Tuesday, June 30, 2015

link

सपनाको देशमा


सपनाको देशमा
,
बसन्त बस्नेत

सम्राट उपाध्याय
देखिएका सम्राट उपाध्यायको कथा पाठकलाई थाहा छ। नदेखिएका सम्राटको कथा कसलाई थाहा छ!
प्रकाशकलाई पाठकमाझ यस्तो मेनु पस्कने बानी लागेको छ – केवल सफलताको कथा सुनाउने चलन छ।
पाठकलाई पनि उही पुरानो मेनु हेर्दै स्वाद चाख्ने बानी लागेको छ– केवल उचाइको आनन्दमा मग्न हुने चलन छ।
टोपी खस्लाजस्तो, नाक ठोक्किएलाजस्तो उकालीको कथा सुन्ने कसले। चढेर उचाइ छोएका सिँढीहरू फर्केर गन्ने कसले !





यो एउटा त्यस्तो नेपाली लेखकको कथा हो, जोसँग सफलताका कथाभन्दा संघर्षका कथा बढी छन्। उचाइभन्दा उकालीका कथा धेरै छन्।

असारे झरीले निथ्रुक्क सम्राट आफ्ना कठिन दिनहरू सम्झन यतिखेर केशरमहलस्थित गार्डेन अफ् ड्रिम्समा यो पंक्तिकारको अघिल्तिर बसेका छन्। चिसोले स्वर छ्याप्प बसेको छ। छेउमा केही पर्यटक बालकहरू खेलिरहेछन्। उनका आँखाहरू भने अन्तै कतै छन्। सके, इतिहास नामको कुनै पाँचौं दिशा हुँदो हो।

'अमेरिकामा विद्यार्थी छँदा मैले कठिन संघर्ष गरें,' ५१ वर्षे आख्यानकार अतीत सम्झछन्, ' पाठकलाई आजसम्म थाहा दिएको छैन।'

...

२०१९ फागुन ७ गते काठमाडौंमा जन्मेका सम्राटले सेन्ट जेभियर्स पढे। मल्पीबाट ओ लेभल गरे। त्यसपछि मुम्बई भागे। 'सोल सर्चिङ डेज्' थिए ती, उनका लागि।

मायानगरी मुम्बई घुम्यो, फिल्म हेर्‍यो। दिन यत्तिकै बित्दै गए। एकदिन अकस्मात् सम्राट काठमाडौं फर्के। त्यसपछि शंकरदेव क्याम्पस जान थाले। पढाइमा उनी राम्रै थिए। मन भने अन्तै बहकिइरहन्थ्यो। २१ वर्षको उमेरमा अमेरिका हानिए। उनका वास्तविक दिनहरू त्यसपछि सुरु भए।

सन् १९८४ मा अमेरिका जाँदा उनी 'गरिब विद्यार्थी' थिए। अमेरिकामा गरिब हुनु भनेको पैसा नहुनु हो। त्यो भनेको अमेरिकामा केही नहुनुजस्तै हो।

'म हरेक दुई हप्तापिच्छे नयाँ साथीको सोफामा बस्न जान्थें, तेस्रो हप्ता साथी बदल्थें, उसैकहाँ बस्थें,' उनी सम्झन्छन्, 'भाडा तिर्ने पैसा नहुँदा आफ्नो कोठा छाड्नुपर्थ्यो, दुइटा सुटकेसमा सामान हाल्थें। त्यसरी साध्य हुन छाड्यो, एउटा ठूलो गार्बेज ब्यागमा सबै सामान हालेर हिँड्न थालें।'

सम्राट थप्छन्, 'त्यो बेला म निराशजस्तै थिएँ।'

नदेखिएका सम्राटको कथा यही हो। यो संघर्ष आठ वर्षसम्म निरन्तर रह्यो। अर्थात्, सन् ९२ सम्म। त्यही साल उनले ओहायो युनिभर्सिटीबाट एमए सके।

अमेरिका सपनाको देश हो। भलै सपनाहरू कहिलेकाहीँ दुस्वप्नमा परिणत हुन्छन्। सम्राटलाई अमेरिका आफ्नो भएन। त्यही बेला साउदी अरेबियामा प्राध्यापन गर्ने प्रस्ताव आयो। त्यहाँ एक वर्ष पढाए। अनि नेपाल आएर दुई वर्ष बसे।

काठमाडौं आएपछि 'ट्राभलर्स नेपाल' म्यागजिनमा सहसम्पादक बने। 'द काठमान्डु पोस्ट' का लागि स्तम्भ लेख्न थाले। बबितासँग सन् १९९३ मा 'नेपाली पाराको' बिहे भयो। अर्थात्, सम्राटको परिवार बबिताको घरमा कुुरा चलाउन गयो। छोरीले हुन्छ भन्दिइन्। अभिभावकले हुन्छ भन्दिए। सम्राट जो दाबी गर्छन्।

पत्नीसँगै अमेरिका फर्केका सम्राटले त्यसपछिको समय प्राज्ञिक गतिविधिमै लगाए। सन् १९९९ मा युनिभर्सिटी अफ् हवाईबाट पिएचडी सके। बबिताले पनि त्यहीँ मास्टर्स सकिन्। अमेरिकामा सितिमिति कसरी काम पाउनु! सीमित बजेटमा चल्नुपर्ने दिनहरू थिए। अरू साथीहरूको कार हुन्थ्यो, उनको हुन्थेन। भन्छन्, 'सार्वजनिक यातायातका भरमा चल्न गाह्रो थियो।'

'ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल' माधवप्रसाद घिमिरेको कविता ठिकै भन्छ। सम्राटको हकमा यो चरितार्थ हुन गयो। अभाव र कष्टबीच सम्राट कथा लेखिरहेका थिए। पहिलो उपन्यास 'माया' लेखे। त्यसले कहिल्यै घाम देख्न पाएन। यसै थन्कियो पाण्डुलिपि। पिएचडी गर्दागर्दै अर्को पनि उपन्यास लेखे उनले। प्रकाशकले सकार्ने कुरै थिएन।

अकस्मात् उल्का!

सम्राटको कथा 'द गुड सपकिपर' 'बेस्ट अमेरिकन सर्ट स्टोरिज सिरिज'मा छापियो। अमेरिकी साहित्यिक पत्रिकामध्येबाट चुनिएका २० कथा त्यसमा छापिन्थे। एमी ट्यानजस्ता ठूला लेखक छापिरहने सिरिजमा आफू अचानक झुल्किनु उनका लागि अप्रत्याशित थियो। 'म अचम्भित भएको थिएँ, त्यसमा कसरी मेरो नाम आयो!' उनी भन्छन्। नाम चलेका लेखक र समीक्षकको आँखामा सम्राट पहिलोपल्ट देखिनेगरी छाएको यो नै पहिलोपटक थियो।

त्यो कथा पढेपछि ठूलो प्रकाशनगृह हटन मिफलिनले सम्राटसँग कथा संग्रहको पाण्डुलिपि पठाउन आग्रह गर्‍यो। उनका लागि यो ठूलो मौका थियो। तुरुन्तै लगेर दिए। प्रकाशकले पनि तुरुन्तै बधाई दियो। अनि छापियो– अरेस्टिङ गड् इन् काठमान्डु।

'हटन मिफलिनले मलाई राम्रो पैसा दियो,' उनी कृतज्ञ छन्, 'अनि पहिलो किताबले नै नचिताएको प्रचार दिलायो।' सम्राटको संघर्षलाई भाग्यले पछ्यायो। कथा यतिमै सकिँदैन। संघर्षका नयाँ अध्याय बाँकी छन्। त्यसैसँग सफलताका खुड्किला पनि गनिँदै जान्छन्।

'अरेस्टिङ गड इन काठमान्डु'का लागि सम्राटले प्रख्यात अमेरिकी पुरस्कार ह्वाइटिङ राइटर्स अवार्ड पाए। त्यो किताब बानर्स एन्ड नोबल डिस्कोभर ग्रेट राइटर्स प्रोग्रामका लागि छानियो। उनका कथाहरू अमेरिकी राष्ट्रिय रेडियोबाट वाचन हुन थाले। अर्को खुड्किलो, अरेस्टिङ गड इन काठमान्डु फ्रेन्च र ग्रीक भाषामा पनि अनुदित भयो।

एकपछि अर्को गर्दै प्राप्त सफलताले सम्राटलाई नयाँ चुनौती दियो। उनले यस बीचमा एउटा उपन्यास लेखे। हटन मिफलिनले नै सन् २००३ मा 'द गुरु अफ लभ' शीर्षकमा त्यसलाई छाप्यो। उक्त किताब सोही वर्ष 'द न्युयोर्क टाइम्स नोटेबल बुक अफ द इयर'का रूपमा छानियो। उत्तिखेरै 'सान फ्रान्सिस्को क्रोनिकल बेस्ट बुक अफ इयर' छानियो। विख्यात 'किरियामा प्राइज'को अन्तिम सूचीमा पुस्तक पर्‍यो।

अब सम्राटका लागि लेखनबाट भाग्ने बाटो थिएन। जीविका हेतु संघर्षरत उनलाई लेखनबाट भाग्नु पनि थिएन। लेखनले नाममात्रै होइन, चुनदाम पनि राम्रै दिलाउन थालेको थियो।

सम्राटको अर्को कथाकृति 'द रोयल गोस्ट्स' त्यसको तीन वर्षपछि छापियो। छापिनु के थियो, फेरि प्रशंसा र अवार्डको ओइरो। 'द रोयल गोस्ट्स'ले त्यसैको अर्को वर्ष एसियन अमेरिकन लिटरेरी अवार्ड, द सोसाइटी अफ मिडल्यान्ड अथर्स बुक अवार्ड पायो। त्यो वासिङ्टन पोस्टको आख्यान सूचीमा दरियो। त्यो फ्रांक ओ कोनोर इन्टरनेसनल सर्ट स्टोरी अवार्डको अन्तिम सूचीसम्म पुग्यो। २०१० मा निस्केको उपन्यास 'बुद्धज् अर्फान्स' जर्मन र चेक भाषामा समेत अनुदित भयो। संघर्ष र चुनौतीबीच यो सबै सम्राटको लेखनले खनेको सफलताको गोरेटो थियो। कम्तीमा उनका पात्रमार्फत् पश्चिमी समाजले नेपाली समाज थाहा पाउन थालेको थियो।

सम्राट भने काठमाडौं या नेपाल चिनाउनकै लागि लेख्ने नगरेको दाबी गर्छन्। यही काठमाडौंमा उनी हुर्के। यसैको माया लाग्दो हो। जेम्स ज्वाइसले लेख्दैपिच्छे डब्लिनको महिमा गाएको प्रभाव उनीभित्र छ। के थाहा, देहातमा जन्मेका भए त्यसैको कथा उन्थे कि!

सम्राटलाई अमेरिकी मिडियाले नेपाली अमेरिकी लेखक भनी चिनाउँदा रहेछन्। उनलाई चाहिँ यस्तो परिचय दिन अप्ठेरो लाग्छ। 'मैले त आफूलाई नेपाली लेखक भनेरै सोचिरहेको हुन्छु,' एनआरएन भइसकेका उनी भन्छन्, 'कसैकसैले त अमेरिकाको एथ्निक राइटर भन्दिन्छन्। त्यो पनि समस्या हो।' आदिवासी बिल्ला भिराइदिएर आफूलाई मूलधारबाट पन्छाउने षडयन्त्र भइरहेजस्तो लाग्दो रहेछ उनलाई। नेपालभित्रका लेखकका लागि यसको माने के होला!

समकालीन अमेरिकी यथार्थवादी आख्यानकारमा उनी उल्लेख गरिन्छन्। सान फ्रान्सिस्को क्रोनिकलले त उनलाई बुद्धिस्ट चेखबका रूपमा मान दिएको छ। सम्राटसँग नयाँ दुःख थपिएका होलान्। पुराना दुःख भने रहेनन्। अब त किताब लेख्नु, पुरस्कार जित्नु, रोयल्टी पाउनु सबै दालभातजस्तो भइसक्यो।

सम्राटका मातापिता यहीँ छन्। पिता हरिभक्त उपाध्याय जेम स्टोन रिसर्चर हुन्। पत्नी बबिता र १२ वर्षीया छोरी शाहजादीसाथ उनी इन्डियाना राज्यको ब्लुमिङ्टनमा बसिरहेछन्। काठमाडौंकै परिवेश तानेर लेखिएको अर्को उपन्यास 'सिटी सन' माघतिर आउँदै छ। उनी भन्छन्, 'सहरको बारेमा होइन, नेपाली पात्रबारे लेखेको हुँ। मेरो लागि यो अहिलेसम्मको उत्कृष्ट लेखन हुनेछ।' उनका अनुसार अहिले त्यसको कभर छनोट भइरहेको छ।

उपन्यासको विषय के छ, उनका लागि उप्काउन गाह्रो छ। कथानक वर्णन गर्न गाह्रो लाग्ने भएकाले नखुलाएका रे। प्रकाशक बदलेका छन्। पुरानो प्रकाशक अर्कोसँग मर्ज भएपछि सम्राटसँग काम गर्ने सम्पादकीय टिम छिन्नभिन्न भयो। 'त्यही बेला सोहो प्रेस नामक प्रकाशकले मेरो नयाँ उपन्यासको पाण्डुलिपि मन परायो,' उनी भन्छन्।

सम्राटले नेपाली किताब खासै पढेका छैनन्। सेन्ट जेभियर्समा पढ्दाताक नेपाली भाषामा राम्रै दक्खल रहेको दाबी गर्छन्। अमेरिका जानुअघिसम्म नेपालीमा लेखेछन् पनि। नेपाली भाषामै लेखेर काठमाडौंमा निबन्ध प्रतियोगिता पनि जिते। अंग्रेजीमै लेख्ने पढ्ने आदत थियो। त्यसमाथि भाषा भनेको निरन्तर अभ्यासबाट प्राप्त हुने साधना हो। उनले अभ्यास र साधना दुवै गर्न छाडिदिए। उनको खास रुचि अंग्रेजीमै थियो। त्यतै लागे।

सम्राटले नेपाली व्यावसायिक उपन्यासकार युधीर थापा, वसन्त पढें। हिन्दीमा अमृता प्रितम, गुलशननन्दा पढे। उनकी आमा शान्ता यस्ता किताब ल्याउँथिन्। आक्कलझुक्कल निस्कने 'पुड्के जासुस'जस्ता नेपाली जासुसी उपन्यास पढे। यतिका कुरा गरिसक्दा पनि कुनै गतिला नेपाली कृतिको नाम उनले सम्झेनन्।

सम्राट लेख्ने बेला धेरै योजना बनाउँदैनन्। यस्सै सुरु गर्छन्। त्यसपछि कथा पानी झैं बग्न थाल्छ। मेरुदण्ड बनाउने चलन छैन। स्ट्रिम अफ् कन्ससनेस प्रविधिजस्तो। लेख्दै जाँदा कथानक, पात्र र परिवेश बिस्तारै दिमागमा सेट हुँदै जान्छ।

