Tuesday, June 30, 2015

संकटमा पद्य



नवराज लम्साल


'शब्द थुपारीकन के हुन्छ? भाव भए पो कविता हुन्छ।' कविताका सन्दर्भमा सधैं प्रयोग हुने यो कवितात्मक वाक्य। कविता के हो– भाव हो कि शिल्प? विचार हो कि कला? या सबै हो? नेपाली सन्दर्भमा पनि यो प्रश्न सधैं उठ्ने गर्छ। वर्ण–मात्रा गनेर, निश्चित गति, यति र लय पछ्याएर लेखिने शैली पद्य र यस्ता सीमाबाट मुक्त भएर लेख्ने गद्य शैली कुन ठीक–बेठीक भन्ने हिजैदेखिको बहस आज पनि जारी छ। छन्दमा कसैले लेख्यो भने त्यो छन्दे कवि कसैले गद्यमा लेख्यो भने त्यो काव्य सौन्दर्य नबुझेको नारावादी, यी बेतुकका तर्कले विभक्त गरेको छ नेपाली कवि समाजलाई तर गद्यको गमकका सामु निरीह बन्दै गएको मानिँदैछ छन्द लेखनलाई।


केहीले छन्दलाई गायत्री सम्झे र कविता लेख्नभन्दा छन्द–छन्द भन्नमै समय खेर फाले। तिनलाई न समय–स्वरको वास्ता भयो, न समाज र परिवर्तनको हेक्का। लेखेर हुने हो कविता, कविताले बनाउने हो कवि। छन्दमात्रै राम्रो भन्नेले छन्दमा लेख्नुपर्छ र तान्नुपर्छ पाठकीय चेतना। 'बरु मासलाई मस भन छन्द नबिगार' भन्ने झुसे अर्तीले कुनै अभियान पूरा हुँदैन।
नेपाली कविताको प्रारम्भ र छन्द

नेपाली कविताको प्रारम्भ छन्दबाटै भएको पाइन्छ। धार्मिक ग्रन्थ र संस्कृत भाषाको प्रभाव र लयप्रधान काव्य प्रवाह प्रतिको जनताको श्रुतिमोहको जमाना। प्रारम्भमा कि कविता संस्कृतमा लेखिए, कि अनुवाद भए संस्कृतबाट नेपाली भाषामा। ज्ञानगुनका कुरा, भजन, सिलोक तथा कृष्णचरित्र र रामायण वाचनको प्रचलन। अपठित आमाहरूले समेत जाँतो पिँध्दै र ढिकी कुट्दै गर्दा सुललित स्वरमा गरेको श्रुतिमधु गायन। यी प्रभाव र प्रेरणाले मौलिक लेखनलाई पनि प्रभाव पार्यो्। नेपाली साहित्यको प्राथमिक कालदेखि माध्यमिक काल र आधुनिक कालसम्मका साहित्यिक महारथिहरूले समेत छन्दकै बाटो अपनाए। भानुभक्त आचार्यको रामायण जनजनको वाचनको मानक बन्यो। रामायण लेखिनुअघि नै यदुनाथ पोखरेलले लेखे–

गोरा त शूरा दुइएक हुन्छन्

गोर्खामहाँ काँतर आज कुन् छन्?

गारन् डराई पनि चिट्ठि लेख्यो

नेपालका वीर सिपाही देख्यो।

भानुभक्त आफैंले लेखे–

'कि ता सक्तिनँ भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि

भोली भोली हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली।'

यी हरफहरू नेपाली कविताका प्रारम्भिक कालकै हुन्। माध्यमिककालीन स्रष्टा मोतीराम भट्टदेखि शम्भुप्रसाद ढुंगेललगायत स्रष्टाहरू छन्दमै चुर्लुम्म डुबे। त्यतिखेर लामो भाकामा सिलोक चल्थ्यो, गजल हुन्थ्यो, भजन गुन्जन्थ्यो र खाँडो जगाइन्थ्यो। लय चेतनामा सामाजिकता र व्यंग्यविनोद, शृंगार र सौन्दर्य, वीरता र प्रकृतिप्रेम सबै थिए। अखण्ड नेपाल सुगौली सन्धिमा बाँधिएपछि ढुंगेलले लेखे–

'अनाथ कविवर्गको भयि सनाथ बस्तामहाँ

सदा अतुल देशको मधुर गान सुन्थ्यौँ यहाँ

हरे! सकल त्यो कुरा नसहँदा संगैमा गयो

अखण्ड यस नाउँको फगत आज बाँकी रह्यो।'

