अमर न्यौपाने
दल र नेतासँग आजित जनता साहित्य पठनतिर लागेका छन्। गतिलो साहित्य लेख्न नसके आफूले आशा गरेका पार्टी र नेतासँग आजित भएझैँ जनता साहित्यकारसँग पनि आजित हुनेछन्। लेखकले पनि जनताको विश्वास गुमाउनेछन्।
चाहे राजनीति होस् या साहित्य, जनविश्वास चाहिन्छ। स्वान्त सुखायः का लागि मात्र साहित्य लेख्ने हो भने लेखे मात्र हुन्छ, छाप्न जरुरी छैन। छापेर पाठकसम्म पुर्याउने हो भने त्यहाँ आफ्ना कुण्ठा, सस्ता भावना, उडन्ते कुरा होइन आम मानिसलाई सम्बोधन गरिनुपर्छ। तिनका कथा व्यथा लेखिनुपर्छ। त्यो केही हदसम्म पूरा हुँदै आएको छ। यो सुखद कुरा हो।
त्यसैले अहिलेको यो साहित्यलेखन, प्रकाशन र पठनको स्वर्ण समयको प्रारम्भिक अवस्थालाई साहित्यकारले संयम, धैर्य र कुशलताका साथ पाठकहरुको मागलाई पूरा गर्नुपर्ने चुनौती छ। लेखकले यस समयमा पाठक विश्वास जित्न सकेनन् भने जनता फेरि निराश हुनेछन्। र साहित्यकारलाई पनि नेताझैँ अविश्वास गर्नेछन्।
अहिले साहित्य पढ्नु प्रतिष्ठाको विषय बन्दै गएको छ। पहिले पहिले लेखक, कवि बन्नु भनेको निरीह र समाजको हेपिएको पात्रजस्तो हुन्थ्यो। तर अहिले लेखक, कवि हुनु भनेको इज्जतको विषय बन्दै गएको छ।
सायद त्यसैले होला अहिले लेखक तथा पाठक दुवै उत्साहित छन्। यो उत्साहले साहित्यको भविष्य पनि उज्ज्वल देखिन्छ।
तर साहित्य सिर्जना गरेर मात्र पुग्दैन। बजार बिस्तार भएर मात्र पुग्दैन। लेखक तथा प्रकाशकको सङ्या बढेर मात्र पनि पुग्दैन। साहित्यलाई भित्रैदेख बलियो बनाउने हो भने यसलाई सैद्धान्तीकरण पनि गर्दै लैजानुपर्छ।
हो, साहित्य समालोचनाभन्दा अघिअघि हिँड्छ। तर हाम्रो समालोचना त साहित्यको पछि मात्र होइन धेरै पछि छ। साहित्यले यसो पछाडि फर्केर हेर्दा पनि नदेखिने गरी पछाडि छ। एकछिन कुरे पनि समालोचना परसमेत देखिँदैन। धेरै पछाडि छ। तर साहित्यले समालोचनालाई नजिक ल्याउन आफ्नो गति कम गर्नु हुँदैन। समालोचना आफैंले आफ्नो गति बढाउनुपर्छ।
पत्रपत्रिकामा पुस्तक समीक्षा ह्वात्तै बढेको छ। त्यो समालोचना होइन, पुस्तक समीक्षा मात्र हो। पुस्तकमा के छ, के छैनको सामान्य परिचय हो। विश्वविद्यालयमा पढाइ हुने पाठ्यपुस्तक, एमए तथा विद्यावारिधिमा गरिएका शोधपत्रलाई सामान्य फेरबदल गरेर मोटा समालोचनाका पुस्तक पनि ह्वात्तै बढेका छन्। तर ती नेपाली साहित्यलाई भन्दा धेरै पनि लेख्नेका बायोडाटामा तथा आफ्नो नामको अगाडि डा. लेख्ने काममा बढी प्रयोग भएका छन्। र विश्वविद्यालयमा ती समालोचकलाई बढुवा हुन काम लागेको छ।
नेपालमा साहित्यका डाक्टरको संख्या पनि ह्वात्तै बढेको छ। तर कस्तो अचम्म! तिनै साहित्यका डाक्टर भन्छन्— नेपालमा अहिलेसम्म कुनै सैद्धान्तिक समालोचना छैन।
त्यसो भए उनीहरू कसरी साहित्यका डाक्टर भए? साहित्यका डाक्टरले नेपाली समाज, संस्कृति र जनजीवन अनुसारको सैद्धान्तिक समालोचना यसरी नै प्रस्तुत गर्न सकेनन् भने पादरी शिक्षा पढेका डार्विन वैज्ञानिक, औषधि विज्ञानका डाक्टर फ्रायड मनोविज्ञानको प्रखर व्याख्याता भएजस्तै अब नेपालमा पनि साहित्यका डाक्टरलाई चुनौती दिन अन्य क्षेत्रका व्यक्ति प्रस्तुत हुने सम्भावना बढेको छ।
यहाँ एउटा पनि सैद्धान्तिक समालोचना नभएको आजसम्मको यो अवस्थामा हाम्रो माटोबाट जन्मिएका साहित्यिक कृतिको समालोचना कसरी हुन्छ हँ? यही माटोमा जन्मिएका यति धेरै साहित्यिक कृतिमाथि एमए तथा पिएचडीका शोध भएका छन्। के ती शोध पास गर्न, शैक्षिक प्रमाणपत्र लिन र आफ्नो नामको अगाडि डा. लेख्न मात्र भएका हुन्?