'सिटी सन' लेख्दै गएपछि उनलाई उपन्यास विधा राम्ररी बुझेजस्तो लाग्छ। पाठकहरूको टिप्पणी छ, उनका उपन्यासभन्दा कथा बढी जम्छन्। उनको भने उपन्यासमा टक बसिसकेको छ। कथा छाडिहाल्ने मुडमा भने छैनन्। उपन्यासलगत्तै अर्को संग्रह कथाको हुने उनको योजना छ।

नेपाली लेखकको कृति 'अरेस्टिङ गड इन काठमान्डु' को चर्चा नेपालमा हुने नै भयो। अमेरिकामा पाएको चर्चा सोचेभन्दा ठूलो थियो। सम्राट भने त्यसलाई भाउ दिन आनाकानी गर्छन्। 'मानिसहरू मेरो लेखनबारे के सोच्छन् भन्ने केवल बाह्य कुरा हो, मैले नेपालको प्रतिनिधित्व कत्तिको गरें, नेपाल मेरो लेखनमा कत्तिको आयो भन्नु पनि बाह्य कुरो हो,' लेखन–धर्मबारे उनी स्पष्ट छन्। भन्छन्, 'यस्ता चर्चा चल्नु बेठीक होइन। लेखक एउटा कलाकार पनि हो। उसका लागि यस्ता कुराको खास अर्थ छैन।'

कलाकारको दुनियाँ अर्कै हुन्छ। बाहिरी दुनियाँमा केन्द्रित हुन थाल्यो भने त्यसले साधनामा असर पार्न थाल्छ। यसले यसो भन्छ, यसले उसो भन्छ भनेर कहीँ पुगिँदैन। सम्राटका लागि कला कलाको लागि नै भनेजस्तो भने होइन। उनी प्रचार, पुस्तक समीक्षाको चासोभन्दा पर गएर बस्छन्। त्यता उनको दिमाग जाँदैन।

तीभन्दा पर सम्राटको छुटै संसार छ। 'अरूले मन पराउँछन् कि पराउँदैनन् भन्ने होइन, मैले आफ्नै बुझाइ र सामर्थ्यलाई चुनौती पेस गर्न सकेको छ कि छैन, त्यो महŒवपूर्ण कुरा हो,' उनी भन्छन्, 'बरु त्यसरी हेर्दा मैले राम्रै गरिरहेको छु जस्तो लाग्छ। प्रत्येक पुस्तकमा नयाँ प्रयोग गर्दै लगिरहेको हुन्छु। लेखकका लागि नयाँ कुरा लेख्नुको सधैं महŒव हुन्छ। उही कुरा दोहोर्‍याउनुको लेखनमा कुनै अर्थ हुँदैन।'

किहोटे कोभले आयोजना गरेको कथा प्रतियोगितामा निर्णायकका रूपमा यसपालि काठमाडौं आएका सम्राट जुनसुकै भाषामा लेखे पनि फरक नपर्ने, तर पाठकलाई झर्को लाग्न दिनु नहुनेमा स्पष्ट छन्। प्रतियोगी लेखकलाई उनको सल्लाह पनि यही छ। 'अंग्रेजीसँग विश्वभरि चर्चा दिलाउने ल्याकत छ,' उनी भन्छन्, 'तर लेखकले आफैंतिर फर्केर हेर्नुपर्छ, मेरो माध्यम भाषा के हो भनेर। विश्वभरि चर्चा पाउने रहर सबैलाई होला, तर त्यो जीवनको सबथोक होइन।'

सम्राट बिहानको समयमा लेख्छन्। परिवार सुतेको बेला चियाकफी पिउँदै दुई–तीन घन्टा लेख्ने मुड चल्छ उनको। अरु बेलाचाहिँ क्याफे र स्टार बक्समा गएर लेख्छन्। लेख्दा ल्यापटपको छेउछेउमा टिप्छन्, नोट बनाउँछन्। कहिलेकाहीँ निबन्ध र अखबारी लेख लेख्छन्। न्युयोर्क टाइम्स, हफिङ्टन पोस्टमा यदाकदा छापिन्छन्। लामो होस् या छोटो, लेखिसकेपछि पहिलो ड्राफ्ट पढ्न पत्नीलाई दिन्छन्। उनी सम्राटीय कलमको कहिले प्रशंसा गर्छिन्, कहिले आलोचना। उनलाई पनि पत्नीको प्रतिक्रिया कुनै ठिक लाग्छ, कुनै होइन जस्तो। कहिलेकाहीँ विवाद पनि पर्छ।

'रचना पढेर तत्काल प्रतिक्रिया दिने मान्छे आफूसँगै भयो भने गजब हुनेरै'छ,' सम्राट हाँस्दै सुनाउँछन्, 'मेरा विद्यार्थी भन्छन्, खै मेरो त पढिदिने कोही छैन।'

सम्राटमाथि आरोप छ– उनी आख्यानमा बढ्तै छाडा शब्द प्रयोग गर्छन्। उनी भने सकार्दैनन्। 'साहित्यले मानिसलाई केवल शुद्धतावादी बाटोमा मात्रै हिँड्न उपदेश दिनुको के अर्थ?' उनको प्रश्न छ, 'दिमागलाई चुनौती दिनुपर्‍यो। लेखनको काम नै नीतिनियमका ठेकेदारलाई लोप्पा खुवाइदिनु हो। नत्र साहित्य किन चाहिन्थ्यो!'

'ठूला' लेखकका कृति धेरै वर्षसम्म यस्तै भाषाशैलीका कारण प्रतिबन्धित भएको इतिहास बिर्सन नहुने सम्राट बताउँछन्, 'अंग्रेजीमा बोल्ने र लेख्ने भाषाबीच खास भिन्नता छैन। यहाँ भने साहित्यिक भाषा र मान्छेले बोल्ने भाषाबीच फरक पर्न गएको हो। साहित्य भनेपछि अलि काव्यिक भाषा हुनुपर्छ भन्ने मान्यता छ क्या।' पहिलो कृति छापिँदा यो त साहित्य हुँदै भएन भनी खिसी गर्नेहरू भेटिएको उनी सम्झन्छन्। भन्छन्, 'मखमली भाषामा लेखेपछि मात्रै साहित्य हुन्छ भन्नेलाई नेपाली साहित्यमा पनि चुनौती पेस भइरहेको छ।'

नेपाली लेखकमध्ये मञ्जुश्री थापाको प्रशंसक हुन् सम्राट। 'फर्गेट काठमान्डु' जस्ता नन्फिक्सनले उनलाई प्रभाव छाडेका छन्। पपुलर बान्कीका लेखकसँग उनको खासै विश्वास छैन। शोभा डे, चेतन भगत जस्ताको आफ्नै लेखन छ, आफ्नै पाठकसमूह। सम्राटको छनोट पृथक छ। उनका पाठकबीच स्टिफन किङजस्ता व्यावसायिक लेखक पनि एकैसाथ छाइरहेछन्। त्यस्ता लेखक विश्वविद्यालयमा कहिल्यै पढाइँदैनन्, विमर्श गराइँदैनन्। सम्राटलाई विश्वविद्यालय छिरिरहन मन छ, पुस्तक भएर। अमेरिकाको प्राज्ञिक जमात्मा बसेरै लेखक हुन सजिलो छ भन्ने उनलाई पछि थाहा भयो। प्राध्यापनको पैसाले खान लाउन पुगिहाल्थ्यो। लेखनले जीवन सहज बनाइदियो।

सम्राटले पढाउने विषय क्रिएटिभ राइटिङ हो। यो विषय नपढी पनि लेखक बन्न सकिन्छ भन्नेहरू भेटिन्छन्। सम्राट यस्तो तर्क नकार्छन्। 'लेखन पढेर सिकिने कुरो होइन भन्नेहरूलाई मेरो प्रश्न छ, के उनीहरू संगीतको बारेमा पनि त्यही कुरा भन्न सक्छन्? होइन, त्यो त अभ्यास गर्नुपर्छ भन्छन्,' उनको जिकिर छ, 'पियानिस्ट, भायलनिस्ट, डान्सरहरू धेरै घन्टा अभ्यास गर्छन् र उनीहरू राम्रो प्रदर्शन गर्छन्। लेखन पनि त्यस्तै हो।'

जिनियस हुँ भनेर मात्रै पुग्दैन। त्यसका लागि निरन्तर साधना चाहिन्छ। सम्राटको संघर्षमय लेखनयात्राले यसै भन्छ।

सम्राटले यति चर्चा बटुलिसके। अहिलेसम्म व्यवस्थित प्रचार भने छैन। अरूको करले भर्खरै वेबसाइट खोलेका उनीसँग अहिलेसम्म फेसबुक छैन। 'आ होस्, को यो झन्झटमा लागिरहोस्, फेसबुक समय खाने काम हो,' उनी भन्छन्, 'मान्छेहरूको रेस्पोन्स दिनुपर्‍यो। त्यही भएर ट्वीटरमा पनि छैन।'

जति चर्चा पाए पनि किताब लेखेर आर्थिक आवश्यकता थेग्न उता पनि गाह्रै छ। सम्राटका किताब विश्वविद्यालयमा पढाइ हुन्छन्। पठन सत्र चलिरहन्छन्। उनी आफ्नो उचाइसँग मख्ख छन्, आफ्ना उकालीहरुसँग सतर्क पनि। यो उनको इमानदारी हो।

दुईघन्टे बसाइमा मैले उनीसँग थुप्रै कुरा गरें। सबै कुरा यहाँ लेख्न सम्भव छैन। उनका कथा पढ्दा थाहा हुन्छ, नेपाली समाजलाई उनले अझै गहिराइमा बु‰न बाँकी छ। उपन्यासमा पनि त्यस्तै अनुभूति हुन्छ। सम्राटको मेहनतले उनको उचाइलाई बलियो इँटा हाल्नेछ। आशा गर्नु उचित हुन्छ। एक नेपालीले पश्चिमी पाठकसँग गरिरहेको संवाद गौरवको भागिदार छँदै छ।

झमक्क साँझ परिसकेको छ। मलाई अब उनीसँग छुट्नु छ। अंग्रेजीवाले नेपाली लेखकसँग देवनागरी लिपिमा अटोग्राफ माग्ने इच्छा छ।

अहो, उनले त बडो सुन्दर नेपाली अक्षरमा अटोग्राफ दिए। लेख्दालेख्दै अन्तिम वाक्यमा पुगेर अड्किए।

शर्माए, 'अलिअलि अड्किन्छ क्या कहिलेकाहीँ। यस्तो बेलाचाहिँ अंग्रेजी आउँछ।'

'तपाईंले के लेख्न खोज्नुभएको?'

'आई विस् योर सक्सेस्।'

'तिमीलाई सफलताको कामना।'

'हो यही भन्न खोजेको हो। बरु ह्रस्वदीर्घ मिलेन कि?'

'होइन एउटा पनि गल्ती भएको छैन।'

'पक्का हो?'

'सोह्रै आना।'

'हत्तेरिका! म पहिले निकै राम्रो नेपाली लेख्थें भन्या।'

ढिलो भइसकेको थियो। मैले हतारहतार पत्याएँ र बिदा मागें।



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/3803.html#sthash.yt102FJu.dpuf

समालोचनाको घाम

अमर न्यौपाने

दल र नेतासँग आजित जनता साहित्य पठनतिर लागेका छन्। गतिलो साहित्य लेख्न नसके आफूले आशा गरेका पार्टी र नेतासँग आजित भएझैँ जनता साहित्यकारसँग पनि आजित हुनेछन्। लेखकले पनि जनताको विश्वास गुमाउनेछन्।


चाहे राजनीति होस् या साहित्य, जनविश्वास चाहिन्छ। स्वान्त सुखायः का लागि मात्र साहित्य लेख्ने हो भने लेखे मात्र हुन्छ, छाप्न जरुरी छैन। छापेर पाठकसम्म पुर्‍याउने हो भने त्यहाँ आफ्ना कुण्ठा, सस्ता भावना, उडन्ते कुरा होइन आम मानिसलाई सम्बोधन गरिनुपर्छ। तिनका कथा व्यथा लेखिनुपर्छ। त्यो केही हदसम्म पूरा हुँदै आएको छ। यो सुखद कुरा हो।

त्यसैले अहिलेको यो साहित्यलेखन, प्रकाशन र पठनको स्वर्ण समयको प्रारम्भिक अवस्थालाई साहित्यकारले संयम, धैर्य र कुशलताका साथ पाठकहरुको मागलाई पूरा गर्नुपर्ने चुनौती छ। लेखकले यस समयमा पाठक विश्वास जित्न सकेनन् भने जनता फेरि निराश हुनेछन्। र साहित्यकारलाई पनि नेताझैँ अविश्वास गर्नेछन्।

अहिले साहित्य पढ्नु प्रतिष्ठाको विषय बन्दै गएको छ। पहिले पहिले लेखक, कवि बन्नु भनेको निरीह र समाजको हेपिएको पात्रजस्तो हुन्थ्यो। तर अहिले लेखक, कवि हुनु भनेको इज्जतको विषय बन्दै गएको छ।

सायद त्यसैले होला अहिले लेखक तथा पाठक दुवै उत्साहित छन्। यो उत्साहले साहित्यको भविष्य पनि उज्ज्वल देखिन्छ।

तर साहित्य सिर्जना गरेर मात्र पुग्दैन। बजार बिस्तार भएर मात्र पुग्दैन। लेखक तथा प्रकाशकको सङ्या बढेर मात्र पनि पुग्दैन। साहित्यलाई भित्रैदेख बलियो बनाउने हो भने यसलाई सैद्धान्तीकरण पनि गर्दै लैजानुपर्छ।

हो, साहित्य समालोचनाभन्दा अघिअघि हिँड्छ। तर हाम्रो समालोचना त साहित्यको पछि मात्र होइन धेरै पछि छ। साहित्यले यसो पछाडि फर्केर हेर्दा पनि नदेखिने गरी पछाडि छ। एकछिन कुरे पनि समालोचना परसमेत देखिँदैन। धेरै पछाडि छ। तर साहित्यले समालोचनालाई नजिक ल्याउन आफ्नो गति कम गर्नु हुँदैन। समालोचना आफैंले आफ्नो गति बढाउनुपर्छ।

पत्रपत्रिकामा पुस्तक समीक्षा ह्वात्तै बढेको छ। त्यो समालोचना होइन, पुस्तक समीक्षा मात्र हो। पुस्तकमा के छ, के छैनको सामान्य परिचय हो। विश्वविद्यालयमा पढाइ हुने पाठ्यपुस्तक, एमए तथा विद्यावारिधिमा गरिएका शोधपत्रलाई सामान्य फेरबदल गरेर मोटा समालोचनाका पुस्तक पनि ह्वात्तै बढेका छन्। तर ती नेपाली साहित्यलाई भन्दा धेरै पनि लेख्नेका बायोडाटामा तथा आफ्नो नामको अगाडि डा. लेख्ने काममा बढी प्रयोग भएका छन्। र विश्वविद्यालयमा ती समालोचकलाई बढुवा हुन काम लागेको छ।

नेपालमा साहित्यका डाक्टरको संख्या पनि ह्वात्तै बढेको छ। तर कस्तो अचम्म! तिनै साहित्यका डाक्टर भन्छन्— नेपालमा अहिलेसम्म कुनै सैद्धान्तिक समालोचना छैन।

त्यसो भए उनीहरू कसरी साहित्यका डाक्टर भए? साहित्यका डाक्टरले नेपाली समाज, संस्कृति र जनजीवन अनुसारको सैद्धान्तिक समालोचना यसरी नै प्रस्तुत गर्न सकेनन् भने पादरी शिक्षा पढेका डार्विन वैज्ञानिक, औषधि विज्ञानका डाक्टर फ्रायड मनोविज्ञानको प्रखर व्याख्याता भएजस्तै अब नेपालमा पनि साहित्यका डाक्टरलाई चुनौती दिन अन्य क्षेत्रका व्यक्ति प्रस्तुत हुने सम्भावना बढेको छ।

यहाँ एउटा पनि सैद्धान्तिक समालोचना नभएको आजसम्मको यो अवस्थामा हाम्रो माटोबाट जन्मिएका साहित्यिक कृतिको समालोचना कसरी हुन्छ हँ? यही माटोमा जन्मिएका यति धेरै साहित्यिक कृतिमाथि एमए तथा पिएचडीका शोध भएका छन्। के ती शोध पास गर्न, शैक्षिक प्रमाणपत्र लिन र आफ्नो नामको अगाडि डा. लेख्न मात्र भएका हुन्?

