भाषा शर्मा

बुबाको शव झिक्दा आँखैअगाडि उनले निलो–कालो देखेका थिए। निस्पट्ट अँध्यारो, संसारै निलै‘कालो। चार घन्टाअघि आफूसँगै बारीमा आलुका बिरुवा उखेल्दै गरेका बुवाको शव निकाल्दा भक्तपुर दत्तात्रयका जीवन सुवाललाई रिंगटा चलिसकेको थियो। बारीबाट निस्केर बुवा कति बेला घरभित्र पसे, उनले पत्तै पाएनछन्। भरिराखेका आलुका बोरा ढले। सबै चिच्चाउन थाले। अनि पो त्यस बेला खोजिहेरे— बुवालाई देखेनन्।
अहिले जीवन त्यो क्षण शब्दमा वर्णन गर्न सक्दैन्। सक्छन् त केवल क्यानभासको रङमार्फत।
उनी सुन्धारास्थित भग्न ठुटो बनिसकेको धरहरा नजिक बसे। रूखको आड लिएर क्यानभासमा पहिले निलो रङ पोते। फाट्टफुट्ट बादलजस्तै देखिने केही सेता फुर्का थपे। माथिपट्टि कालो रङको ढल्दै गरेको गेट बनाए। त्यहीँ कालो छायामा थपे— नेपालको झन्डा, मन्दिर, घन्ट‘।

भुइँचालोपछि उनको यो सिर्जना पहिलो हो। आफूले बुवा गुमाएको क्षणलाई पनि उनले उतारे। अब त्यो मुटु रेट्ने दिन बिर्सेर नयाँ सिर्जनामा लाग्न थालिसकेका छन्, उनी।
विश्व सम्पदामा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्र भुइँचालोले भग्नावशेषमा बदलियो। ‘भत्कन त भत्कियो। अब हामी आफैंले त्यसको पुनःनिर्माण गर्नुपर्छ,' सुवाल भन्छन्, ‘कलाकारले पनि सम्पदाको सौन्दर्य र नयाँ आशा झल्काउनुपर्छ।'
बनारस हिन्दु युनिभर्सिटीबाट ललितकलामा स्नातकोत्तर सकेका उनी सम्पदा भत्केकोमा चिन्तित छन्। आफूजस्तै परिवार गुमाएकालाई सुझाव दिन्छन्, ‘सिर्जनात्मक सोचका लागि धेर्य चाहिन्छ। शोकमै डुबेर बस्नु हुँदैन।'
‘पुनःनिर्माणका लागि ललितकला' नाराका साथ भूकम्पपीडित कलाकारको सहभागितामा ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको कला कार्यशालामा सुवालजस्तै २५ कलाकारले आफूले भोगेको पीडालाई सिर्जनामा उतारे।

