
डिफिलोसोफी अर्थात् विदर्शन। जसरी पाश्चात्य साहित्य र विचारमा विनिर्माण आयो, अब दर्शनमा आउनुपर्छ– विदर्शन। धेरैलाई यो पद अनौठो लाग्न सक्छ। नयाँ विषय अनौठो लाग्नु, अस्वीकृत हुनु स्वाभाविक हो।
डिफीलोसोफी भनेको दर्शनलाई अस्वीकार गर्नु होइन। दर्शनमा भएको आवश्यक, उपयुक्त कुरा लिनु र अनावश्यक छोड्नु हो। लिइएका कुरा जोडेर नवीनता दिनु हो। समाजमा, पाठकमा मानक, स्वीकार भइसकेको विषय उखेल्नु, घचेट्नु, तन्काउनु साधारण कुरा होइन। साहस, विवेक, तर्कमात्र पर्याप्त हुँदैन। जो कोहीले आँटेर, गरेर हुने कुरा पनि होइन। गरिने भए संसारमा धेरै भइसक्थ्यो। साहित्यमा उफार्ने, उल्टाउने अनेक भए, तर दर्शनमा साहित्यमा जस्तो सस्तो र बग्रेल्ती छैन। किनभने 'टाइम र स्पेस' पनि मिल्नुपर्यो।
जब भयको दृष्टिकोणबाट हामी जीवन र जगत् हेर्न थाल्छौं, तब धेरैजसो सिद्धान्त भयबाट सञ्चालित, निर्देशित, नियन्त्रित भएको पाउँछौं। यही नै हो डिफिलोसोफी।
विश्वका मानक केही फिलोसोफीलाई डिफिलोसोफी गरेपछि सहमत–असहमत तर्क हुन्छ नै। नयाँ विचार पाठकले सजिलै स्वीकार्दैनन्। विरोध हुन्छ, अविश्वास हुन्छ, आरोप लाग्छ, खिल्ली उडाइन्छ। संसारमा नयाँ विचारले यही नियति भोग्नुपरेको थियो। डिफिलोसोफीले पनि निसन्देह यी पहाडहरूको सामना गर्नुपर्छ। संसार नै यसरी चलिरहेको छ– विचारहरूको खापले। कुनै पनि समस्या खोल्न सजिलो र भरपर्दो विचार या उपाय चाहिन्छ। म भयवादको साँचोले फिलोसोफीलाई डिफिलोसोफी गर्ने अनुमति चाहन्छु। यहाँ दर्शनहरूको सानो अंशमात्र डिफिलोसोफी गरिरहेको छु। विस्तृत 'भयवाद' पुस्तकमा आउँछ।
मार्क्सवादको विदर्शन गर्दै एउटा अन्तरवार्तामा भनें, 'वर्गसंघर्ष' हुँदैन, भय संघर्ष हुन्छ। ढुंगेयुग, सिकारी युगबाट मानिसले आफ्नै भयसँग संघर्ष गर्दै आए। यही संघर्षको सिलसिलामा ढुंगाको हतियार बनाए, ओडार, गुफामा बस्न थाले र प्रकृतिलाई ईश्वर मान्न थाले। मानिसलाई जहिले पनि असुरक्षाको भय हुन्छ र सुरक्षित हुन खोज्छ। मानव सभ्यता आदिमकालबाट यसरी नै विकसित हुँदै आयो भयसंघर्षले। समाजमा जहिले पनि आफ्नै वर्गमा बढी संघर्ष हुन्छ– सर्वहारा सर्वहारासित, पँुजीपति पँुजीपतिसित। मजदुर र मालिकको समस्या समाधान गर्न विश्वका सम्पन्न मुलुकले यस्तो निकायको गठन गरेका छन्– जसलाई समस्या पर्छ, सम्बन्धित निकायमा गएपछि समाधान भइहाल्छ। यहाँ मार्क्सवादले भनेजस्तो कहाँ छ सभ्यताको विकास र वर्ग संघर्ष?