साहित्य मात्र होइन समालोचना पनि आविष्कार हो। तर यहाँ खाली मिस्त्री काम मात्र भइरहेछ। विश्वविद्यालयमा नेपाली साहित्य पढाइ हुन्छ। के नेपाली साहित्यलाई व्याख्या गर्न नेपाली सैद्धान्तिक समालोचना चाहिँदैन?
नेपाली साहित्यमा जे लेखिए पनि तिनलाई पश्चिमी समालोचनाका साँचोमा राखेर हेरिन्छ। त्यसैले नेपाली साहित्य—समालोचनाले अहिले आफ्नो साना खुट्टामा ठूला साइजका पश्चिमी जुत्ता लगाइरहेछ। आफ्नो शरीरमा नमिल्ने ठूलो ह्वाङ्लाङ्गे कोटपाइन्ट लगाएर मख्ख भइरहेछ। पाइन्ट त बेलाबेलामा धर्म छोडेर खसिरहन्छ। खसेको पाइन्टलाई हातले समाएर माथि तान्नै पर्यो। समात्न बिर्सिए फेरि खस्छ। यस्तो प्रक्रिया चलिरहन्छ। कसैकसैले मज्जाले पेटी कसिदिन्छन्। पाइन्ट त पेटिकोट लगाएको जस्तो पो देखिन्छ।
हाम्रो समाज विज्ञान र सांस्कृतिक मनोविज्ञानका आधारमा हाम्रो साहित्यको मौलिक व्याख्या र समालोचना जरुरी छ। त्यसका लागि हामीसँग साहित्यको आफ्नो मौलिक सिद्धान्तको आवश्यकता छ।
साहित्यको महत्वपूर्ण आधार भनेको कृतिले उभिएको ठाउँ हो। धरातल हो। अपवाद छोडेर नेपाली साहित्य नेपाली परिवेशमै उभिएको छ। आफ्नै धरातलमा उभिएको साहित्यको व्याख्या, विश्लेषण गर्न आफ्नै धरातलको समालोचना चाहिन्छ। तर हामीकहाँ त्यो छैन।
'मुनामदन'देखि 'सुम्निमा,' 'माधवी,' 'घामका पाइला' हुँदै 'लू'सम्मका कृतिको व्याख्याविश्लेषण गर्न पश्चिमी सिद्धान्तको प्रयोग गरिन्छ। त्यहाँका विषय, भाव, शैली प्रस्तुति केहीलाई पनि पश्चिमी समालोचनाका वस्त्र सुहाउँदैनन्। यस्ता कृति हाम्रोमा कयौँ छन्। तिनको न्यायोचित सैद्धान्तिक व्याख्या भएको छैन।
मानिसको सामाजिक तथा आर्थिक व्यवहार, यौन मनोविज्ञान संस्कृतिसँग जोडिएको हुन्छ।
एउटा अर्को सानो उदाहरण— जस्तो म आर्य संस्कृतिको मानिस। हाम्रो संस्कारमा मामाकी छोरीलाई आफ्नै बहिनी सरह मानिन्छ। तिहारमा टीका लगाएर ढोग्नुपर्छ। मेरो साथी गुरुङ हुन्। उनको आफ्नी मामाकी छोरीमाथि वैवाहिक हक नै लाग्छ। उनलाई मामाकी छोरी देख्ता यौनको भावना आउँछ भने मलाई भगिनी प्रेमको भावना आउँछ। बाहुन क्षेत्री आदि जातिमा भाउजूलाई आमासरह मानिन्छ तर हिमालतिर लामा तथा शेर्पा संस्कारमा पत्नी बनाउने चलन छ। थारु जातिमा दाजुको कुनै कारणवश देहान्त भए देवरले भाउजूलाई पत्नी बनाउँछ। भनेपछि कुनै जाति तथा संस्कृतिमा भाउजूलाई देख्ता मातृत्वको भाव आउँछ भने कुनैमा वासनात्मक भावना आउँछ। यस्तो किसिमको यौन मनोविज्ञानको व्याख्या के फ्रायड, एडलर या कार्ल गुस्ताब जुङको यौन मनोविज्ञानको सिद्धान्तले गर्न सक्छ?