माध्यमिक काल र आधुनिक कालका सन्धि लेखनाथ पौडेल, बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता हस्तीहरू पनि जमे छन्दमै। लेखनाथको सम्पूर्णता छन्दमै हो। समले नाटकहरूमा समेत अतुकान्त शैलीमा अनुष्टुप छन्दको प्रयोग गरे र उनको बेजोड प्रवाह गद्यमा पनि त्यत्तिकै रह्यो। देवकोटा त ती भगीरथ गंगा हुन् जहाँ बगे पनि उत्तिकै बेजोड। 'शाकुन्तल' महाकाव्यको छन्दओज र 'प्रमिथस' महाकाव्यको गद्यचुली उनको सामर्थ्य हो। छन्द कविताका अर्का कलात्मक उचाइ राष्ट्रकवि माधव घिमिरे हुन्। उनले लेखे–

'तिम्रो नीति यही छलेर पिठमा हिर्काउने दाउ छ

धर्तीमा असहायलाई उभिने सानो कहाँ ठाउँ छ?'

गद्यमा लेखेर गोपालप्रसाद रिमाल, भूपि शेरचन, मोहन कोइराला, वैरागी काइँलाहरू पनि त्यत्तिकै बेजोड छन् तर पनि बहस जारी छ– गद्य कि पद्य? यो बहसमा तिक्तता पनि छ, पन्यालो कुरा पनि छ, एक अर्कालाई खुइल्याउने कुरा पनि छ। सिद्धिचरण श्रेष्ठले लेखेका छन्द कविताको छङछङमा पाइने मिठास नबु‰नेहरूका लागि यो कुन्नि कसले च्याउ खाओस् न स्वाद पाओस् भनेजस्तो छ। उनले लेखे–

'छप्काई शत्रुलाई छपछप खुकुरी धार हाम्रो कुँडिन्न

गर्दी घम्सान पर्दा पछितिर मुहुडा हेर हाम्रो मुडिन्न।'

के माथिका कविताहरूलाई कविता हुन छन्दले छेक्यो र? कसैले शब्दको ह्रस्व दीर्घ जान्दैन, बग्न सक्तैन छन्दमा र ऊ काव्यिक अनुशासनको सीमालाई बन्धन भन्छ त, त्यसमा के दोष छन्दको? त्यो उसैको अज्ञानता हो।

ढोंगीहरूको रुवाइ र छन्द कविताको स्खलन

काव्य समाज बाँडियो दुई धारमा र शत्रुताजस्तो भो गद्य–पद्यबीच। कतै छाप्नु पर्यो भने एक दुइटा छन्दको पनि राखिदिऊँ न त भन्ने दयाभाव जागृत हुन थाल्यो। हुँदा–हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सवमा समेत तेस्रो स्थानमा एउटा छन्द कविता आरक्षित हुन थाल्यो। प्रतिष्ठानमा प्रथम हुने ताकत राख्ने र छन्दमा दमदार कविता लेखनेहरूका मनमा पनि प्रथमै हुन त गद्य नै लेख्नुपर्छ भन्ने भान हुन थाल्यो र छन्दमा लेख्ने धेरै कविहरूले गद्य कविता लेखेर प्रथम पड्काए। तर केहीले चाहिँ छन्दलाई गायत्री सम्झे र कविता लेख्नभन्दा पनि छन्द छन्द भन्नमै समय खेर फाले। तिनलाई न समय–स्वरको वास्ता भयो, न समाज र परिवर्तनको हेक्का। समाजले तिनैलाई कवि भने तथाकथितहरूले तिनैको गुणगान गाए। पछाडि फर्केर थु भने पनि अगाडि वाहवाही गर्दिए। शब्द थुपार्नु, जेनतेन गण र अनुप्रास मिलाउनु र भाका हालेर चिच्याउनुमै कविता देख्न थाले र स्खलित भए काव्यिक सामर्थ्यबाट। छन्दलाई देखिनसहनेहरूले तिनैलाई छन्दको बेजोड मान्छे भनेर उपहास गरे र गद्यलाई गाली गर्न तिनैलाई उक्साए। मूलतः गण मिलाउनु र शब्दको खुट्टा काटेर भाका तान्नुको अचानोमा रेटिन थाल्यो छन्द कविता।