साहित्य मात्र होइन समालोचना पनि आविष्कार हो। तर यहाँ खाली मिस्त्री काम मात्र भइरहेछ। विश्वविद्यालयमा नेपाली साहित्य पढाइ हुन्छ। के नेपाली साहित्यलाई व्याख्या गर्न नेपाली सैद्धान्तिक समालोचना चाहिँदैन?

नेपाली साहित्यमा जे लेखिए पनि तिनलाई पश्चिमी समालोचनाका साँचोमा राखेर हेरिन्छ। त्यसैले नेपाली साहित्य—समालोचनाले अहिले आफ्नो साना खुट्टामा ठूला साइजका पश्चिमी जुत्ता लगाइरहेछ। आफ्नो शरीरमा नमिल्ने ठूलो ह्वाङ्लाङ्गे कोटपाइन्ट लगाएर मख्ख भइरहेछ। पाइन्ट त बेलाबेलामा धर्म छोडेर खसिरहन्छ। खसेको पाइन्टलाई हातले समाएर माथि तान्नै पर्‍यो। समात्न बिर्सिए फेरि खस्छ। यस्तो प्रक्रिया चलिरहन्छ। कसैकसैले मज्जाले पेटी कसिदिन्छन्। पाइन्ट त पेटिकोट लगाएको जस्तो पो देखिन्छ।

हाम्रो समाज विज्ञान र सांस्कृतिक मनोविज्ञानका आधारमा हाम्रो साहित्यको मौलिक व्याख्या र समालोचना जरुरी छ। त्यसका लागि हामीसँग साहित्यको आफ्नो मौलिक सिद्धान्तको आवश्यकता छ।

साहित्यको महत्वपूर्ण आधार भनेको कृतिले उभिएको ठाउँ हो। धरातल हो। अपवाद छोडेर नेपाली साहित्य नेपाली परिवेशमै उभिएको छ। आफ्नै धरातलमा उभिएको साहित्यको व्याख्या, विश्लेषण गर्न आफ्नै धरातलको समालोचना चाहिन्छ। तर हामीकहाँ त्यो छैन।

'मुनामदन'देखि 'सुम्निमा,' 'माधवी,' 'घामका पाइला' हुँदै 'लू'सम्मका कृतिको व्याख्याविश्लेषण गर्न पश्चिमी सिद्धान्तको प्रयोग गरिन्छ। त्यहाँका विषय, भाव, शैली प्रस्तुति केहीलाई पनि पश्चिमी समालोचनाका वस्त्र सुहाउँदैनन्। यस्ता कृति हाम्रोमा कयौँ छन्। तिनको न्यायोचित सैद्धान्तिक व्याख्या भएको छैन।

मानिसको सामाजिक तथा आर्थिक व्यवहार, यौन मनोविज्ञान संस्कृतिसँग जोडिएको हुन्छ।

एउटा अर्को सानो उदाहरण— जस्तो म आर्य संस्कृतिको मानिस। हाम्रो संस्कारमा मामाकी छोरीलाई आफ्नै बहिनी सरह मानिन्छ। तिहारमा टीका लगाएर ढोग्नुपर्छ। मेरो साथी गुरुङ हुन्। उनको आफ्नी मामाकी छोरीमाथि वैवाहिक हक नै लाग्छ। उनलाई मामाकी छोरी देख्ता यौनको भावना आउँछ भने मलाई भगिनी प्रेमको भावना आउँछ। बाहुन क्षेत्री आदि जातिमा भाउजूलाई आमासरह मानिन्छ तर हिमालतिर लामा तथा शेर्पा संस्कारमा पत्नी बनाउने चलन छ। थारु जातिमा दाजुको कुनै कारणवश देहान्त भए देवरले भाउजूलाई पत्नी बनाउँछ। भनेपछि कुनै जाति तथा संस्कृतिमा भाउजूलाई देख्ता मातृत्वको भाव आउँछ भने कुनैमा वासनात्मक भावना आउँछ। यस्तो किसिमको यौन मनोविज्ञानको व्याख्या के फ्रायड, एडलर या कार्ल गुस्ताब जुङको यौन मनोविज्ञानको सिद्धान्तले गर्न सक्छ?

यौनमनोविज्ञान भन्ने कुरा संस्कृति र संस्कारसँग जोडिएको हुन्छ। पश्चिमी यौन जीवन र पूर्वीय यौन मनोविज्ञान धेरै फरक छ। यहीँ नेपालमा पनि जाति र संस्कृति अनुसार यौनमनोविज्ञान फरकफरक हुने गर्छ। यस्तो किसिमको यौन मनोविज्ञानको व्याख्या गर्न हामीलाई आफ्नै मौलिक समालोचनाको आवश्यकता छ।

यस्ता अनेकौं संस्कार यहाँ छन्। ती केही हदसम्म कृतिमा आएका पनि छन्। यस्तो किसिमको यौनमनोविज्ञानको व्याख्या फ्रायड, एडलर या जुङ्गको सिद्धान्तले गर्ला त? तर हाम्रा समालोचक हाम्रो मौलिक सांस्कृतिक यौनमनोविज्ञानलाई ल यो कृतिमा यौन आयो भनेर हतारिँदै सबै कुरा फ्रायडवादको साँचोमा राखिदिहाल्छन्।

पहिले हाम्रोमा धेरै अनमेल विवाह हुने गर्थे। यससम्बन्धी केही उपकथा 'सेतो धरती'मा पनि छन्। आफ्नो बूढो लोग्नेप्रतिको असन्तुष्टि तरुनी स्वास्नीहरु वनमा दउराघाँस गर्न जाँदा यसरी पोख्थे— वल्लो छेउको कत्ले माछो पल्लो छेउमा धाउँछ, बूढो पोइको ओछ्यान लाउन जाँगर मरी आउँछ। यो किसिमको यौन मनोविज्ञानको व्याख्या गर्न फ्रायडको यौनमनोविज्ञान पर्याप्त हुन्छ जस्तो लाग्दैन।

नेपाली साहित्यमा केही आयाम र वाद नआएका होइनन् तर तिनले त्यति स्पेस लिन सकेका छैनन्। जस्तो तेस्रो आयाम आयो। तेस्रो आयामका तीन आयाम बस्तुता, चित्रात्मकता र सम्पूर्णतामध्ये जीवनको सम्पूर्णता लेख्न सकिदो रहेनछ भनेर इन्द्रबहादुर राई लीला लेखन भनेर लागे।

त्यसको धेरैपछि सृजनशील अराजकता, रङ्गवाद, भयवाद भनेर थुप्रै वाद आए तर यिनले आफूलाई पूर्ण प्रमाणित गर्न सकेका छैनन्। र तिनका आधार पनि प्रायः पश्चिमी नै देखिन्छन्। पाटपुर्जा विदेशबाट ल्याएर यहाँ फिटिङ गरेजस्तो। यिनलाई मौलिक बनाउने आधार खोज्न सकिन्छ। यो कर्म भने शुभ सङ्केत हो। यी वादले भोलिका दिनमा हुर्कन, बढ्न, फुल्न, फल्न पाए भने अवश्य पनि बीउ लाग्ने छन्।

इन्द्रबहादुर राईले लीलालेखनमा धेरै हदसम्म मौलिक व्याख्या गरेका छन्। जसलाई मलजल गर्ने काम कृष्ण धरावासी, रत्नमणि नेपालले गरे। रत्नमणि नेपालले आफ्नो कृति 'लीलाधारणा र कथाहरू' मा लीलावाद नाम दिएर नेपाली समाज, इतिहास, राजनीति र साहित्यको संक्षिप्त रुपमा भए पनि गतिलो व्याख्या गरेका छन्। यो र यस्तै नेपाली साहित्यमा देखिएका सैद्धान्तिक समालोचनाको सङ्केतले केही आशावादी बनाएको छ। आशा गरौँ अबको केही वर्षमै नेपालमा आफ्नैपनको सैद्धान्तिक समालोचनाको घाम उदाउनेछ र नेपाली साहित्यको व्याख्याविश्लेषण गरिनेछ।



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/2896.html#sthash.DggqiyDq.dpuf

फुकोका अनेक अनुहार


फुकोका अनेक अनुहार

सिपी अर्याल/सरोज जी.सी.


'व्यक्तिगत रूपमा अहिलेसम्म मैले कोही बौद्धिक मानिस भेटेको छैन। उपन्यास लेख्नेहरू, बिरामीको हेरचाह गर्नेहरू, अर्थशास्त्रीहरू भेटें। पढाउनेहरू भेटें, पेन्ट गर्ने मानिस भेटें र केही पनि काम नगर्ने मानिस भेटें। बौद्धिक व्यक्तिहरू कहिल्यै भेटिनँ।' विश्वविख्यात दार्शनिक मिसेल फुकोले कोही पनि मानिस बौद्धिक होइनन् भन्ने छनक दिँदै यस्तो भनिदिएपछि आफूलाई बौद्धिक भन्न रुचाउनेहरू उनीविरुद्ध जाइलागे। उनलाई दुर्व्यसनी, मनोरोगी, समलिंगी स्वपीडक र पागल भन्दै उनको खेदो खने।


पेरिसका विश्वविद्यालयमा फुकोका प्रवचन अरस्तु र नित्सेका ज्ञान सिद्धान्तभन्दा फरक थिए। उनका लेक्चर आवरमा भीड लाग्थ्यो। दिक्क भएर उनले आफ्नो लेक्चर सबेरै गराए, बिहानै विद्यार्थीहरू उठेर नआउलान् भनेर। तर भीड के रोकियोस्! लाठीचार्ज नै गर्नुपर्ने!
फुकोका विचारले संसारलाई अभूतपूर्व गुन लगाएका छन्। यिनै फुको मानविकी तथा समाजशास्त्रअन्तर्गत हुने अनुसन्धानहरूमा सबैभन्दा धेरै पढिन्छन्। रिफरेन्सिङमा पनि यिनैको नाम अग्रपंक्तिमा आउँछ।

उनको योगदान प्रमुख गरी शक्ति (पावर) को व्याख्यामा रिङेको छ। सामान्य जीवनमा शक्तिले कसरी काम गर्छ, त्यसले ज्ञान (नलेज) र संकथन (डिस्कोर्स) लाई कसरी प्रभाव पारिरहेको हुन्छ, त्यसले सत्य कसरी निर्माण गर्छ र सामाजिक नियन्त्रण कसरी स्थापित हुन्छ, भन्ने व्याख्या गरेका छन्। मार्क्सेली विचारले उत्पादनको स्वरूपमाथि पकड भएका शासक वर्गमाझ शक्ति निहित हुन्छ भन्यो। महिलावादीहरूले पुरुषले मात्र शक्तिको उपभोग गर्छन् भने।

शक्तिमाथिका परम्परागत विचार उल्ट्याउँदै फुकोले नयाँ विचार दिए। भने– 'शक्ति जहाँसुकै हुन्छ। यो दमनकारी नभएर सिर्जनशील हुन्छ। जो कोही व्यक्तिले निश्चित अवस्थामा शक्तिको प्रयोग गरिरहेको हुन्छ।'

फुकोका अनुसार शक्ति कुनै निश्चित तŒव वा व्यक्तिमा निहित हुँदैन, त्यो अनियमित सञ्जाल (डिस्कर्सिभ नेटवर्क) मा हुन्छ। यस्ता विचारले बौद्धिक जगत्मा एकखालको भुइँचालो नै ल्याइदियो। फुकोको यो विचार पागलपन, सामाजिक संकाय (सोसियल डिसिप्लिन), शारीरिक प्रतिमा, सत्य र यौनिकतामा लागु भए, जसले उत्तरआधुनिक पाण्डुचित्र कोर्न विशेष सहयोग पुर्‍याए। फुकोका यस्ता विचार हामीमाझ तात्तातो बहसको विषय बन्ने उत्तरआधुनिकताका केन्द्र हुन्।

हाम्रो राजनीतिक परिप्रेक्ष्यमा पनि फुकोले भनेझैं प्रत्येक नेताले आफ्नै किसिमको सत्य निर्माण गर्छन् र त्यसलाई शक्ति प्राप्त गर्ने सिँढी बनाउँछन्। त्यसमा उनीहरू सफल भए एउटा संकथन निर्माण हुन्छ र आम मानिसहरूमा त्यसैअनुसारको ज्ञानले ठाउँ ओगट्छ।

डाक्टर बाले छोरो फुको पनि आफूजस्तै बनोस् भन्ने चाहेका थिए। तर बाको इच्छा नकार्दै उनी पेरिसको चर्चित पाठशालामा इतिहास पढ्न थाले। पछि आमाले कडा कानुन भएको रोमन–क्याथोलिक विद्यालयमा भर्ना गरिदिइन्। त्यहाँ उनले रुचिकर समय बिताएनन्। मन नलागी–नलागी भए पनि इतिहास, दर्शन, संस्कृति र मानव सभ्यताका गह्रँुगा पुस्तकका पाना पल्टाउन थाले। संगत गुनाको फल भनेझैं गुरु लुइस अल्थुइसरको उठबसमा परेपछि फुकोको रुचि दर्शनशास्त्रमा बढ्न थाल्यो।

किताबी किरो भएर उनी पुस्तकालयमा घन्टौं बिताउन थाले। त्यहाँ दिनरात पढ्दै/चिन्तन–मनन गर्दै बस्थे, उता परिवार भने उनको खोजीमा धुइँपत्ताल गर्थ्यो। 'अर्डर अफ दि थिङ्स' र 'दि बर्थ अफ दि क्लिनिक' किताब लेखेपछि उनी संरचनावादतिर ढल्किए।