यौनमनोविज्ञान भन्ने कुरा संस्कृति र संस्कारसँग जोडिएको हुन्छ। पश्चिमी यौन जीवन र पूर्वीय यौन मनोविज्ञान धेरै फरक छ। यहीँ नेपालमा पनि जाति र संस्कृति अनुसार यौनमनोविज्ञान फरकफरक हुने गर्छ। यस्तो किसिमको यौन मनोविज्ञानको व्याख्या गर्न हामीलाई आफ्नै मौलिक समालोचनाको आवश्यकता छ।
यस्ता अनेकौं संस्कार यहाँ छन्। ती केही हदसम्म कृतिमा आएका पनि छन्। यस्तो किसिमको यौनमनोविज्ञानको व्याख्या फ्रायड, एडलर या जुङ्गको सिद्धान्तले गर्ला त? तर हाम्रा समालोचक हाम्रो मौलिक सांस्कृतिक यौनमनोविज्ञानलाई ल यो कृतिमा यौन आयो भनेर हतारिँदै सबै कुरा फ्रायडवादको साँचोमा राखिदिहाल्छन्।
पहिले हाम्रोमा धेरै अनमेल विवाह हुने गर्थे। यससम्बन्धी केही उपकथा 'सेतो धरती'मा पनि छन्। आफ्नो बूढो लोग्नेप्रतिको असन्तुष्टि तरुनी स्वास्नीहरु वनमा दउराघाँस गर्न जाँदा यसरी पोख्थे— वल्लो छेउको कत्ले माछो पल्लो छेउमा धाउँछ, बूढो पोइको ओछ्यान लाउन जाँगर मरी आउँछ। यो किसिमको यौन मनोविज्ञानको व्याख्या गर्न फ्रायडको यौनमनोविज्ञान पर्याप्त हुन्छ जस्तो लाग्दैन।
नेपाली साहित्यमा केही आयाम र वाद नआएका होइनन् तर तिनले त्यति स्पेस लिन सकेका छैनन्। जस्तो तेस्रो आयाम आयो। तेस्रो आयामका तीन आयाम बस्तुता, चित्रात्मकता र सम्पूर्णतामध्ये जीवनको सम्पूर्णता लेख्न सकिदो रहेनछ भनेर इन्द्रबहादुर राई लीला लेखन भनेर लागे।
त्यसको धेरैपछि सृजनशील अराजकता, रङ्गवाद, भयवाद भनेर थुप्रै वाद आए तर यिनले आफूलाई पूर्ण प्रमाणित गर्न सकेका छैनन्। र तिनका आधार पनि प्रायः पश्चिमी नै देखिन्छन्। पाटपुर्जा विदेशबाट ल्याएर यहाँ फिटिङ गरेजस्तो। यिनलाई मौलिक बनाउने आधार खोज्न सकिन्छ। यो कर्म भने शुभ सङ्केत हो। यी वादले भोलिका दिनमा हुर्कन, बढ्न, फुल्न, फल्न पाए भने अवश्य पनि बीउ लाग्ने छन्।
इन्द्रबहादुर राईले लीलालेखनमा धेरै हदसम्म मौलिक व्याख्या गरेका छन्। जसलाई मलजल गर्ने काम कृष्ण धरावासी, रत्नमणि नेपालले गरे। रत्नमणि नेपालले आफ्नो कृति 'लीलाधारणा र कथाहरू' मा लीलावाद नाम दिएर नेपाली समाज, इतिहास, राजनीति र साहित्यको संक्षिप्त रुपमा भए पनि गतिलो व्याख्या गरेका छन्। यो र यस्तै नेपाली साहित्यमा देखिएका सैद्धान्तिक समालोचनाको सङ्केतले केही आशावादी बनाएको छ। आशा गरौँ अबको केही वर्षमै नेपालमा आफ्नैपनको सैद्धान्तिक समालोचनाको घाम उदाउनेछ र नेपाली साहित्यको व्याख्याविश्लेषण गरिनेछ।

- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/2896.html#sthash.DggqiyDq.dpuf

No comments:
Post a Comment