छन्द अभियान, तालिम र प्रचार

तर पन्ध्र वर्ष अघिदेखि छन्द बचाउ अभियान, छन्द प्रशिक्षण र यसको प्रचार–प्रसारमा पनि केही स्रष्टा लागि परे। पोखरेली स्रष्टाहरू पोखराबाट लागे, राजधानीमा भएकाहरू पनि आ–आफ्नै तरिकाले लागे र भने– छन्द भनेको मौलिकता हो, यसलाई बचाउनुपर्छ। काठमाडांैमा पुरानो पिँढीको एक डफ्फा 'कोक' नामको कोठे कवि गोष्ठी गर्न थाल्यो। १५ वर्षमा उनीहरू न २० बाट एक्काइस भएका छन्, न त देखाउन लायक र वाह भन्ने संग्रह निकालेका छन्। छन्द बचाऊ अभियानमा लाग्ने साथीहरूले लेखेको काव्यबाट सूक्तिमय कुनै हरफ टिप्नुपर्योल भने धेरै पाना पल्टाउनुपर्छ। तालिम पनि चले छन्दका तर समय एकातिर छ, काव्यले खोजेको विषयबिम्ब अर्कैतिर छ र कविको ध्यान अन्ततिर। राजनीतिक पार्टीको संगठन गरेजस्तो होइन काव्य लेखन। धेरै जना भेला भएर केही गरौं भन्दा सामूहिकता आउला तर फेरि पनि लेखिनुपर्ने त कविता नै हो। रामको वर्णन गरेर रामायण चर्चित भयो, तर आज लेखिएको भए रामायण न त रामायण हुन्थ्यो, न त भानुभक्त त्यो उचाइमा हुन्थे। आज अर्कै छ काव्यको स्पन्दन। लेखेर हुने हो कविता, कविताले बनाउने हो कवि। छन्दमात्रै राम्रो भन्नेले छन्दमा लेख्नुपर्छ र तान्नुपर्छ पाठकीय चेतना। 'बरु मासलाई मस भन छन्द नबिगार' भन्ने झुसे अर्तीले कुनै अभियान पूरा हुँदैन। छन्दले कवि खेलाउने सोच छ धेरैमा तर हैन असल कविले छन्द खेलाउने हो। छन्दका नाममा गति, यति र लय खेलाएर लेघ्रो पसार्ने प्रचलनबाट शिथिल छ छन्द कविता।

गजल मोह, बहर र गायन

६० को दशक गजलको चर्चाले पिटेको दशक हो। यसको उत्तरार्धतिर आइपुग्दा बहर लेख्नेहरूको संख्या निकै बढेको छ। बहरको संचना–स्वरूपसंग पूर्वीय छन्द शास्त्रको केही सूत्र नजिक हुनुले पनि छन्दतिर तानेको छ धेरैलाई। गजलसँग गायनको सम्बन्ध र छन्दसँग पनि गलाको कला! एकातिर संरचनामा निकटता र अर्कोतिर गायनको प्रभावका कारण बहर सिक्ने र लेख्नेहरूले पनि छन्दमा लेख्न र छन्दको प्रसार गर्न सहयोग गरेका छन्। कतिपयबाट ‰याउरेमा रदिफ र काफिया भरेरमात्र गजलकार भइन्न भन्ने चर्को नारा समेत लाग्नुले गजल लेख्न बहर सिक्नुको बाध्यता र त्यसले बढाउने छन्दमोह! छन्दवादीहरूलाई यो सुखद पक्ष हो। गजल भनेपछि कतिको यही नै ईश्वर हो भन्ने भ्रम र कतिको आफू त कविता लेखिन्छ भन्ने भुत्ते अहंकार। सिर्जना र संयमसँग समय कुँद्ने, आफू पनि तात्ने र तन्नेरी तताउने अभियानमा कसैलाई फुर्सदै छैन, अनि कहाँ लेखिन्छ समयको कविता र बढ्छ काव्यिक ओज समाजमा?