फुकोका अनौठा बानी थिए। एक्लै बस्न रुचाउने, कोहीसँग बोल्न मन नगर्ने, रिसाहा र हिंसा मन पराउने प्रवृत्तिका। कलेज छात्रावासको कोठामा हिंसात्मक दृश्य पोखिएका पोस्टर टाँस्थे।

फुकोले आफूलाई अपराधी भन्न पनि भ्याए, कारणचाहिँ प्रष्ट्याएनन्।

कुनै बेला आफ्ना सहपाठीलाई मार्न तरबार लिएर पनि दगुरे। एकपटक आत्महत्याको असफल प्रयास गरेपछि उनी मनोरोग अस्पतालमा भर्ना भए। डाक्टरहरूले त्यसको कारण बताए– समलैंगिकताबाट चरम उद्वेलित भएर उनले आत्महत्याको प्रयास गरेका हुन्। समलैंगिक हुनु फ्रान्सेली कानुनमा वैध भए पनि त्यो सामाजिक निषेध थियो।

फ्रान्समा समलैंगिकता निषेधित भएकोले उनी स्वीडेन गए। त्यहाँ गएर आफ्नो जीवनको महत्त्वपूर्ण खण्ड बाँचे। समलैंगिक सम्बन्धमा अनेकन मानिससँग बाँधिए, रक्सी खाएर ढुन्मुनिँदै हिँडे, ड्रग्सको व्यापक प्रयोग गरे। अझ जगुआर नामक रेसिङ कारमा हुइँकिदै अनेकन हत्कन्डा मच्चाए। आफ्ना औंलाहरूमा तीखा काँटीले घोचेर बगिरहेको रगत हेर्दै आत्मानन्द प्राप्त पनि गरे! त्यसबाहेक स्वीडेनमै त हो उनले बौद्धिकताको चरम सीमा छुन सकेका। स्वीडेनको उप्सालास्थित पुस्तकालयमा उनी घन्टौं पढेर बसिदिन्थे। त्यहाँ उनले चिकित्साशास्त्र इतिहासको विशेष अध्ययन गरे।

सन् १९६६ मा फुको ट्युनिसियामा गएर प्राध्यापन गर्न थाले, ट्युनिस विश्वविद्यालयमा। त्यहाँ उनले नित्से, डेकार्ट्स पढाए। त्यसबेलासम्म फुको एउटा सार्वजनिक व्यक्तित्व भइसकेका थिए। ट्युनिसियामा बस्दा त्यहाँको संस्कृतिबाट धेरै प्रभावित भए।

फुकोका धेरै तस्बिरहरू हेर्दा उनी मुडुलो टाउकोमा देखिन्छन्। उनी बस्ने ट्युनिसियाको गाउँमा प्रत्येक दिन दाह्री खौरिएजस्तै कपाल पनि खौरनुपर्थ्यो। त्यही संस्कार मान्दै फुको दैनिकजसो आफ्नो कपाल खौरन्थे। त्यहाँ बस्दा पनि फुकोले आफ्नो जिन्दगीको पूर्ण उपभोग गरे। उनी सार्वजनिक छवी बोकेका विद्वान कहलिए। त्यहीँ बस्दा उनको उग्रस्वभावले धेरैलाई चिढ्याएको थियो। कारणतः उनी केही युवाद्वारा नराम्ररी पिटिए। त्यस घटनाले उनलाई ट्युनिसियाबाट पेरिस फर्कायो।

पेरिस गएर उनी अझ चर्चित भए। त्यहाँका विश्वविद्यालयमा प्रवचन दिन थाले जुन अरस्तु र नित्सेले दिएका ज्ञानका सिद्धान्तभन्दा बिलकुल फरक थिए। उनका लेक्चर आवरमा यति भीडभाड हुन थाल्यो, त्यसले फुकोलाई दिक्दार बनायो। एक्लै आफूमात्र बोलिरहनुपर्ने। त्यस्तो भीडबाट प्रश्नहरूको माग पनि गर्न नसकिने। दिक्क भएर उनले आफ्नो लेक्चर सबेरै गराए, त्यति बिहानै विद्यार्थीहरू उठेर नआउलान् भनेर। तर भीड के रोकियोस्! लाठीचार्ज नै गर्नुपर्ने!

जीवनका पछिल्ला कालमा उनले दार्शनिकहरूले पत्रकारिता लेखन पनि गर्नुपर्छ भन्ने ठाने। त्यसैअनुसार उनका लेखहरू पत्रिकामा निरन्तर प्रकाशित भए, 'मिसेल फुको इन्भेस्टिगेट्स' नामक स्तम्भमा।

आफ्नो एउटा चर्चित पुस्तक 'आर्किएलजी अफ नलेज' मा फुकोले ग्रिक–रोमनकालको ज्ञानसम्बन्धी अवधारणालाई प्रश्न गरेका छन् जसले ज्ञानलाई गणितीय विज्ञानका रूपमा मात्र व्याख्या गर्छ। इतिहास केवल घटनाहरूको क्रमिकता हो भन्ने धारणालाई फुकोले उल्ट्याए र भने, सिलसिला नमिलेको कालखण्ड नै इतिहास हो। यसमा पनि खाडल र अभाव हुन्छ। यो अनियमित आकस्मिकता पनि हो।

फुकोले भाषालाई गौण ठाने। मानिसको स्वरूपमा जोड दिए। प्राचीन ग्रिक ज्ञानले मानिसबारे दिएको परिभाषालाई आफ्नै ढंगमा व्याख्या गर्दै भने, मानिस आफैंमा सैद्धान्तिक अवधारणा होइन। आफ्नो सांसारिक अवस्थालाई पूर्णरूपमा भोग गर्दै आफू भएर बाँच्नु नै मानिस हुनु हो भने। प्राचीन ज्ञान र अस्तित्ववादी विश्लेषक हाइडेगर, सार्त्र, डेकार्ट्स र नित्सेले दिएका विचारहरूबाट अलग्गिएर उनले नलेज (ज्ञान), ल्यांग्वेज (भाषा) र म्यान (मानव) सम्बन्धी आफ्नै धारणा विकास गरे। नित्सेले 'डेथ अफ गड' को घोषणा गरेजस्तै फुकोले 'डेथ अफ म्यान' भने। त्यो भन्नाले ग्रिको रोमन समाजले मानवबारे गरेको परम्परागत व्याख्याको अन्त्य भयो भन्नु थियो।

यौनिकताबारे फुकोका विचारले विद्वानहरूलाई चकित बनाएको छ। ग्रिकहरूले यौनलाई आवश्यक तत्त्व माने जुन लुकिछिपी हुनुपर्थ्यो। स्वर्गानुभूति प्राप्त गरी जीवनलाई भोग गर्ने एउटा माध्यम माने। यस विचारलाई फुकोले 'एस्थेटिक्स अफ दि सेल्फ' नामकरण गरे।

उनी कुनै याममा कम्युनिस्ट भए, फ्रेन्च कम्युनिष्ट पार्टीको सदस्य भएर। तर त्यसको कट्टर कार्यकर्ता भएनन्। कुनै याममा कम्युनिस्टका निन्दक पनि भए, 'यहुदी र समलिंगीलाई विभेद गरियो' भन्दै। आफ्नो समलैंगिकतालाई फुको संलग्न पार्टीले स्वीकार्न सकेन, सो पार्टीले यहुदीहरूको पनि घोर विरोध गर्थ्यो। त्यो उनलाई चित्त बुझेन। पार्टी राजनीतिलाई बिदावारी गरेपछि फुकोको जिन्दगी अझ फराकिलो भयो। त्यसपछि उनी साइकियाट्री र साइकोलोजीको अनुसन्धान र अध्यापनमा लागे।

पागलपनबारे फुकोका गहकिला अनुसन्धानहरू आए। आफ्नो विद्यावारिधि पनि पागलपनको अध्ययनबारे नै गरे जहाँ उनले पागलपनको अवधारणा तीन चरणबाट गुजि्रएको बताए– रिनेसा एज (पुनर्जागरण काल), क्लासिकल एज (प्राचीन काल) र मोडर्न एज (आधुनिक काल)।

फुको यस्तो समयमा जन्मिए जुनबेला ज्ञानलाई नै मनुष्य अस्तित्वको प्रमुख तŒव ठानिन्थ्यो। अज्ञानीहरूको अस्तित्व मनन गरिँदैनथ्यो। त्यो युग प्रतिस्पर्धात्मक थियो। धेरैभन्दा धेरै कुराको ज्ञान हुनु नै त्यसबेला महŒवपूर्ण मानिन्थ्यो। फुको पनि युगअनुसारकै थिए। चार वर्षमै विद्यालय जान थालेका उनी हुर्कंदै गए। एकलकाँटे स्वभाव उतिबेलैदेखि उनमा टाँसियो। उनको तीक्ष्ण बुद्धिलाई कसले भेट्न सक्नु!

बालक फुकोलाई उनका डाक्टर बाले एकपटक अस्पताल लगे। त्यहाँ एक बिरामीको खुट्टा चिरिँदै थियो। उनको मस्तिष्क बलियो होस् र डराउने खालको मन नहोस् भनेर फुकोलाई त्यो दृश्य हेर्न लगाइयो। यसैगरी एउटा घरमा दशकौंदेखि एक महिला थुनिएकी थिइन्। उनी बारम्बार चिच्याउँथिन्– पीडा र क्रोधले। ती महिलाको चित्कार सुनेर फुकोले आनन्द लिए। त्यसैले उनी त्यो घरको बाटो बारम्बार हिँड्ने गर्थे। यस्ता घटनाको प्रभाव फुकोलाई जीवनभर परिरह्यो। त्यो प्रभाव उनका लेखनीहरूमा स्पष्ट देख्न सकिन्छ।

आफूलाई लागेका उत्तरसंरचनावादी र उत्तरआधुनिकतावादीको बिल्ला हटाउन उनले चाहेका थिए। तर अझै पनि मानिसहरूले टेरेका छैनन्। उनले आफूलाई आधुनिकतावादी सिद्धान्तका समालोचकमात्र भन्न रुचाए। जति काम गरे त्योभन्दा थोरै श्रेय लिन खोजे। हामीकहाँ हुने बौद्धिक संस्कारको ठ्याक्कै उल्टो! इतिहासविद्, उत्तरसंरचनावादी, उत्तरआधुनिकतावादी हुँदै अन्त्यमा उनले आफूलाई आधुनिकतावादीमा मात्र सीमित राख्न चाहे। यसको कारण आधुनिकतावाद नै त्यसपछिका दर्शनका मूल हुन् भन्ने लागेर हुन सक्छ।

फुकोको आत्मकथा लेखक डिडियर एरिबनले उनलाई 'जटिल र बहुरूपी पात्र' भनेका छन्। हुन पनि फुको उस्तै थिए। कुनै पनि विषयको अथाह ज्ञान उनीमा थियो अनि स्वभावचाहिँ उग्र। उमेर बित्दै जाँदा उनको व्यक्तित्वमा पनि व्यापक उतारचढाव आए। युवा अवस्थामा 'स्वपीडक' फुको जीवनको मध्यकालतिर त्यसभन्दा भिन्दै भए, प्रफुल्ल खालका। उनले भनेका पनि छन्, मानिसको चरित्र सधैं एकै किसिमको हुँदैन, परिवर्तनशील हुन्छ। अरूसँग छलफल गर्दा व्यक्तिको चरित्र छताछुल्ल हुन्छ। फेरि जीवनको उत्तरार्द्धमा उनलाई व्यक्तिगत र बौद्धिकताको संकट पर्‍यो। गतिलो बौद्धिक खुराक विश्वलाई दिइसकेका थिए, तर आफू भने पूरै सन्तुष्ट थिएनन्, त्यसपछि के? भन्नेमा पनि उनलाई द्विविधा रह्यो।

फुकोले त्यहीबीचमा गम्भीर खालको कार दुर्घटना भोग्नुपर्‍यो। कार दुर्घटनाले फुकोलाई दुःखी होइन खुसी पो तुल्यायो! सो दुर्घटनाले उनलाई मृत्युको भयबाट दूर राखिदियो जुन उनको जीवनको सबैभन्दा 'सुन्दर स्मृति' रहन गयो। यसप्रकार फरक–फरक किसिमका जिन्दगी एकैपटक जिउन सक्ने अद्भूत क्षमता फुकोमा थियो; मानिस र परिस्थितिअनुसार उनले व्यवहार गर्न सक्थे। उनी बहुरूपी विद्वान थिए।

सन् १९२६ मा फ्रान्समा जन्मिएर ५८ वर्ष बाँचेका फुकोको एड्स रोगको कारण मृत्यु भएको मानिन्छ। यद्यपि, उनको मृत्युको कारण एड्स रोग हो/होइन भन्नेबारे फरक–फरक मत पाइन्छन्।

दर्शन र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका फुकोका त्यसैखालका सिद्धान्त र विचारहरू वास्तवमै जटिल र बुझ्न नसकिने खालका छन्। केही विचार वर्णनात्मक छन्, वस्तुहरूको ऐतिहासिकता मात्र उल्लेख गर्ने। फुकोले के भन्न खोजेका थिए, ठ्याक्कै बुझ्नु पर्ने के हो, त्यो फेला पार्नै गाह्रो हुन्छ। फुकोप्रेमी धेरैलाई यस्तै लाग्न सक्छ। अभि सुवेदीको विचारमा, 'फुकोजस्ता बुझ्न जटिल दार्शनिकहरूको कुरालाई सजिलो ढंगमा बुझाउने यत्न नेपालका विद्वानहरूले गर्नुपर्छ।'

हाम्रा विश्वविद्यालयका भित्तामा फुकोका सिद्धान्त गुन्जायमान हुन्छन् तर तिनलाई बुझ्न विद्यार्थीहरूलाई खुब कठिन हुन्छ। फुको दर्शनको नेपाली राजनीतिक, सांस्कृतिक तथा सामाजिक परिप्रेक्ष्यमा मिल्ने गरी व्याख्या हुन सके उनको योगदान नेपाली परिवेशमा पनि सही सावित हुन सक्थ्यो।



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/1542.html#sthash.zUBK9QRQ.dpuf

संकटमा पद्य



नवराज लम्साल


'शब्द थुपारीकन के हुन्छ? भाव भए पो कविता हुन्छ।' कविताका सन्दर्भमा सधैं प्रयोग हुने यो कवितात्मक वाक्य। कविता के हो– भाव हो कि शिल्प? विचार हो कि कला? या सबै हो? नेपाली सन्दर्भमा पनि यो प्रश्न सधैं उठ्ने गर्छ। वर्ण–मात्रा गनेर, निश्चित गति, यति र लय पछ्याएर लेखिने शैली पद्य र यस्ता सीमाबाट मुक्त भएर लेख्ने गद्य शैली कुन ठीक–बेठीक भन्ने हिजैदेखिको बहस आज पनि जारी छ। छन्दमा कसैले लेख्यो भने त्यो छन्दे कवि कसैले गद्यमा लेख्यो भने त्यो काव्य सौन्दर्य नबुझेको नारावादी, यी बेतुकका तर्कले विभक्त गरेको छ नेपाली कवि समाजलाई तर गद्यको गमकका सामु निरीह बन्दै गएको मानिँदैछ छन्द लेखनलाई।