अर्को छ; अब्राहम मास्लोको आवश्यकताको सिद्धान्त। त्यसमा भौतिक, सुरक्षा, सामाजिक, आत्मसम्मानको आवश्यकताको व्याख्या छ। यी सबै भयबाट नै सञ्चालित, निर्देशित हुन्छन्। यिनलाई मानिदिने हो भने यी पाँच आवश्यकता पूरा भएका मानिसहरू आनन्द, सुखले बस्नु पर्ने हो। त्यस्तो नभएर विश्वका सबैभन्दा धनी मानिसहरू गाउँले, गरिब मानिसभन्दा बढी कुदिरहेका, भागिरहेका, डराइरहेका भेटिन्छन्। यसको कारण आफूले प्राप्त गरेको इज्जत, धन, नाम खस्किन्छ कि भन्ने भय हो।
आवश्यकताको पाँचौ तहसम्म पुगेको मानिसले अर्को स्थानमा जाँदा फेरि आवश्यकताको पहिलो तहबाट जीवन सुरु गर्नुपर्छ। त्यस्तै देशको आर्थिक, सामाजिक, राजनीतिक उथलपुथल भयो भने फेरि पहिलो आवश्यकताबाट जीवन थाल्नुपर्छ। रसियाजस्तो सम्पन्न मुलुकमा पनि राजनीतिक उथलपुथल हुँदा पाउरोटीको लागि संघर्ष गरेका मानिस भरखरै देखेका छौं। प्रत्येक तहको आवश्यकतामा चरणबद्ध भय हुन्छ। पाँचौ आवश्यकता पूरा भएपछि पनि मानिस शान्त, सुरक्षित बस्न सक्दैन, दौडिरहन्छ। यसको कारण भय हो।
चार्ल्स डार्विनको पुस्तक 'ओरिजिन अफ स्पाइसिस' सन् १८६० मा प्रकाशन भएपछि युरोपको यथास्थितिमाथि आगो लाग्यो। उनले मानिसको जन्मदाता नै फेरिदिए। उसको पुस्तकको महŒवपूर्ण बुँदा बाँच्नको लागि संघर्ष, बाँच्नको लागि उपयुक्ततता र प्राकृतिक छनौट हुन्। उसले भनेजस्तो प्रकृतिले को बाँच्ने, को मर्ने छनौट गर्दैन। प्राणीले आफैं गर्नुपर्छ। पहिले मानिस औलो, टीबी लागेर मर्थे। अहिले औषधी पत्ता लगाइसके। नेपालको मृत्युदर ५७, अमेरिका, जापानको ८५ वर्ष। प्रकृतिको लागि सबै बराबर हो। मानिसले मृत्यु भयले गर्दा नयाँ–नयाँ औषधी, उपाय पत्ता लगाइरहेका छन् र बढी बाँचिरहेका छन्। मानिस आफ्नै छनौटले बाँचेको हो, प्राकृतिक छनौटले होइन।
हाम्रो वरिपरि इष्ट, सम्पत्ति सबै हुन्छ नै। ती सबै नाश हुन्छ कि भन्ने भयले जोगाउन खोज्छौं। बाँच्नको लागि संघर्ष पनि यस्तै हो। मर्ने भयले मानिसले अन्तिम घडीसम्म संघर्ष गर्छन्। जागिर खानु, जागिरमा कर्मचारीसित अनेकौं संघर्ष गर्नु, जालझेल, षड्यन्त्र, शंका सबै आफू बाँचांै भन्ने मनसायले आएको हो। अवसर ज्यादा हुँदा संघर्ष धेरै हुँदैन। अवसर कम हुँदै गएपछि नातावाद, कृपावाद दुनियाँवाद लगाउनुपर्छ। विकसित राष्ट्रमा कामको लागि त्यस्तो वाद लगाउनु पर्दैन। किनभने त्यहाँ अवसर धेरै छन्। तर अल्पविकसित मुलुकमा मरिने, इज्जत जाने, असुरक्षित हुने भयबाट बच्न साम, दाम, दण्ड, भेद लगाउनुपर्छ।
'एन एसे अफ दि प्रिन्सिपल अफ पपुलेसन' यो थोमस माल्थसको सन् १७९८ मा प्रकाशित पुस्तक हो। उनले यसमा खाद्यान्नको वृद्धि अंकगणितीय र जनसंख्याको वृद्धि ज्यामितीय हुन्छ भनेर घोषणा गरेका थिए। यसको वास्तविक अर्थ बढ्दो जनसंख्याले एक दिन संसार ध्वस्त पार्छ भन्ने भय हो। त्यसैले उनले जनसंख्या नियन्त्रण गर्ने सुझाव दिए। त्यतिखेर यो सिद्धान्तको महŒव त्यत्ति भएन। हिजोआज बढी सान्दर्भिक र महŒवपूर्ण भएको छ। विकसित देशका मानिसहरू जनसंख्या बढाउन चाहँदैनन्, त्यसमा धेरै भय जोडिएको हुन्छ। स्त्रीको सौन्दर्य बिग्रिने, आर्थिक समस्या आउने, सन्तानले ठूलो भएर पनि जिम्मेवार नहुने भय।