कोठे समालोचना र भाटगिरी

आज विश्वविद्यालयमा प्राडा भएका र समालोचनाको कर्ममा पनि लिप्त कतिपय आदरणीय शिक्षकहरूलाई थानकोटबाहिर पनि संसार छ भन्ने थाहा छैन। उहाँहरू नयाँ पुस्तालाई चिन्नुहुन्न र चिन्ने आवश्यकता पनि ठान्नुहुन्न। तीस–चालीस वर्षदेखिको थोत्रो नोटकपीमा टिपिएका टिपोट छापेर समालोचनाको भारी बोकाइदिनुहुन्छ। दुई–चार ठालु र ठेकेदारहरूको प्रशंसा गरेर पाण्डित्याइँ भर्नुहुन्छ। तन्नेरी पुस्ताले हप्तैपिच्छे गर्ने कार्यक्रमहरू, दिनहुँ आएका नयाँ स्रष्टा र तिनका पुस्तकबारे धेरै कमलाई थाहा छ। थाहा भएपछि पनि त्यहाँ वाद र विचारको कुरा आउँछ। अनुहार र भूगोलको कुरा आउँछ। पक्ष र विपक्षको कुरो आउँछ। पद, प्रतिष्ठा, पैसा र पहुँचको कुरा आउँछ। प्रज्ञा प्रतिष्ठान पस्ने कुरा आउँछ र मिडियामा छाउने रहर बढ्छ। प्रज्ञा प्रतिष्ठानका पाका प्राज्ञ र पुराना प्राध्यापकले नाति उमेरको एउटा रिपोर्टरलाई दश औंला जोडेको धेरै ठाउँमा देखेको छु। त्यो आत्मविश्वासको कमी र आफैंप्रतिको अविश्वास हो। अधिकांश समालोचकलाई पनि गद्य र पद्य विभाजनको भूत सल्केको छ। कतिपय बडे समालोचकहरू आफूलाई क्रान्तिकारी देखाउन यो युग छन्दको होइन भनेर लेखिदिन्छन् र त्यही सन्देश प्रवाह हुन्छ र पैल्यै टाढा हुन्छन् पाठकहरू।

फुको खुसी र उधारो शान

बढ्दो सञ्चार माध्यम र छन्द कवितामात्रै प्रसार गर्ने गरी सञ्चालित रेडियो कार्यक्रमहरू। बहर लेख्नेहरूले गाइदिने छन्दको गुणगान बढ्दो छ, तर ठाउँ जति पाए पनि प्रचार जति गरे पनि मूलतः कवितै राम्रो लेखिनुपर्छ। त्यसो नहुँदासम्मको यो हल्ला फुको खुसी र उधारो शान मात्र हो। आज पनि कतै उदाहरण पेस गर्नुपर्दा उनै पाकाको पंक्ति खोज्नुपर्छ। आफ्नो सुगन्ध आफैंले थाहा नपाउने कस्तुरी शैलीमा छन् छन्दका कविहरू। तिनलाई भन्नु छ, विद्रोहमा पनि छन्द यसरी बग्छ– कवि युद्धप्रसाद मिश्र–

'खोक्रा पेट अनाज भेट नहुने भोका र नाङ्गा उठ

कोदाला उठ बन्चरा र हँसिया नाम्ला र डोका उठ

साहुका करकापका कठिनता भोग्नेहरु हो उठ

ताकेका जिमिदारले युवतीका लोग्नेहरु हो उठ।'

किन लेखिन्नन् आज त्यस्ता हरफहरू वा लेखिएर पनि गुमनाम छन् त? कसले खोज्ने हो उत्तर? छन्द लेखन कमजोर हुनुमा छन्दवादी भनिनेहरूको दोष अझ बढी छ। उनीहरू अक्षर गन्दै जसै तसै मसै, अनि तनि रनि जोडेर कविता भयो भन्छन्। समाजसँग घुलमिल हुँदैनन् र समाजको संवेदना टिप्दैनन्। वस्तु, व्यक्ति र सन्दर्भको एकसरो वर्णनमा मात्र रमाउँछन्। वर्णन र विवरणको भारीले थिचिएपछि कविता कसरी कविता हुन्छ? दुई–चारले गरिदिने प्रशंसा र दुई सय स्रोता भएको रेडियोमा ठाउँ भर्न लिइदिने दुई घन्टा लामो अन्तर्वार्ताले फुर्किनेहरूले कति बुझेछन् धरातल? कठै भन्नुबाहेक अरू केही छैन तर ती कठैहरू कोट लगाएर छन्द बचाउने भाषण दिइरहेका हुन्छन्। त्यो हुल छिचोल्ने ताकत लिएर नयाँ पुस्ताले कविता–विद्रोह गर्नु जरुरी छ। राम्रा कविता सबै हल्ला र भ्रम चिर्ने एकमात्र सुकुमार अस्त्र हो। कविहरू हो एकपटक आ–आफ्ना कविता आफैंले पढौं र सोधौं आफ्नै मनलाई– हामी कविता लेखिरहेछौं कि कवि हुने रहरमा अक्षर गनेर घुँडा खियाइरहेछौं?

अन्त्यमा, महाकवि देवकोटाका पंक्तिहरू सम्झन्छु–

'माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन

दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण।'



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/2106.html#sthash.ZCOSCjoo.dpuf

No comments:

Post a Comment