नेपाली कमल
नयाँ सडकको पीपलबोट। नेपालको जिउँदो इतिहास। सुस्ताउँदै पत्रिका हेर्नेहरू छन्। भुइँमा र बारमा समेत टनाटन छन्, पत्रपत्रिका र साहित्यिक पुस्तकहरू। बास्ना नै साहित्यको आइरहेछ। बारमा झुन्डिइरहेको 'शिरीषको फूल'ले मलाई सुयोगवीर र शिवराज सम्झायो।
ती दुई साथी झम्केझोलमा पौडिएर साँझसाँझ यही बाटो बाँकाटे हान्दै हिन्थे रे।
एउटा पत्रिका तानेँ। दैनिक पत्रिका। समाचारहरू उस्तै छन्। राजनीतिक अस्थिरता नै हाम्रो दैलोमा आउँछ सधैं ताजा समाचार बनेर। त्यसैले आजकल मेरा आँखाले मनोरन्जन खोज्छन्— फिल्मी खबर, खेलकुद इत्यादि।
थकान पीपलबोटमै टक्टक्याएर म निस्केँ। गेटबाट बाहिर के निस्केको थिएँ, जम्काभेट भयो एउटा भूतपूर्वसँग। भूतपूर्वका आँखा मेरा आँखामा अडिए। मेरा आँखा भूतपूर्वका आँखामा। मेरो मनमुटु हल्लाउँदै अगाडि ठिङ्ङ उभियो सिंगो दस वर्ष। जिम्दो लास बनेर छातीभरि बसेका ती दिनहरू।
...
ऊ स्कुल छुटेर फर्किंदै थिई। आकाशे रङको बाँकाटे कमिज। नीलो फ्रक। कालो ड्याम। सेतो जुराफ। नीलोमा छड्के सेतो धर्का भएको टाई। घोडाको पुच्छरजस्तो कपालको झुप्पा। एउटा घोर्ले तरुनीको ज्यान त्यसै पनि खिरिलो हुन्छ, रसिलो हुन्छ निबुवाजस्तो। मेरो मुख रसाइसकेको थियो। ओठमा एक चरण जिब्रो घुमाएर घुटुक्क निलेँ थुक। यसरी निलेको थुक त पोषिलो पो हुन्छ होला!
सोधेँ, 'कुन स्कुलमा पढ्चौ?' मैले चाल पाइसकेको थिएँ उसले पढ्ने स्कुल। हाम्रा आदिकविको नाम भएको स्कुल। उसले स्कुलको नाम भनी। मैले पनि भर्खरै मात्र थाहा पाएको झैं गरेँ।
'तिम्लाई मन पर्ने विषय कुन हो?' मैले सोधेँ।
'भूगोल।'
जवाफसँगै सवाल पनि टक्य्राएकी थिई, 'आफूलाई नि?'
मलाई त उसकै भूगोल मन परेको हो तर भनेँ, 'नेपाली।' मेरो नागरिकता नेपाली, मेरो राष्ट्रियता नेपाली, मेरो जात नेपाली र मलाई मन पर्ने विषय पनि नेपाली। नेपालीमय मान्छे म त।
...
खडेरीले डेरा सर्योर एक वर्षलाई। त्यो खालीमा आयो बर्सात्। असार र साउन हरिया महिना। यही हरियोबीच एउटा फोन आयो। फोन उठाउने साथीले भने, 'क्या हो कमलजी, छप्कीको फोन आउन थाल्यो नि।'
नौलो शब्द सुनेँ छप्की। ऊ छप्की भए सायद म छप्का। फोन गर्ने उही हो भन्नेमा म ढुक्क थिएँ। कारण मलाई फोन गर्ने केटी ऊ एउटै थिई।
उसले हरियै कुरा गरी। फुर्सद भएको कुरा। स्कुल छुट्टी भएको दिन। यस्तै छुट्टीका दिनहरूमा भेट्ने मेसो मिलाउँथी ऊ। हेर्दाहेर्दै हामी छिप्पिइसकेका थियौं भेटघाटमा। उसलाई जुन दिन मिल्ने भयो उही दिन मलाई पनि मिल्न थाल्यो। मिल्न थाल्यो होइन मिलाएँ। क्याम्पस बंक गरेर मिलाएँ। अरू कामहरू बिताएर पनि मिलाएँ।
म उसलाई भिन्दै देख्दै छु। उसको पहिरन भिन्दै छ। हरियो–रातो–पहेँलो रंगले सजिएको कुर्ती। त्यो कुर्तीभित्र छे ऊ। फूलजस्ती। फुलजस्ती होइन, सिंगै बगैंचाजस्ती। कारण ऊ इन्द्रेणीजस्तै देखिएकी छ। नाडीभरि हरिया चुरा छन्। हत्केलामा मेहेन्दी।
'दुलैजस्ती देखियौ है,' मैले भनेँ।
'पैलाचाइँ नानीको आमाजस्तो देखिन्तेँ र?' उसले जस्तालाई त्यस्तै गरी।
'झरिझुट्ट भाछौ अनि त,' मैले नबांगिई भनेँ।
'था छैन आज कुन दिन हो?'