केहीले छन्दलाई गायत्री सम्झे र कविता लेख्नभन्दा छन्द–छन्द भन्नमै समय खेर फाले। तिनलाई न समय–स्वरको वास्ता भयो, न समाज र परिवर्तनको हेक्का। लेखेर हुने हो कविता, कविताले बनाउने हो कवि। छन्दमात्रै राम्रो भन्नेले छन्दमा लेख्नुपर्छ र तान्नुपर्छ पाठकीय चेतना। 'बरु मासलाई मस भन छन्द नबिगार' भन्ने झुसे अर्तीले कुनै अभियान पूरा हुँदैन।
नेपाली कविताको प्रारम्भ र छन्द

नेपाली कविताको प्रारम्भ छन्दबाटै भएको पाइन्छ। धार्मिक ग्रन्थ र संस्कृत भाषाको प्रभाव र लयप्रधान काव्य प्रवाह प्रतिको जनताको श्रुतिमोहको जमाना। प्रारम्भमा कि कविता संस्कृतमा लेखिए, कि अनुवाद भए संस्कृतबाट नेपाली भाषामा। ज्ञानगुनका कुरा, भजन, सिलोक तथा कृष्णचरित्र र रामायण वाचनको प्रचलन। अपठित आमाहरूले समेत जाँतो पिँध्दै र ढिकी कुट्दै गर्दा सुललित स्वरमा गरेको श्रुतिमधु गायन। यी प्रभाव र प्रेरणाले मौलिक लेखनलाई पनि प्रभाव पार्यो्। नेपाली साहित्यको प्राथमिक कालदेखि माध्यमिक काल र आधुनिक कालसम्मका साहित्यिक महारथिहरूले समेत छन्दकै बाटो अपनाए। भानुभक्त आचार्यको रामायण जनजनको वाचनको मानक बन्यो। रामायण लेखिनुअघि नै यदुनाथ पोखरेलले लेखे–

गोरा त शूरा दुइएक हुन्छन्

गोर्खामहाँ काँतर आज कुन् छन्?

गारन् डराई पनि चिट्ठि लेख्यो

नेपालका वीर सिपाही देख्यो।

भानुभक्त आफैंले लेखे–

'कि ता सक्तिनँ भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि

भोली भोली हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली।'

यी हरफहरू नेपाली कविताका प्रारम्भिक कालकै हुन्। माध्यमिककालीन स्रष्टा मोतीराम भट्टदेखि शम्भुप्रसाद ढुंगेललगायत स्रष्टाहरू छन्दमै चुर्लुम्म डुबे। त्यतिखेर लामो भाकामा सिलोक चल्थ्यो, गजल हुन्थ्यो, भजन गुन्जन्थ्यो र खाँडो जगाइन्थ्यो। लय चेतनामा सामाजिकता र व्यंग्यविनोद, शृंगार र सौन्दर्य, वीरता र प्रकृतिप्रेम सबै थिए। अखण्ड नेपाल सुगौली सन्धिमा बाँधिएपछि ढुंगेलले लेखे–

'अनाथ कविवर्गको भयि सनाथ बस्तामहाँ

सदा अतुल देशको मधुर गान सुन्थ्यौँ यहाँ

हरे! सकल त्यो कुरा नसहँदा संगैमा गयो

अखण्ड यस नाउँको फगत आज बाँकी रह्यो।'

माध्यमिक काल र आधुनिक कालका सन्धि लेखनाथ पौडेल, बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता हस्तीहरू पनि जमे छन्दमै। लेखनाथको सम्पूर्णता छन्दमै हो। समले नाटकहरूमा समेत अतुकान्त शैलीमा अनुष्टुप छन्दको प्रयोग गरे र उनको बेजोड प्रवाह गद्यमा पनि त्यत्तिकै रह्यो। देवकोटा त ती भगीरथ गंगा हुन् जहाँ बगे पनि उत्तिकै बेजोड। 'शाकुन्तल' महाकाव्यको छन्दओज र 'प्रमिथस' महाकाव्यको गद्यचुली उनको सामर्थ्य हो। छन्द कविताका अर्का कलात्मक उचाइ राष्ट्रकवि माधव घिमिरे हुन्। उनले लेखे–

'तिम्रो नीति यही छलेर पिठमा हिर्काउने दाउ छ

धर्तीमा असहायलाई उभिने सानो कहाँ ठाउँ छ?'

गद्यमा लेखेर गोपालप्रसाद रिमाल, भूपि शेरचन, मोहन कोइराला, वैरागी काइँलाहरू पनि त्यत्तिकै बेजोड छन् तर पनि बहस जारी छ– गद्य कि पद्य? यो बहसमा तिक्तता पनि छ, पन्यालो कुरा पनि छ, एक अर्कालाई खुइल्याउने कुरा पनि छ। सिद्धिचरण श्रेष्ठले लेखेका छन्द कविताको छङछङमा पाइने मिठास नबु‰नेहरूका लागि यो कुन्नि कसले च्याउ खाओस् न स्वाद पाओस् भनेजस्तो छ। उनले लेखे–

'छप्काई शत्रुलाई छपछप खुकुरी धार हाम्रो कुँडिन्न

गर्दी घम्सान पर्दा पछितिर मुहुडा हेर हाम्रो मुडिन्न।'

के माथिका कविताहरूलाई कविता हुन छन्दले छेक्यो र? कसैले शब्दको ह्रस्व दीर्घ जान्दैन, बग्न सक्तैन छन्दमा र ऊ काव्यिक अनुशासनको सीमालाई बन्धन भन्छ त, त्यसमा के दोष छन्दको? त्यो उसैको अज्ञानता हो।

ढोंगीहरूको रुवाइ र छन्द कविताको स्खलन

काव्य समाज बाँडियो दुई धारमा र शत्रुताजस्तो भो गद्य–पद्यबीच। कतै छाप्नु पर्यो भने एक दुइटा छन्दको पनि राखिदिऊँ न त भन्ने दयाभाव जागृत हुन थाल्यो। हुँदा–हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सवमा समेत तेस्रो स्थानमा एउटा छन्द कविता आरक्षित हुन थाल्यो। प्रतिष्ठानमा प्रथम हुने ताकत राख्ने र छन्दमा दमदार कविता लेखनेहरूका मनमा पनि प्रथमै हुन त गद्य नै लेख्नुपर्छ भन्ने भान हुन थाल्यो र छन्दमा लेख्ने धेरै कविहरूले गद्य कविता लेखेर प्रथम पड्काए। तर केहीले चाहिँ छन्दलाई गायत्री सम्झे र कविता लेख्नभन्दा पनि छन्द छन्द भन्नमै समय खेर फाले। तिनलाई न समय–स्वरको वास्ता भयो, न समाज र परिवर्तनको हेक्का। समाजले तिनैलाई कवि भने तथाकथितहरूले तिनैको गुणगान गाए। पछाडि फर्केर थु भने पनि अगाडि वाहवाही गर्दिए। शब्द थुपार्नु, जेनतेन गण र अनुप्रास मिलाउनु र भाका हालेर चिच्याउनुमै कविता देख्न थाले र स्खलित भए काव्यिक सामर्थ्यबाट। छन्दलाई देखिनसहनेहरूले तिनैलाई छन्दको बेजोड मान्छे भनेर उपहास गरे र गद्यलाई गाली गर्न तिनैलाई उक्साए। मूलतः गण मिलाउनु र शब्दको खुट्टा काटेर भाका तान्नुको अचानोमा रेटिन थाल्यो छन्द कविता।

छन्द अभियान, तालिम र प्रचार

तर पन्ध्र वर्ष अघिदेखि छन्द बचाउ अभियान, छन्द प्रशिक्षण र यसको प्रचार–प्रसारमा पनि केही स्रष्टा लागि परे। पोखरेली स्रष्टाहरू पोखराबाट लागे, राजधानीमा भएकाहरू पनि आ–आफ्नै तरिकाले लागे र भने– छन्द भनेको मौलिकता हो, यसलाई बचाउनुपर्छ। काठमाडांैमा पुरानो पिँढीको एक डफ्फा 'कोक' नामको कोठे कवि गोष्ठी गर्न थाल्यो। १५ वर्षमा उनीहरू न २० बाट एक्काइस भएका छन्, न त देखाउन लायक र वाह भन्ने संग्रह निकालेका छन्। छन्द बचाऊ अभियानमा लाग्ने साथीहरूले लेखेको काव्यबाट सूक्तिमय कुनै हरफ टिप्नुपर्योल भने धेरै पाना पल्टाउनुपर्छ। तालिम पनि चले छन्दका तर समय एकातिर छ, काव्यले खोजेको विषयबिम्ब अर्कैतिर छ र कविको ध्यान अन्ततिर। राजनीतिक पार्टीको संगठन गरेजस्तो होइन काव्य लेखन। धेरै जना भेला भएर केही गरौं भन्दा सामूहिकता आउला तर फेरि पनि लेखिनुपर्ने त कविता नै हो। रामको वर्णन गरेर रामायण चर्चित भयो, तर आज लेखिएको भए रामायण न त रामायण हुन्थ्यो, न त भानुभक्त त्यो उचाइमा हुन्थे। आज अर्कै छ काव्यको स्पन्दन। लेखेर हुने हो कविता, कविताले बनाउने हो कवि। छन्दमात्रै राम्रो भन्नेले छन्दमा लेख्नुपर्छ र तान्नुपर्छ पाठकीय चेतना। 'बरु मासलाई मस भन छन्द नबिगार' भन्ने झुसे अर्तीले कुनै अभियान पूरा हुँदैन। छन्दले कवि खेलाउने सोच छ धेरैमा तर हैन असल कविले छन्द खेलाउने हो। छन्दका नाममा गति, यति र लय खेलाएर लेघ्रो पसार्ने प्रचलनबाट शिथिल छ छन्द कविता।

गजल मोह, बहर र गायन

६० को दशक गजलको चर्चाले पिटेको दशक हो। यसको उत्तरार्धतिर आइपुग्दा बहर लेख्नेहरूको संख्या निकै बढेको छ। बहरको संचना–स्वरूपसंग पूर्वीय छन्द शास्त्रको केही सूत्र नजिक हुनुले पनि छन्दतिर तानेको छ धेरैलाई। गजलसँग गायनको सम्बन्ध र छन्दसँग पनि गलाको कला! एकातिर संरचनामा निकटता र अर्कोतिर गायनको प्रभावका कारण बहर सिक्ने र लेख्नेहरूले पनि छन्दमा लेख्न र छन्दको प्रसार गर्न सहयोग गरेका छन्। कतिपयबाट ‰याउरेमा रदिफ र काफिया भरेरमात्र गजलकार भइन्न भन्ने चर्को नारा समेत लाग्नुले गजल लेख्न बहर सिक्नुको बाध्यता र त्यसले बढाउने छन्दमोह! छन्दवादीहरूलाई यो सुखद पक्ष हो। गजल भनेपछि कतिको यही नै ईश्वर हो भन्ने भ्रम र कतिको आफू त कविता लेखिन्छ भन्ने भुत्ते अहंकार। सिर्जना र संयमसँग समय कुँद्ने, आफू पनि तात्ने र तन्नेरी तताउने अभियानमा कसैलाई फुर्सदै छैन, अनि कहाँ लेखिन्छ समयको कविता र बढ्छ काव्यिक ओज समाजमा?

कोठे समालोचना र भाटगिरी

आज विश्वविद्यालयमा प्राडा भएका र समालोचनाको कर्ममा पनि लिप्त कतिपय आदरणीय शिक्षकहरूलाई थानकोटबाहिर पनि संसार छ भन्ने थाहा छैन। उहाँहरू नयाँ पुस्तालाई चिन्नुहुन्न र चिन्ने आवश्यकता पनि ठान्नुहुन्न। तीस–चालीस वर्षदेखिको थोत्रो नोटकपीमा टिपिएका टिपोट छापेर समालोचनाको भारी बोकाइदिनुहुन्छ। दुई–चार ठालु र ठेकेदारहरूको प्रशंसा गरेर पाण्डित्याइँ भर्नुहुन्छ। तन्नेरी पुस्ताले हप्तैपिच्छे गर्ने कार्यक्रमहरू, दिनहुँ आएका नयाँ स्रष्टा र तिनका पुस्तकबारे धेरै कमलाई थाहा छ। थाहा भएपछि पनि त्यहाँ वाद र विचारको कुरा आउँछ। अनुहार र भूगोलको कुरा आउँछ। पक्ष र विपक्षको कुरो आउँछ। पद, प्रतिष्ठा, पैसा र पहुँचको कुरा आउँछ। प्रज्ञा प्रतिष्ठान पस्ने कुरा आउँछ र मिडियामा छाउने रहर बढ्छ। प्रज्ञा प्रतिष्ठानका पाका प्राज्ञ र पुराना प्राध्यापकले नाति उमेरको एउटा रिपोर्टरलाई दश औंला जोडेको धेरै ठाउँमा देखेको छु। त्यो आत्मविश्वासको कमी र आफैंप्रतिको अविश्वास हो। अधिकांश समालोचकलाई पनि गद्य र पद्य विभाजनको भूत सल्केको छ। कतिपय बडे समालोचकहरू आफूलाई क्रान्तिकारी देखाउन यो युग छन्दको होइन भनेर लेखिदिन्छन् र त्यही सन्देश प्रवाह हुन्छ र पैल्यै टाढा हुन्छन् पाठकहरू।

फुको खुसी र उधारो शान

बढ्दो सञ्चार माध्यम र छन्द कवितामात्रै प्रसार गर्ने गरी सञ्चालित रेडियो कार्यक्रमहरू। बहर लेख्नेहरूले गाइदिने छन्दको गुणगान बढ्दो छ, तर ठाउँ जति पाए पनि प्रचार जति गरे पनि मूलतः कवितै राम्रो लेखिनुपर्छ। त्यसो नहुँदासम्मको यो हल्ला फुको खुसी र उधारो शान मात्र हो। आज पनि कतै उदाहरण पेस गर्नुपर्दा उनै पाकाको पंक्ति खोज्नुपर्छ। आफ्नो सुगन्ध आफैंले थाहा नपाउने कस्तुरी शैलीमा छन् छन्दका कविहरू। तिनलाई भन्नु छ, विद्रोहमा पनि छन्द यसरी बग्छ– कवि युद्धप्रसाद मिश्र–

'खोक्रा पेट अनाज भेट नहुने भोका र नाङ्गा उठ

कोदाला उठ बन्चरा र हँसिया नाम्ला र डोका उठ

साहुका करकापका कठिनता भोग्नेहरु हो उठ

ताकेका जिमिदारले युवतीका लोग्नेहरु हो उठ।'

किन लेखिन्नन् आज त्यस्ता हरफहरू वा लेखिएर पनि गुमनाम छन् त? कसले खोज्ने हो उत्तर? छन्द लेखन कमजोर हुनुमा छन्दवादी भनिनेहरूको दोष अझ बढी छ। उनीहरू अक्षर गन्दै जसै तसै मसै, अनि तनि रनि जोडेर कविता भयो भन्छन्। समाजसँग घुलमिल हुँदैनन् र समाजको संवेदना टिप्दैनन्। वस्तु, व्यक्ति र सन्दर्भको एकसरो वर्णनमा मात्र रमाउँछन्। वर्णन र विवरणको भारीले थिचिएपछि कविता कसरी कविता हुन्छ? दुई–चारले गरिदिने प्रशंसा र दुई सय स्रोता भएको रेडियोमा ठाउँ भर्न लिइदिने दुई घन्टा लामो अन्तर्वार्ताले फुर्किनेहरूले कति बुझेछन् धरातल? कठै भन्नुबाहेक अरू केही छैन तर ती कठैहरू कोट लगाएर छन्द बचाउने भाषण दिइरहेका हुन्छन्। त्यो हुल छिचोल्ने ताकत लिएर नयाँ पुस्ताले कविता–विद्रोह गर्नु जरुरी छ। राम्रा कविता सबै हल्ला र भ्रम चिर्ने एकमात्र सुकुमार अस्त्र हो। कविहरू हो एकपटक आ–आफ्ना कविता आफैंले पढौं र सोधौं आफ्नै मनलाई– हामी कविता लेखिरहेछौं कि कवि हुने रहरमा अक्षर गनेर घुँडा खियाइरहेछौं?