धेरै विनिर्माण गर्ने सिद्धान्त उत्तरआधुनिक हो। यसको केन्द्रमा अर्थहरूको व्याख्या छ। यसमा धेरै तर्क, विवाद चलिरहेका छन्। भयवाद यस निष्कर्षमा पुगेको छ– सबै अर्थहरू अनुकरणबाट आएका हुँदा रहेछन्। कुनै कालमा कसैले निर्माण गरेको अर्थलाई पुस्तौं–पुस्तादेखि अनुकरण गरिँदै आएको हुँदो रहेछ– जसरी अक्षर, उच्चारण अनुकरण गर्दै ल्याइन्छ, त्यसरी नै अर्थहरू पनि अनुकरण गरिँदै ल्याइँदो रहेछ। प्राकृतिक र मानव निर्मित गरी दुई किसिमले अर्थको निर्माण हुँदो रहेछ। निर्माण भएको अर्थ अनुकरण गर्दै–गर्दै हामीसम्म आइपुग्छ। नानीहरूलाई क अक्षर लेख्न र उच्चारण गर्न सिकाइन्छ। हामीले सिकाएको तरिकाले लेख्न–बोल्न अनुकरण गर्छ। अनि शब्द सिकाइन्छ र अर्थ। त्यो पनि अनुकरण गर्दै ल्याउँछ। उसले जानेको अक्षर, शब्द र अर्थ अरूलाई सिकाउँदै जान्छ। यसरी पुस्तौं–पुस्तामा अर्थको स्थानान्तर हुँदै जाँदो रहेछ।
भयका शब्दहरू पनि यसरी नै आएका हुँदा रहेछन्। भूत भनेको जस्तोसुकै भए पनि हामीले 'डरलाग्दो हो नानी' भनेर सिकाएका हुन्छांै। उसले विश्लेषण नगरी डरलाग्दो भन्ने अर्थको अनुकरण गर्छ। त्यो अनुकरण भएको अर्थ अरूलाई सिकाउँछ। यी अर्थहरू मानिसले केलाएर हेर्दैनन्, भूत के हो? किन डरलाग्दो हो? वास्तवमा धेरै भूत डरलाग्दो नभएर सहयोगी हुन्छन् भन्ने पनि हामी कथा, किंवदन्तीमा पढ्छौं। परन्तु हामीले अनुकरण गरेको अर्थमा भूतको अर्थ यसरी सुनेको, बुझेको, जानेको हुँदैनौ; त्यसैले भूत असल भन्ने अर्थमा कहिल्यै लिएका छैनौ। मार्क्सवाद, अस्तित्ववाद, माओवाद, धर्म, रीतिरिवाज, महाआख्यान सबैको अर्थ पढिने, बुझिने, सुनिने र अन्त्यमा अनुकरण गरिरहने रहेछ। कसैले संशोधन गर्न खोज्यो अर्थमा भने उसको नयाँ न्वारन सुरु हुन्छ 'नव'। त्यसैले डेरिडा, कान्ट, लकाँनहरूले अर्थ उल्टिन्छ, पर पर सर्छ, वायोनरी अप्पोजिसन हुन्छ भने पनि मूल अर्थ अनुकरणबाट आएको हुन्छ। अर्थमात्र होइन मानिसको बोली, व्यवहार, दाह्री पाल्ने, उस्तै गाउने, बजाउने, खेल्ने सबै अनुकरण गरिँदा रहेछन्। पाफ्लोपको प्रवृत्तिवाद र ज्याक लकाँनको ऐना प्रकरण यस्तै हो।
रुसी वैज्ञानिक पेत्रोविच् पावलोफ्ले कुकुरमा प्रयोग गरेका थिए, प्रवृत्तिवाद। धेरै दिनसम्म बत्ती बाल्दै खानेकुरा दिएपछि बत्ती बाल्नासाथ कुकुरको मुखमा र्याल आउने भयो। अनि फेरि बत्ती बालेर खानेकुरा दिन छोड्दै लगेपछि र्याल आउन बन्द भयो। एकपटक इन्द्रबहादुर राईसित यसबारे कुरा भयो। भन्नुभयो, 'यो सिद्धान्त विज्ञानले असफल घोषित गरिसकेको छ।' मलाई त्यस्तो लागेन। सधैं कसैले हामीलाई सहयोग दिन्छ, राम्रो कुरा गर्छ भने हाम्रा इन्द्रियहरू स्वचालित रूपमा त्यही पाउन तयार हुन्छन्। तर कसैले नराम्रो गर्छ, कुरा काट्छ भने इन्द्रियहरू स्वचालित रूपमा सतर्क हुन्छन्। हामीले सधैं सुत्ने बिस्तारा जति नै मैलो, पुरानो भए पनि निद्रा आउँछ। सुनकै बिस्तारा भए पनि नयाँ भए इन्द्रियहरूले स्वीकार्न समय लाग्छ। स्वीकार्नु भनेको प्रवृत्ति हो। अर्थहरू, बुझाइहरू पनि यसरी नै आएका हुन्छन्।
डिफिलोसोफी धेरै हुन सक्छ। किनभने भयले धेरै सिद्धान्त, व्यवहार, आविष्कार जन्माएको छ। तर हामी स्विकारिइरहेका छैैनौं। जस्तैः बिमा, अस्पताल, वारुणयन्त्र, सरकार, कानुन, संविधान, प्रहरी, सेना, अदालत सबै भय कम गर्न स्थापना गरिएका हुन्छन्। यसको नाम बेग्लै हुन सक्छ। जब भयको दृष्टिकोणबाट हामी जीवन र जगत् हेर्न थाल्छौं, तब धेरैजसो सिद्धान्त भयबाट सञ्चालित, निर्देशित, नियन्त्रित भएको पाउँछौं। यही नै हो डिफिलोसोफी।
- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/885.html#sthash.htfLmq8f.dpuf
No comments:
Post a Comment