भुइँचालोपछि पहिलोपटक रङ र कुची समाएका भूकम्पपीडित कलाकारहरूले आफ्नो भोगाइलाई प्रत्यक्ष र अमूर्त रूपमा उतारेका थिए। अधिकांशले विनाशपछिको विकासलाई जोड दिए। अँध्यारोपछिको उज्यालो आशालाई क्यानभासमा पोखे। आफूहरू शोक र पीडामा रहे पनि देशले भोगेको विनाश बिर्संदै सम्पदा पुनःनिर्माणका कुची र रङको सहारा लिनुपरेको कलाकारहरू बताउँछन्।
भक्तपुरकी रबिता किसीको २० महिनाको छोरा लिएर माइती पुगेकी थिइन्। छोरालाई आमासँगै छाडेर एक छिन बाहिरिएकी थिइन्, उनी। फर्कंदा घर भग्न समाधि बनिसकेको थियो। आमा र बच्चाको शव निकाल्न तीन दिन पर्खनुपर्योे। उनी पहिलो बच्चा गुमाउनुपर्दाको पीडा व्यक्त गर्न सक्दिनन्। बोल्न खोज्छिन्, आँखा रसाउँछ। गला अवरुद्ध हुन्छ। तै उनले क्यानभासमा केही आशाको रङ भर्ने कोसिस गरेकी छिन्। कालो, निलो, खैरो, थोरै रातो ठाडो धर्साले जीवन–संघर्षका संकेत उनको चित्रमा छ। ‘भर्टिकल रेखा कोरेकी छु,' भन्छिन्, ‘बाँच्नको लागि संघर्ष गर्नु नै पर्दो रहेछ।'
भुइँचालोपछिको दैनिकी उनलाई सपनाजस्तै लागिरहेको छ। ‘आमा र छोरा कति बेला फर्किन्छन् जस्तै लाग्छ। केही सोच्नै सकेकी छैन,' उनी भन्छिन्, ‘जानेहरू गइसके। बाँच्नेलाई गाह्रो।'
भुइँचालोपछि कोरेको पहिलो चित्रमार्फत उनले अबको अन्योल जीवन कसरी अघि बढाउने? प्रश्न गरेकी छिन्।
गोरखा खोर्लाका मन गुरुङ पनि गाउँ भत्केपछि अन्योलमा छन्। उनले क्यानभासमा एउटा मान्छेजस्तै आकृति बनाए। डरले त्रसित उक्त मान्छेमा विचलित मनस्थिति बुझ्न सकिन्छ। भुइँचालोपछि गाउँ पुगेका गुरुङले त्यहाँको पहाड खसेको र धुवाँ–धुलोको मुस्लो उडिरहेको देखे। भारी बोकेर बाटोमा हिँडिरहेका भरिया, बटुवा, खच्चडहरू पुरिएको भेटे। आफ्नै गतिमा अगाडि बढिरहेका गाउँलेहरूमा एकाएक आएको अस्तव्यस्तता नियाले।
त्यही गाउँको भयावह अवस्थालाई चित्रण गर्दै उनले कुची चलाए। ‘अहिले सबैमा अन्योल देखिन्छ। कसैसँग ठोस योजना छैन,' कुची चलाउँदै उनी भन्छन्, ‘कसैसँग जीवनको स्वर्णिम योजना थियो भने पनि हराइसकेको छ।' तर पनि उनले आश मारेका छैनन्। रातो–निलो रङमार्फत उनले भविष्यको आशालाई संकेत गरे। ‘सधैंभरि यही अवस्था रहने होइन,' उनी थप्छन्, ‘हामीले हिम्मत हार्नुहुन्न। किनकि आशा मारेका छैनौं।'
घर भत्केर परिवारसहित पालमा रहेका कलाकार हुन् वा आफैं घाइते; उनीहरूले भविष्यलाई सुन्दर बनाउने योजना बुनिरहेका छन्। शान्तिनगर गेटमा गुडिरहेको माइक्रो बस दुर्घटना हुँदा नगेन्द्रप्रसाद पौडेल त्यहीँभित्र थिए। सिनामंगलबाट निजामती अस्पताल आउँदै गरेका उनी घाइते भए। तर, घाउ बिर्सेर तत्काल उद्धारमा जुटेको उनी बताउँछन्।
कला कार्यशालामा उनले तयार पारेको अमूर्त चित्रमा भत्किएको धरहराको धुलो माटो प्रयोग गरेका छन्। अन्य भूकम्पपीडित कलाकारले जस्तै उनले पनि क्यानभासमा भत्केको घरजस्तो देखिने चित्र बनाए। ‘समग्र विनाशको प्रतिनिधित्व गराउँदै अमूर्त चित्र कोरेको छु। धरहरा ऐतिहासिक स्थल भएकाले त्यहाँको थोरै माटो मागेर चित्रमा राखेको हुँ,' उनी भन्छन्, ‘यो आफैंमा इतिहास बन्नेछ।' भूकम्पको क्षण सम्झेर विध्वंश मात्र बनाउन नहुने उनी बताउँछन्। ‘चित्रमा रङसँगै घोलिएको धरहराको माटोले भुइँचालो बोलोस्,' उनी भन्छन्।
भनिन्छ— सिर्जना परिस्थिति र परिवेशले जन्माउँछ। कताकता हुइँयय˜˜˜‘ढुङ्ङ‘ आवाज निकालेर भुइँचालो आउँदाको अनुभूतिलाई क्यानभासमा यसरी नै उतारेका छन्, दोलखाका उमेश श्रेष्ठले। घर ध्वस्त भएको खबर पाएपछि उनी तत्कालै गाउँ पुगे। उनको चित्रमा हल्लिरहेका बिजुलीको पोल, च्यापिएको ट्याक्सी, त्रासमा दौडिदै गरेका पुरुष र महिलालाई उतारेका छन्। आफ्नै आँखाले देखेका क्षण रङमार्फत भरेका छन्। ‘यो सबै बाटोजस्तो देखिन्छ,' खरानी रङको चित्र देखाउँदै उनले भने, ‘यो बाँच्नका लागि गरिएको संघर्षको विम्ब पनि हो।' मानिसले बाँच्नका लागि संघर्ष गर्नुपर्ने सन्देश उनकोे चित्रले दिन्छ।
प्रत्येक कलाकारले ध्वंशपछिको आशालाई क्यानभासमा उतारेका छन्। आशाका रङमार्फत भविष्य कोरेका छन्। भत्किएका वर्तमानमात्र सम्झेनन्, उनीहरूले सुनौलो भविष्यको कामनालाई पनि क्यानभासमा उतारे।

उनीसँगै रङसँग खेलिरहेका नुवाकोटका प्रदीप अधिकारीले आफ्नो कलामार्फत ऐतिहासिक ठाउँ झल्काउन खोजका छन्।
एउटा युगको अन्त्य भएजस्तो। अर्को युगको सुरुवात जस्तो। टक्क मिल्न नसकेका सम्पदा, विनायोजना तयार पारिएजस्ता मठमन्दिर— उनको चित्रमा देखिन्छ।
विगत बिर्सेर भावी पुस्ता कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा चिन्तित छन्, उनी। घर, सहर वा सम्पदा, योजनाअनुरूप बन्नुपर्छ भन्ने सन्देश उनको चित्रले बोकेको छ। ‘यो सानो पेन्टिङ हेरेर भए पनि अब मानिसहरू सचेत होऊन्,' उनले आशा व्यक्त गरे।
नवलपरासी डेढगाउँ–५ मा रहेको घर भत्किएपछि ज्योतिप्रकाश बिकेले अँध्यारोपछिको उज्यालो चित्र कोरे। विनाशको दिन भए पनि अब विकासको दिन आउने आशा उनले चित्रमार्फत देखाएका छन्। ‘औंसी गयो अब पूर्णिमाको आशा गरेका छौं,' उनी भन्छन्, ‘प्राकृतिक विनाशलाई केहीले रोक्न सकिँदैन। तर अब विकासका लागि राम्रो अवसर आएको छ।'
कार्यशालामा बनाइएको चित्र प्रदर्शनीमार्फत संकलित रकम आधा भूकम्पपीडित कलाकार र आधा ललितकला राहत कोषमा राखिने ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठले बताए।

- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/39255.html#sthash.dRztKecH.dpuf
No comments:
Post a Comment