अन्त्यमा, महाकवि देवकोटाका पंक्तिहरू सम्झन्छु–

'माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन

दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण।'



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/2106.html#sthash.ZCOSCjoo.dpuf

जेलजस्तो जिन्दगी- शिव रिजाल



सलमान रुस्दी
१४ फेब्रुअरी १९८९। लन्डन महानगरमात्र होइन सारा विश्व भ्यालेन्टाइन्स डे को अवसरमा प्रेममय हुँदै थियो। 'मिडनाइट्स चिल्ड्रेन' र 'सेम्'जस्ता अंग्रेजी उपन्यासका लेखक सलमान रुस्दीमाथि चाहिँ यही मितिदेखि घृणाको ज्वाला मडारिन थाल्यो।

दूर देशका केही शक्तिशाली धर्मगुरुहरूलाई ४२ वर्षीय भारतीय मुलका रुस्दीको उपन्यास 'सतानिक भर्सेज' मन पर्ने कुरो भएन। रुस्दीमाथि फतवा अथवा मृत्युदण्डको सूचना जारी भयो।


रुस्दीलाई मार्न सक्नेलाई करोडौंको बक्सिस घोषणा गरिन्छ। यो सन्देश रुस्दीलाई सुनाउँदै गर्दा उनका साथीहरूको स्वर डरले काँप्न थाल्छ। विख्यात उपन्यासकार रुस्दीको आत्मकथा 'जोसेफ एन्टन' यही दिनको प्रसंगबाट सुरु हुन्छ।

यो आत्मकथा एक स्वतन्त्र लेखकले तेह्र वर्षसम्म बाँचेको कठिन समयको कथा हो। ६३६ पृष्ठ लामो पुस्तकसँग बलिया वैचारिक खुराक छन्। यसले भन्छ, कथा अथवा साहित्य आफंैमा एउटा शक्ति हो। कथाविना विचारका नयाँ क्षितिज खुल्दैनन्। मानव सभ्यता कथाहरूको खेल हो। धर्म धान्न लेखिएका शास्त्र पनि कथा हुन्। कथा यथार्थ होइन, यथार्थचाहिँ कथाजस्तै हो। त्यसकारण कथाका पुनर्लेखन अथवा आविष्कार गरिरहनुपर्छ। कथाकार अथवा लेखक आधुनिक प्रजातान्त्रिक अनि सेकुलर मानव सभ्यता चलाउन चाहिने आवश्यक मित्र हो। धर्म अनि संस्कारका नाममा शब्दहरू बरफझैं जमेर बसे भने हामी त्यहाँ निसास्सिन थाल्छौं। नयाँ कथा लेखिनु वैज्ञानिक जगतमा हुने आविष्कारजस्तै उपलब्धि हो। साहित्य र विज्ञानले हामीलाई पुराना विचार अनि अभ्यासहरूको भारबाट मुक्त गराउँछ।

जोसेफ एन्टन २००२ मार्च २७ मा आएर टुंगिन्छ। कडा सुरक्षासाथ हिँड्नु रुस्दीका लागि तेह्र वर्षे लामो अनुभव भइसकेको थियो। त्यस दिन पनि उनी सुरक्षाबलसहित बेलायती गुप्तचर संस्थाका अधिकारीले बोलाएअनुसार लन्डनको एक होटल पुग्छन्। ती अधिकारी अब हमलाको सम्भावना नभएको र उनलाई दिइँदै आएको सुरक्षा संयन्त्र बिस्तारै कम गरिने बताउँछन्।

रुस्दी भन्छन्, 'म आजैदेखि स्वतन्त्र हुन चाहन्छु, धन्यवाद। तपार्इंलगायत सम्पूर्ण बेलायती प्रहरी अनि गुप्तचरहरूलाई।' आफू स्वतन्त्र र साधारण जीवनमा फर्केको हुँकार गुडिरहेको ट्याक्सीलाई हात दिएर व्यक्त गर्छन्, उनी। हाम्रो शहरमा गुड्ने ट्याक्सी र स्वतन्त्र जीवनको सम्बन्ध बडो मार्मिक ढंगमा उजागर गर्दै यो आत्मकथा टुंगिन्छ।

यो तेह्र वर्षमा रुस्दीको जीवनमा निकै परिवर्तन हुन्छन्। पहिली पत्नी क्लारिसा लुवार्डसँगको सम्बन्ध १९८७ मा समाप्त भइसकेको हुन्छ। रुस्दीमाथि फतवाको मिसाइल बर्सन थाल्दा छोरा जफर आठ–नौ वर्षको मात्रै हुन्छ। यही बीचमा रुस्दीको अमेरिकी लेखिका मरिएन विगिँससँग सम्बन्ध जोडिन्छ, चिसिन्छ र १९९३ मा टुंगिन्छ। त्यसपछि उनी झन्डै बाह्र वर्ष कान्छी एलिजावेथ बेस्टसँग जोडिन पुग्छन्।

इलिजाबेथले रुस्दीलाई बलियो सहारा दिन्छिन्। मिलन नामको पुत्रलाभ हुन्छ उनीहरूलाई। छोरो जन्मिएको केही महिनामा तिनको विवाह हुन्छ १९९७ मा। पुस्तकको अन्त्यतिर एलिजाबेथसँगको उनको सम्बन्ध चिसिन थालेको पाठकलाई थाहा हुन्छ। भारतीय मुलकी अमेरिकी चर्चित मोडल पद्मा लक्ष्मीसँग नजिकिएका रुस्दी अमेरिकातिरै बस्न इच्छुक देखिन्छन्। यो बीचमा उनको बालकथा सँगालो 'ह्यारुन एन्ड द सी स्टोरिज' निस्कन्छ। 'द लास्ट मुरस् साई', 'द ग्राउन्डबीनीथ हर फीट' अनि 'फ्युरी' जस्ता शक्तिशाली उपन्यास निस्कन्छन्। विविध पुरस्कार पाएका उनी कथा र साहित्येत्तर कृतिहरूको सम्पादन पनि भ्याउँछन्। २००२ यता लेखिएका उपन्यासका प्लटहरू उनको मनमा सलबलाउन थालिसकेको पाठकलाई थाहा हुन्छ।

इरानबाट आएका धम्कीप्रति उनलाई त्यत्ति आश्चर्य लाग्दैन। तर बेलायती मुस्लिमहरू, जसलाई विश्वकै सबभन्दा उदारवादी मुस्लिम भनेर चिनिन्छ; तिनले खोलेका संघसंस्थाबाट पनि आउन थालेका धम्की र गालीले रुस्दीलाई निकै दुखित पार्छ। यसैक्रममा उनको उक्त विवादित उपन्यासलाई जापानी भाषामा अनुवाद गर्ने जापानी लेखकको गोली हानेर हत्या गरिन्छ। त्यही उपन्यासको नर्वेली प्रकाशकमाथि पनि हमला हुन्छ। तीन गोली खाएर पनि उनी बाँच्छन्। उनलाई समर्थन गर्ने मुस्लिम लेखक र विचारकहरूमाथि पनि सांघातिक हमला हुन थाल्छन्।

'ओई सलमान, अब तेरा दिन सिध्दिए। तँ सैतानको घर जाने बेला भयो। मैले थाहा पाइसकें, तँ कहाँ लुकेर बसेको छस्। अब केही दिनमात्र...! हाहाहाहा...!' फिल्मी संवादमा रुस्दीमाथि धम्कीका पत्रहरूको ओइरो लाग्न थाल्छ। उपन्यास प्रकाशकका वितरण केन्द्र र पसलअगाडि बम पड्किन थाल्छन्। यसबाट विचलित किताब पसले र प्रकाशक आफ्ना कर्मचारीहरूको जीवनलाई ध्यानमा राखेर रुस्दीका किताब लुकाउन थाल्छन्। कति प्रकाशन गृह त उनका नयाँ या पुरानै किताबका मुद्रण गर्न हिच्किचाउँछन्। अन्तर्राष्ट्रिय हवाइसेवा उनका लागि सेवा दिन तयार हुन्नन्। विशेष बैंकसँग गरिने आर्थिक कारोबारमा सलमान रुस्दी भन्ने नाम आइरहँदा थप खतरा हुने भएकोले उनी आफूलाई मन परेका लेखक जोसेफ कन्राड र एन्टन चेखबबाट आधाआधा नाम मिलाएर नयाँ नाम राख्छन्, जोसेफ एन्टोन।

यो बाह्र्र–तेह्र वर्षबीच रुस्दीको जीवन नाटकीय ढंगले अघि बढ्छ। उनी आफ्नो त्यो विवादित उपन्यासको सफ्ट कभरको पुनर्मुद्रण गर्न चाहन्छन्, पैसा कमाउनभन्दा पनि लेखकको अस्मिता बचाउनका लागि। यो संसारमा लेखक र पाठकहरू स्वर्गबाट आगो चोरेर ल्याउने शक्तिशाली मनहरू हुन्। तिनलाई पनि आउँछ आफ्नो शक्ति देखाउन। उनको यही विचारले बेलायतलगायत युरोपका विभिन्न देश र इरानबीचको कुटनीतिक सम्बन्ध पनि बिग्रन थाल्छ। तेलको राजनीतिले यहाँ पनि प्रवेश गर्छ। आत्मालोचना गरेर लेखे अनि धार्मिकगुरुहरूसँग माफी मागे, उनलाई मात्रै होइन बेलायती कुटनीतिक अधिकारीलाई पनि साजिलो हुने ब्यहोरा रुस्दीसमक्ष आइरहन्छ। स्वाभिमानी रुस्दीलाई यस्तो सौदाबाजी मन पर्दैन।

यही बीच बेलायतमा लेबर पार्टीको सरकार आँउछ। टोनी ब्लेयर प्रधानमन्त्री हुन्छन्। इरानमा पनि नयाँ आयातुल्ला खुमिनीको आगमन हुन्छ। सरकारमा पनि परिवर्तन हुन्छ। अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति हुन्छन्।

'तिमीलाई थाहा छैन रुस्दी, मेरो काम कति गाह्रो छ। हुन त बेलायतको प्रधानमन्त्री हुँ।' ब्लेयर गुनासो गर्छन्।

'ए, मजस्तो लेखक भएर पनि हेर न मिस्टर प्रधानमन्त्री, म भएर बाँच्न झन् कहाँ सजिलो छ र!'

एकै भेटमा ब्लेयर र रुस्दी साथी बन्छन्।

'लौ हेर, सलमान रुस्दी एउटा बाठो मानिसभन्दा अरू केही पनि होइन। राजकीय मोज गर्दै छ। बेलायती महारानी र अन्य राजपरिवारका सदस्यले पाउने सुरक्षा र जीवनशैलीमा हिँड्छ। मोटाएको छ। जनताले तिरेको करको पैसाको हुनसम्म दुरुपयोग भयो नि।' स्वयं प्रिन्स चार्ल्स, बेलायती राजकुमार पनि यस्तै तर्क राख्छन्। समकक्षी लेखकहरू पनि रुस्दीमाथि त्यत्ति दया देखाउँदैनन्। खरो स्वभावका रुस्दीले मनग्यै खुच्चिङ भन्ने साथी पनि कमाइसकेका थिए। यति बेला भने रुस्दीलाई युरोप र अमेरिकाको स्वतन्त्र प्रेसले ठूलो सहयोग गर्छन्। उनलाई आफ्ना विचार राख्न अवसर दिइरहन्छन्।

'ल ठीकै भयो, रुस्दीले झन्डै चार्ल्सले पाउने सुविधा पाएछन्। तर त्यत्ति सुविधा पाएर पनि खै चार्ल्स महाशयले एउटा किताब पनि लेख्न नसकेको!' रुस्दीलाई माया गर्ने व्यक्तिहरू मिडियामा बेला–बेलामा हुँकार गरिरहन्छन्। संसारका विभिन्न कुनाबाट माया अनि श्रद्धाका शब्दहरू फूलजस्तै उनीमाथि बेला–बेला खसिरहन्छ।

साहित्य लेखेर संसारलाई दुर्घटनाबाट बचाउन सकिन्छ। लेखक आम मानिसको सबभन्दा आत्मीय साथी हो भन्ने रुस्दी कुनै अपराधीजस्तो अरूको आँखाबाट बचेर निस्कनुपर्दा, यात्रा गर्दा र आम नरनारीले झेल्नुपरेको झमेला देख्दा दिक्क हुन्छन्। मन लागेको ठाँउमा जाउँ्क लाग्छ, मन परेका मित्रलाई भेट्न मन लाग्छ; तर त्यसो गर्न पाउँदैनन् उनी। उनलाई जीवन नै जेलजस्तो लाग्छ। आफ्नो जीवनमा सबभन्दा माया गर्ने देश भारतले पनि लामो समयसम्म उनलाई यात्रामा प्रतिबन्ध लगाउँछ। भारतको शिमलामा भएको पैतृक सम्पत्ति आखिरीमा अदालतले उनको नाममा पास गरिदिन्छ। निकै वर्षपछि केही खुकुलो अवस्थामा रुस्दी जवान छोरो जफरसँग भारत फर्कन्छन्। उनी यत्ति खुसी हुन्छन्, दिल्ली एयरपोर्टमा भारतभूमिलाई घोप्टो परेर म्वाइँ खान मन लाग्छ। उनलाई मनपर्ने र उनलाई पनि मन पराउने एडबर्ड सइददेखि दर्जनौं अन्य लेखक–विचारक क्यान्सरको कारण बित्दै जान्छन्। मनभरि द्वन्द्व र पीडा बोकेका रुस्दीलाई जीवन झनै जटिल लाग्न थाल्छ। मृत्यु कतै कुनाबाट फतवा शैलीमा आक्रमण गर्दै छ। डर र त्रासमा छन्, उनी। पुस्तकमा अरू पनि निकै पीडादायक क्षण छन्, जसले पाठकहरुलाई रुस्दीको निकट पुर्‍याउँछन्।

