीवनले पहिलोपटक पाइला टेकेको थियो। हत्केलाले जमिन छोएको थियो। आँखाले आसमान नियालेको थियो र कलमले अक्षर कोरेको थियो— त्यो सबै बैंकले लिलामी गरेछ।
शिशिरले करुण स्वरमा भन्यो, ‘सुधा समयले अन्ततः मेरो गजलभन्दा भावुकता मलाई भोगाएर गयो। अझै दारुणता दिएर गयो। कटक्क पीडा पिलाएर गयो। जसको मात मैले सहन गर्न सकिनँ लाटी! यसले मलाई नउत्रने गरी मात थपेर गएको छ। आदर्श गुम्यो। माटो खोसियो। त्यो सबै बचाउने दाउमा तिम्रो पहिलो अधिकार स्थापित भएको सबै सिर्जनासँगै आफ्नो स्वाभिमान बेचेँ। मैले गजल बेचेँ। आस्था बेचेँ। तिम्रो खुसी कोरिएका सबै शब्दब्रह्म बेचेँ। जुन यो हृदयले सहन सकेन। पीर नगर्नु...। अर्को जुनीमा भए पनि म तिमीलाई यस्तैगरी रचना सुनाउनेछु। तिम्रा लागि सिर्जना कोर्नेछु।
तिमी हेर्नु जुनमाझ माथि त्यहीँ हुन्छु म त
त्यहीँ बसी जुनको छेउ, तिम्रो मन चुम्छु म त।'
एकाएक सुधाले शिशिरको मुख थुनिदिई। ऊ शिशिरको छातीमा घोप्टिएर आँसु बगाइरही।

No comments:

Post a Comment