यस प्रश्नको जवाफ मैले मुन्टैले दिएँ।
उसले भनी, 'था पाउन पर्दैन त?' मानौं मैले हरेक दिन के पर्छ थाहा पाउनुपर्छ। त्यसका लागि पात्रो नै बोकेर हिँड्नुपर्छ।
उसैले थपी, 'आज साउने सोमबार हो नि।'
साउने सोमबार भएर के भयो त? हाम्रो गाउँघरमा त के सोमबार, के मंगलबार यसरी हरियै हुनुपर्छ भन्ने थाहा थिएन।
'अनि के भो त?' मैले सोधेँ।
उसले मुख बङ्ग्याउँदै भनी, 'इः आफ्ना त यस्ता छन्।' 'आफ्ना' शब्दमा मैले आफूलाई हुनेवाला श्रीमान् कमल देखेँ। न्यायाधीश होइन पति कमल।
नयाँ ठाउँ जाने भनेर भक्तपुर लागियो, घुम्ने ठाउँचाहिँ कहाँ हो भन्ने पत्तै भएन। गाडीबाट ओर्लेर फाँटतिर पो गइयो। माया पसाइरहेको बेला भीडभाडबाट पर गएकै राम्रो। हामी गयौं धानझैं बयली खेल्दै।
फर्किन बस चढ्नुअघि मैले प्रस्ताव राखेँ। खाजाको प्रस्ताव। तर प्रस्ताव खेर गयो। उसको त आज 'वर्त' पो रे। बिचरी बिहानैदेखि भोकभोकै छे। मलाई टिठ लाग्यो।
'किन बस्न पर्यो नि वर्त?'
'इः आफ्ना त यस्ता छन्,' अघिकै डायलड दोहोर्या ई उसले। गुनासो मिसिएको डायलग।
'तीजको जस्तै हो कि क्या हो?'
'अनि के त!'
तीजको व्रतले पतिको आयु लामो हुन्छ कि हुँदैन? पत्नीको लागि चाहिँ व्रत बस्नु नपर्ने किन? मलाई यी प्रश्नले सोधे। ब्राह्मणवादले नारीलाई दासता नै स्वीकार्ने बनाएको छ। दासताको लत लगाइदिएको छ। यही भयो यी प्रश्नलाई जवाफ।
'शिवजस्तै पोइ पाऊँ भन्यौ कि क्या हो गोमा ब्राह्मणी?' म इत्रिएँ।
'अनि के त?'
'गाँजाभाङ खानुपर्योभ मैले त्यसो भए?'
उसले ढुक्कै भनी, 'आफ्नै मर्जी!'
मन परेको मान्छेले जे गरे पनि ठिकै लाग्छ भनेको हो रहेछ कि क्या हो भन्ने लाग्यो।
'अनि मसानमा पनि सुत्ने कि खरानी घसेर?'
'आफ्नै मर्जी!' उसले मप्रतिको समर्पणभाव काँचले जस्तै देखाइदिई।
उसँगै म पनि भोकै बसेको देखेर होला उसले भनी, 'खाजा खानू के। मेरो पो वर्त भयो त।'
'खान्न। म नि वर्त बस्चु। तिम्रो लागि।'
'खूपै!' उसले ओठ लेप्र्या'ई। तर उसको मुहारभरि रगरगाइरहेको देखिन्थ्यो मक्ख पराइ। ऊ भोकभोकै छे। मेरो लागि व्रतमा छे। म पनि आधी व्रत बसेँ भनौं। खाजा खाइन नि त।
मैले पछि साउने सोमबार, हरिया चुरा र मेहेन्दीको बारेमा खोजी गरेँ। कुनै पनि कुराबारे जान्न कारण चाहिने रहेछ। ऊ कारण भएर आई। मैले उत्खनन् गरेँ रहस्यको गर्भ। म दंग परेँ। बेस्सरी सोचेँ। मजा मानीमानी सोचेँ। यी सब मेरै लागि त गरेकी रहिछ ठान्दै।
...
कति छिटै बितिसकेछन् वर्षहरू। पीपलबोटमा छु आज। जम्काभेट भएको छ ऊसँग। हिँड्दा–हिँड्दै भेटिएकी ऊ फेरि भेटिई हिँड्दा–हिँड्दै। ठ्याम्मै दस वर्ष भइसकेछ हाम्रो मुख बाराबार भएको।
तर आज भने अचम्मै भयो। ऊ मसँग क्रस भएर गइन। बरु मलाई बोलाई, 'सन्चै हुनुहुन्च?'
एउटा अप्रत्यासित पल। रुनु न हाँस्नुजस्तो। मैले केही भन्नै सकिनँ। सिर्फ उसका आँखामा हेरिरहेँ एकोहोरो। मैले हाम्रो सम्बन्धमा जोड गर्न खोज्दा उसले घटाउ गरेकी थिई। ऊ आज मसँग फेरि के गर्दैछे? ठम्याउन हम्मे पर्यो मलाई।
एक–दुई कुरा भए। ऊ आतुरिइरहेकी थिई। कामबाट एकछिनका लागि मात्रै बाहिर निक्लेको रे। मर्मत गर्न दिएको मोबाइल लिएर आएको भन्दै थिई। मोबाइल फोन हातमै थियो। उसले मेरो फोन नम्बर मागिन। मैले पनि उसको नम्बर मागेर बाधा दिन चाहिनँ। उसले मलाई छिटो बिहे गर्न सम्झाई र हिँडिहाली।
ऊ गएपछि म वाल्ल परेँ। तिवारी पाइसकेपछि पनि उसले यो गोतामेको चिन्ता किन लिएको होला? मैले बुझ्नै सकिनँ।

- http://www.nagariknews.com/nagarik-sanibar/story/13072.html
No comments:
Post a Comment