त्यसो त निकै रमाइला क्षण पनि पुस्तक छन्। बेलायतलगायत अन्य युरोपेली देशमा कडा सुरुक्षासाथ हिँड्दा–बस्दा थकित भएका रुस्दी बेला–बेला अमेरिका जान पाउँछन्। एक दिन उनलाई भेट्न चर्चित अमेरिकी कवि एलेन गिन्सबर्ग उनी बसेको होटलमै आइपुग्छन्। 'संसार प्रसिद्ध कविले आफूलाई भेट्दा जीवनले नयाँ मोड लिन्छ कि!' रुस्दीलाई लाग्छ, 'यी कविले एकचोटि कराए भने संसार ट्वाक्क रोकिने छ।' तर, चप्पल लाएर भेट्न आएका गिन्सबर्ग आफ्नो बडेमानको झोला बिसाउँछन् र रुस्दीलाई योगाभ्यास सिकाउन थाल्छन्। ओम शान्तिको मन्त्र राम्ररी जप्न सिकाउँछन्, अनि फुत्त निस्केर जान्छन्। रुस्दी अचम्ममा पर्छन्।

रुस्दीको केटी साथी पद्मा लक्ष्मीको नग्न तस्बिर फ्रान्सको एउटा ट्याब्लोइड पत्रिकाले छाप्छ। पद्मालाई यसले केही असर पार्दैन। 'बरु, यो फोटो छापेबापत मेरो पारिश्रमिक कसरी असुल गर्ने? सहयोग गर न प्रेमी!' पद्माको अनुरोधपछि विभिन्न माध्यमको प्रयोग गरी रुस्दी प्रेमिकाको नग्न तस्बिरको पैसा असुल गर्छन्। आफूले पाएको गोता सम्झँदै उनी बेला–बेला हाँस्छन् पनि।

समकालीन लेखकसँग त्यत्ति खुसी नभएका रुस्दी अमेरिकन लेखक सुसन सोन्टाग, अफ्रिकाली लेखक नादिन गोर्डिमर अनि भारतीय मुलकी क्यानेडियन कलाकार दीपा मेहतासँग निकट रहेको बु‰न सकिन्छ। उनलाई सहयोग गर्ने आत्मीय लेखकको सूचीमा गार्सिया मार्केज, भाख्लाव हावेल अनि ह्यारोल्ड पिन्टर आदि पर्छन्। दर्जनौं प्रकाशन गृह छन्। रुस्दी र प्रकाशक गृहहरूको जोडीलाई एक्काइसौं शताब्दीको स्वतन्त्र प्रेस अनि पठन संस्कृतिले बनाएको बलियो शक्तिको रूपमा बु‰न सकिन्छ। उनी जानीजानी पाठक, लेखक, प्रकाशक र विचारकका माझ जान चाहन्छन्। उनी देखाउन चाहन्छन्, लेखक पनि कम ज्याद्रो हुँदैन। ऊ पनि डरलाग्दा शक्तिहरूसँग लड्न सक्छ।

पाठकहरू ८० को दसकदेखि अंग्रेजी साहित्यमा कलम चलाउने लेखकहरूको आनीबानी र तिनका शैलीबारे केही मात्रामा भए पनि परिचित हुन्छन्। कति लेखकहरू रुस्दीसँग पूर्वाग्रही भएझैं उनी पनि कम छैनन्, यस मामिलामा। भारतमा उत्कृष्ट साहित्य अंग्रेजी भाषामै लेखिएका छन्, जत्तिको बलियो अरू भारतीय भाषामा लेखिएका छैनन्। यो विवादित धारणाको रुस्दीले पुस्तकमा समर्थन जनाएका छन्। रुस्दी साँच्चि नै अलि जटिल र अप्ठ्यारा मानिस पनि हुन्। एकचोटि भनेपछि भन्यो भन्यो। आत्मालोचना गर्न मन नपराउने लेखक।

संसारको सबभन्दा बलिया लेखकमध्ये एक, सबैलाई पुग्नेे जोस र चिन्ता बोकेर हिँड्ने, चानचुन ६६ वर्षका रुस्दी अझै पनि केही धर्मगुरु अनि अतिवादी संस्थाहरूका निशानामा छन्। उनीमाथि राखिएको फतवा अहिले पनि जारी छ। रुस्दी अहिले अमेरिकामा लेखेरै बसेका छन्। उनको चौथो जीवनसाथीसँगको सम्बन्ध पनि २००७ मा नै टुंगिइसकेको छ। लेखन कार्यलाई दिएको उनको निरन्तरता लेखकहरूले लडेका केही महŒवपूर्ण युद्धमा पर्छन्।

लेख। लेखकहरू हो, लेख। भत्काओ पुराना पर्खालहरू। हल्लाऊ पुरानो धर्ती। च्यात पुराना विचारका बादल। पानी पार, पानी। हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्धमार्गी अनि अन्य स्वभावका धर्म अनुयायी हुनुभन्दा अगाडि हामी कथावाचकी थियौं। कथा हाम्रा लागि बाँच्ने आधार थियो। र, छ। त्यसैले पनि नयाँ कथा आवश्यक छ। उज्यालोका सन्तानहरू अब धेरै भइसके। तिमीमाथि सम्पूर्ण शक्ति खनिन सक्छन्। तर, स्वतन्त्र लेखनको वकालत गर्न कहिल्यै नछोड। शक्ति साधनाबाट आउँछ। लेखकले आर्जन गरेको शक्तिले सबैलाई बचाउँछ। यो पुस्तक पढेको महिनौं दिनसम्म पनि रुस्दी पाठकका मनबाट हराएर जाँदैनन्।

सलाम रुस्दी, तिमी अनि तिम्रो संघर्षपूर्ण यात्रालाई।



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/851.html#sthash.6GUNRjoc.dpuf

डिफिलोसोफी-देश सुब्बा


डिफिलोसोफी अर्थात् विदर्शन। जसरी पाश्चात्य साहित्य र विचारमा विनिर्माण आयो, अब दर्शनमा आउनुपर्छ– विदर्शन। धेरैलाई यो पद अनौठो लाग्न सक्छ। नयाँ विषय अनौठो लाग्नु, अस्वीकृत हुनु स्वाभाविक हो।

डिफीलोसोफी भनेको दर्शनलाई अस्वीकार गर्नु होइन। दर्शनमा भएको आवश्यक, उपयुक्त कुरा लिनु र अनावश्यक छोड्नु हो। लिइएका कुरा जोडेर नवीनता दिनु हो। समाजमा, पाठकमा मानक, स्वीकार भइसकेको विषय उखेल्नु, घचेट्नु, तन्काउनु साधारण कुरा होइन। साहस, विवेक, तर्कमात्र पर्याप्त हुँदैन। जो कोहीले आँटेर, गरेर हुने कुरा पनि होइन। गरिने भए संसारमा धेरै भइसक्थ्यो। साहित्यमा उफार्ने, उल्टाउने अनेक भए, तर दर्शनमा साहित्यमा जस्तो सस्तो र बग्रेल्ती छैन। किनभने 'टाइम र स्पेस' पनि मिल्नुपर्‍यो।

जब भयको दृष्टिकोणबाट हामी जीवन र जगत् हेर्न थाल्छौं, तब धेरैजसो सिद्धान्त भयबाट सञ्चालित, निर्देशित, नियन्त्रित भएको पाउँछौं। यही नै हो डिफिलोसोफी।
विश्वका मानक केही फिलोसोफीलाई डिफिलोसोफी गरेपछि सहमत–असहमत तर्क हुन्छ नै। नयाँ विचार पाठकले सजिलै स्वीकार्दैनन्। विरोध हुन्छ, अविश्वास हुन्छ, आरोप लाग्छ, खिल्ली उडाइन्छ। संसारमा नयाँ विचारले यही नियति भोग्नुपरेको थियो। डिफिलोसोफीले पनि निसन्देह यी पहाडहरूको सामना गर्नुपर्छ। संसार नै यसरी चलिरहेको छ– विचारहरूको खापले। कुनै पनि समस्या खोल्न सजिलो र भरपर्दो विचार या उपाय चाहिन्छ। म भयवादको साँचोले फिलोसोफीलाई डिफिलोसोफी गर्ने अनुमति चाहन्छु। यहाँ दर्शनहरूको सानो अंशमात्र डिफिलोसोफी गरिरहेको छु। विस्तृत 'भयवाद' पुस्तकमा आउँछ।

मार्क्सवादको विदर्शन गर्दै एउटा अन्तरवार्तामा भनें, 'वर्गसंघर्ष' हुँदैन, भय संघर्ष हुन्छ। ढुंगेयुग, सिकारी युगबाट मानिसले आफ्नै भयसँग संघर्ष गर्दै आए। यही संघर्षको सिलसिलामा ढुंगाको हतियार बनाए, ओडार, गुफामा बस्न थाले र प्रकृतिलाई ईश्वर मान्न थाले। मानिसलाई जहिले पनि असुरक्षाको भय हुन्छ र सुरक्षित हुन खोज्छ। मानव सभ्यता आदिमकालबाट यसरी नै विकसित हुँदै आयो भयसंघर्षले। समाजमा जहिले पनि आफ्नै वर्गमा बढी संघर्ष हुन्छ– सर्वहारा सर्वहारासित, पँुजीपति पँुजीपतिसित। मजदुर र मालिकको समस्या समाधान गर्न विश्वका सम्पन्न मुलुकले यस्तो निकायको गठन गरेका छन्– जसलाई समस्या पर्छ, सम्बन्धित निकायमा गएपछि समाधान भइहाल्छ। यहाँ मार्क्सवादले भनेजस्तो कहाँ छ सभ्यताको विकास र वर्ग संघर्ष?

अर्को छ; अब्राहम मास्लोको आवश्यकताको सिद्धान्त। त्यसमा भौतिक, सुरक्षा, सामाजिक, आत्मसम्मानको आवश्यकताको व्याख्या छ। यी सबै भयबाट नै सञ्चालित, निर्देशित हुन्छन्। यिनलाई मानिदिने हो भने यी पाँच आवश्यकता पूरा भएका मानिसहरू आनन्द, सुखले बस्नु पर्ने हो। त्यस्तो नभएर विश्वका सबैभन्दा धनी मानिसहरू गाउँले, गरिब मानिसभन्दा बढी कुदिरहेका, भागिरहेका, डराइरहेका भेटिन्छन्। यसको कारण आफूले प्राप्त गरेको इज्जत, धन, नाम खस्किन्छ कि भन्ने भय हो।

आवश्यकताको पाँचौ तहसम्म पुगेको मानिसले अर्को स्थानमा जाँदा फेरि आवश्यकताको पहिलो तहबाट जीवन सुरु गर्नुपर्छ। त्यस्तै देशको आर्थिक, सामाजिक, राजनीतिक उथलपुथल भयो भने फेरि पहिलो आवश्यकताबाट जीवन थाल्नुपर्छ। रसियाजस्तो सम्पन्न मुलुकमा पनि राजनीतिक उथलपुथल हुँदा पाउरोटीको लागि संघर्ष गरेका मानिस भरखरै देखेका छौं। प्रत्येक तहको आवश्यकतामा चरणबद्ध भय हुन्छ। पाँचौ आवश्यकता पूरा भएपछि पनि मानिस शान्त, सुरक्षित बस्न सक्दैन, दौडिरहन्छ। यसको कारण भय हो।

चार्ल्स डार्विनको पुस्तक 'ओरिजिन अफ स्पाइसिस' सन् १८६० मा प्रकाशन भएपछि युरोपको यथास्थितिमाथि आगो लाग्यो। उनले मानिसको जन्मदाता नै फेरिदिए। उसको पुस्तकको महŒवपूर्ण बुँदा बाँच्नको लागि संघर्ष, बाँच्नको लागि उपयुक्ततता र प्राकृतिक छनौट हुन्। उसले भनेजस्तो प्रकृतिले को बाँच्ने, को मर्ने छनौट गर्दैन। प्राणीले आफैं गर्नुपर्छ। पहिले मानिस औलो, टीबी लागेर मर्थे। अहिले औषधी पत्ता लगाइसके। नेपालको मृत्युदर ५७, अमेरिका, जापानको ८५ वर्ष। प्रकृतिको लागि सबै बराबर हो। मानिसले मृत्यु भयले गर्दा नयाँ–नयाँ औषधी, उपाय पत्ता लगाइरहेका छन् र बढी बाँचिरहेका छन्। मानिस आफ्नै छनौटले बाँचेको हो, प्राकृतिक छनौटले होइन।

हाम्रो वरिपरि इष्ट, सम्पत्ति सबै हुन्छ नै। ती सबै नाश हुन्छ कि भन्ने भयले जोगाउन खोज्छौं। बाँच्नको लागि संघर्ष पनि यस्तै हो। मर्ने भयले मानिसले अन्तिम घडीसम्म संघर्ष गर्छन्। जागिर खानु, जागिरमा कर्मचारीसित अनेकौं संघर्ष गर्नु, जालझेल, षड्यन्त्र, शंका सबै आफू बाँचांै भन्ने मनसायले आएको हो। अवसर ज्यादा हुँदा संघर्ष धेरै हुँदैन। अवसर कम हुँदै गएपछि नातावाद, कृपावाद दुनियाँवाद लगाउनुपर्छ। विकसित राष्ट्रमा कामको लागि त्यस्तो वाद लगाउनु पर्दैन। किनभने त्यहाँ अवसर धेरै छन्। तर अल्पविकसित मुलुकमा मरिने, इज्जत जाने, असुरक्षित हुने भयबाट बच्न साम, दाम, दण्ड, भेद लगाउनुपर्छ।

'एन एसे अफ दि प्रिन्सिपल अफ पपुलेसन' यो थोमस माल्थसको सन् १७९८ मा प्रकाशित पुस्तक हो। उनले यसमा खाद्यान्नको वृद्धि अंकगणितीय र जनसंख्याको वृद्धि ज्यामितीय हुन्छ भनेर घोषणा गरेका थिए। यसको वास्तविक अर्थ बढ्दो जनसंख्याले एक दिन संसार ध्वस्त पार्छ भन्ने भय हो। त्यसैले उनले जनसंख्या नियन्त्रण गर्ने सुझाव दिए। त्यतिखेर यो सिद्धान्तको महŒव त्यत्ति भएन। हिजोआज बढी सान्दर्भिक र महŒवपूर्ण भएको छ। विकसित देशका मानिसहरू जनसंख्या बढाउन चाहँदैनन्, त्यसमा धेरै भय जोडिएको हुन्छ। स्त्रीको सौन्दर्य बिग्रिने, आर्थिक समस्या आउने, सन्तानले ठूलो भएर पनि जिम्मेवार नहुने भय।

धेरै विनिर्माण गर्ने सिद्धान्त उत्तरआधुनिक हो। यसको केन्द्रमा अर्थहरूको व्याख्या छ। यसमा धेरै तर्क, विवाद चलिरहेका छन्। भयवाद यस निष्कर्षमा पुगेको छ– सबै अर्थहरू अनुकरणबाट आएका हुँदा रहेछन्। कुनै कालमा कसैले निर्माण गरेको अर्थलाई पुस्तौं–पुस्तादेखि अनुकरण गरिँदै आएको हुँदो रहेछ– जसरी अक्षर, उच्चारण अनुकरण गर्दै ल्याइन्छ, त्यसरी नै अर्थहरू पनि अनुकरण गरिँदै ल्याइँदो रहेछ। प्राकृतिक र मानव निर्मित गरी दुई किसिमले अर्थको निर्माण हुँदो रहेछ। निर्माण भएको अर्थ अनुकरण गर्दै–गर्दै हामीसम्म आइपुग्छ। नानीहरूलाई क अक्षर लेख्न र उच्चारण गर्न सिकाइन्छ। हामीले सिकाएको तरिकाले लेख्न–बोल्न अनुकरण गर्छ। अनि शब्द सिकाइन्छ र अर्थ। त्यो पनि अनुकरण गर्दै ल्याउँछ। उसले जानेको अक्षर, शब्द र अर्थ अरूलाई सिकाउँदै जान्छ। यसरी पुस्तौं–पुस्तामा अर्थको स्थानान्तर हुँदै जाँदो रहेछ।

भयका शब्दहरू पनि यसरी नै आएका हुँदा रहेछन्। भूत भनेको जस्तोसुकै भए पनि हामीले 'डरलाग्दो हो नानी' भनेर सिकाएका हुन्छांै। उसले विश्लेषण नगरी डरलाग्दो भन्ने अर्थको अनुकरण गर्छ। त्यो अनुकरण भएको अर्थ अरूलाई सिकाउँछ। यी अर्थहरू मानिसले केलाएर हेर्दैनन्, भूत के हो? किन डरलाग्दो हो? वास्तवमा धेरै भूत डरलाग्दो नभएर सहयोगी हुन्छन् भन्ने पनि हामी कथा, किंवदन्तीमा पढ्छौं। परन्तु हामीले अनुकरण गरेको अर्थमा भूतको अर्थ यसरी सुनेको, बुझेको, जानेको हुँदैनौ; त्यसैले भूत असल भन्ने अर्थमा कहिल्यै लिएका छैनौ। मार्क्सवाद, अस्तित्ववाद, माओवाद, धर्म, रीतिरिवाज, महाआख्यान सबैको अर्थ पढिने, बुझिने, सुनिने र अन्त्यमा अनुकरण गरिरहने रहेछ। कसैले संशोधन गर्न खोज्यो अर्थमा भने उसको नयाँ न्वारन सुरु हुन्छ 'नव'। त्यसैले डेरिडा, कान्ट, लकाँनहरूले अर्थ उल्टिन्छ, पर पर सर्छ, वायोनरी अप्पोजिसन हुन्छ भने पनि मूल अर्थ अनुकरणबाट आएको हुन्छ। अर्थमात्र होइन मानिसको बोली, व्यवहार, दाह्री पाल्ने, उस्तै गाउने, बजाउने, खेल्ने सबै अनुकरण गरिँदा रहेछन्। पाफ्लोपको प्रवृत्तिवाद र ज्याक लकाँनको ऐना प्रकरण यस्तै हो।

रुसी वैज्ञानिक पेत्रोविच् पावलोफ्ले कुकुरमा प्रयोग गरेका थिए, प्रवृत्तिवाद। धेरै दिनसम्म बत्ती बाल्दै खानेकुरा दिएपछि बत्ती बाल्नासाथ कुकुरको मुखमा र्‍याल आउने भयो। अनि फेरि बत्ती बालेर खानेकुरा दिन छोड्दै लगेपछि र्‍याल आउन बन्द भयो। एकपटक इन्द्रबहादुर राईसित यसबारे कुरा भयो। भन्नुभयो, 'यो सिद्धान्त विज्ञानले असफल घोषित गरिसकेको छ।' मलाई त्यस्तो लागेन। सधैं कसैले हामीलाई सहयोग दिन्छ, राम्रो कुरा गर्छ भने हाम्रा इन्द्रियहरू स्वचालित रूपमा त्यही पाउन तयार हुन्छन्। तर कसैले नराम्रो गर्छ, कुरा काट्छ भने इन्द्रियहरू स्वचालित रूपमा सतर्क हुन्छन्। हामीले सधैं सुत्ने बिस्तारा जति नै मैलो, पुरानो भए पनि निद्रा आउँछ। सुनकै बिस्तारा भए पनि नयाँ भए इन्द्रियहरूले स्वीकार्न समय लाग्छ। स्वीकार्नु भनेको प्रवृत्ति हो। अर्थहरू, बुझाइहरू पनि यसरी नै आएका हुन्छन्।

डिफिलोसोफी धेरै हुन सक्छ। किनभने भयले धेरै सिद्धान्त, व्यवहार, आविष्कार जन्माएको छ। तर हामी स्विकारिइरहेका छैैनौं। जस्तैः बिमा, अस्पताल, वारुणयन्त्र, सरकार, कानुन, संविधान, प्रहरी, सेना, अदालत सबै भय कम गर्न स्थापना गरिएका हुन्छन्। यसको नाम बेग्लै हुन सक्छ। जब भयको दृष्टिकोणबाट हामी जीवन र जगत् हेर्न थाल्छौं, तब धेरैजसो सिद्धान्त भयबाट सञ्चालित, निर्देशित, नियन्त्रित भएको पाउँछौं। यही नै हो डिफिलोसोफी।

- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/885.html#sthash.htfLmq8f.dpuf

सामान्य बहुरंगवाद-धर्मेन्द्र वि नेम्बाङ


सामान्य बहुरंगवाद
परिभाषा कविताको 
कविताले समाजमा जीवनसँग हिँड्दै लामो समय पार गरेको सन्दर्भमा विभिन्न समयमा विभाजित लोकेसनबाट छिन्नभिन्न तरिकाले परिभाषा सार फेरिँदै आएको छ। अंगे्रजीमा बिवुल्फदेखि होस् या नेपालीमा सुवानन्द दासको साढ्याको कवित कविताबाट होस्, यसले लामो यात्रा पार गरेको छ। यसबीचमा विभिन्न क्षेत्रको संगठित या वैयक्तिक अध्ययन, व्याख्या गर्ने क्रमको क्रियाशील निरन्तरता चलिरहेको छ। परिभाषा, खेलन, व्याख्या, विश्लेषण, व्यवहारको नजरमा निक्कै घुलमिल भएको छ। कतिपय घम्साघम्सी व्याख्याको अवधारणाहरू पनि थोपरिने, थुपारिने क्रम छ। विश्लेषणमा विद्वानवर्गले आफ्नो हात माथि पार्न गर्ने पहल त छँदै छ। यो व्याख्याको थाकमा जेठो कुरो के हो भने कविताको परिभाषा वैयक्तिक बाटो भएर समाजगतताबाट कुद्दै जीवनमा पुगेर अड्किन्छ। यो विराट क्षेत्र अथवा जीवन हो। फेरि परिभाषाले कवितालाई निर्धारण गर्न पनि सक्तैन। उसो त यो परिभाषा नै कविता हुन्थ्यो। कविता परिभाषा, व्याख्या, अवधारणा, समालोचनाभन्दा परको चिज हो। जहाँ परिभाषा कमसल कविता असल भइराखेको अवस्था छँदै छ। जहाँ सबथोक अलिअलि गर्दै मिश्रित भएर अटेको छ– दर्शन, सिद्धान्त, समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, भूगोल, विज्ञान, स्वतन्त्रता आदि इत्यादि।
जीवनमा आइपुगेपछि कविता आफैंमा खेल बन्छ। कविता र जीवन आ–आफैको खेलकरण हो। स्वतन्त्र, स्वस्वायत्त खेल। यसो भन्दा यो नियतिको खेल भन्ने अर्थ नलागोस्, यो पृथ्वीको मैदानमा रेफ्रीविहीन खेलिने स्वस्वायत्त, मुक्तान्त खेलको विधिविधान हो।
यसको मर्मको सवालचाहिँ सिर्जनात्मकता हो। सिर्जनात्मकता जीवन, समाज, विकासक्रम, गतिको सवाल हो। गतिशीलता, गतिविधिको सवाल हो। सिर्जनात्मकताले समाजलाई नयाँ गतिशीलता प्रदान गर्दछ। यो मानव जीवनमा युवकत्वको भाग हो। युवकत्व आएर जोडिँदा यसको प्रक्रिया विघटनतामा पुग्छ। सिर्जनाको विरोधी तत्वहरू हुन् कपी र पेस्ट। त्यसैले सिर्जनात्मकता भन्नासाथ कपिपेस्ट होइन, बुझिहाल्नु जरुरी छ। त्यसैले कविताले विशेषतामा सधैं मौलिकता खोज्छ। त्यसको सम्बन्ध व्यक्तिगततामा पुग्छ।
कविताको सिर्जनात्मक खेल या विघटनताको खेलको रचनामा यसको अवयव या पार्टपुर्जाहरू– कला, भावना र विचार हुन्छ। कला, भावना र विचारले कवितालाई आकार दिन्छ, सौन्दर्य निर्माण गर्छ। यसको प्रकार र किस्सिममा भने विषय, समय र आशय पर्दछ। यो सम्बन्धमा मैले दीपा लिम्बू राईको युद्ध, सहअस्तित्व र सिर्जना २०६९, कविता संग्रहमाथि युद्ध विरोधी कविता, सपअस्तित्वको मातहतमाको शीर्षकमा केही चर्चा चलाएको छु।
यसको विस्तृतिहरू, आयामहरू, पक्षहरू, पाटाहरू, क्षेत्रहरूको विषयमा विभिन्न समयमा चलेको आन्दोलनहरू, समयको विभिन्न बिसौनीमा देखिएको विद्धानहरूले मत राख्दै नै आएका छन्। आफ्ना धारणाहरू पोखेका छन्। यसरी कवितामाथि छलफल चलाउँदा जीवनको विषयलाई पर सार्नु दर्शनशास्त्रकै लागि अस्वस्थकर हुन्छ। किनभने साध्य भनेको नै रस्व जीवन हो। अरू साधन, माध्यमहरू हुन्। कवितामा जीवनको सवाल साध्यको खोजी हो भने अरू साधन र माध्यमको उपयोग। समदर्शी काइँलाको म अमेजन उकालो बग्छु २०६६ को टिप्पणीमा भनेको छु, '...कविताको साधनमा टेक्तै जीवनमा फाल हानेका छन् काइँलाले।' 

जीवन र खेल समानान्तर हुँदै एकापसमा पुगेपछि, कला र जीवन एक–अर्काको लागि भोबाट खेलकसँग सम्बद्धता राख्छ। यो सिर्जनात्मक कुरो हो। यसरी विभिन्न जक्सनबाट आइपुगेर जीवनमा समाहित भएपछि यहाँ खेलकको रूपमा क्रियारत रहन्छ। यसैलाई बलराम अधिकारीले प्रतिविधा रातो बाघको भूमिकामा 'उदि्दपक खेलक' भनेका छन् अथवा क्याटलिस्ट प्लेयर। क्याटलिस्ट जसले रसायनिक परिवर्तनमा सहयोग गर्छ। तर आफू जस्ताको तस्तै रहन्छ। जस्तो कपर र सल्फेडलाई निश्चित तापक्रममा मिश्रण गराउँदा रसायनिक परिवर्तन भई कपरसल्फेड या नीलोतुथो बन्छ तर यति बन्नको लागि क्याटलिस्टको रूपमा राखिने वस्तु चाहिन्छ। त्यही क्याटलिस्ट प्लेयर नै उद्दीपक खेलक हो। जसले आफू–आफूमा नै रहेर सिर्जनाको, खेलको, कलाको निर्माण गर्दछ। 

सत्ता, शासन, समाजको कोणबाट हेर्दा कविता खेल्नु भनेको स्वतन्त्रताको उपयोग, स्वायत्तताको प्रयोग, मानव अधिकार, व्यक्ति अधिकारको भोगचलन हो। त्यसैले कसैले खेल्नु भनेको कवि हुनुसँग मात्रै सम्बद्धता राख्तैन। यो उनको मौलिक हकसँग सम्बन्धित कुरो पनि हो। 

सिर्जनात्मकता, विघटनता, मौलिकता
आजभोलि म वर्तमान नेपाली साहित्यमा आइरहेको कृतिलाई विश्लेषण गर्ने क्रममा दुईवटा ब्लकमा हेर्नु जरुरी भन्न थालेको छु। सिर्जनात्मकता, विघटनता। यो सिर्जनात्मकता र विघटनताको सम्बन्ध नजिकको हुन्छ। यसको सम्बन्धित सम्बद्धता र असम्बन्धित सम्बद्धताहरू दुवै छन्। सिर्जनात्मकताको पाटोबाटै विघटनतावाद हुने हो। विघटनताबाट सिर्जनात्मकतालाई सहयोग पुग्ने हो। त्यसकारण यो दुई विषय आपसमा जोडिने र छुट्टिने देखिन्छ। त्यसकारण खेलमा प्रतिशत छुट्याउनुपर्ने भएको हो। विघटनताले तत्कालिकताको केही मानकताहरू भने खोज्छ र अमानकतिरको यात्रा गर्छ। सिर्जनात्मकताले त्यतापट्टि ध्यान दिँदैन। 

सिर्जनात्मकताको मापन हुँदैन। यसको पनको मापन गर्न तत्कालिक समयसम्मको गतिविधिलाई हेर्नुपर्छ। कुरो विघटनताको पनि उही हो। दुवै प्रविधि यात्राको योगफलचाहिँ मौलिकपन हो। अब यसको प्रोसेसहरू चाहिँ फरक हुन्छ। प्रक्रियामा अलिकति मात्रा र प्रतिशत तलमाथि हुने हो। नेपाली साहित्यमा विघटनात्मकताको उदाहरणको रूपमा सुकरातको डायरी उपन्यासलाई लिनुपर्ने हुन्छ। सिर्जनात्मकताको कृतिको उदाहरण वैरागी काइँलाको अन्धा मान्छेहरू र हात्तीलाई लिन सकिन्छ। कृष्णभूषण बलको काठमाण्डु एक्लैले काठमाण्डु बोक्न सक्तैन भन्ने कविता सिर्जनात्मकता र विघटनता दुवै बोकेको उदाहरण हो। यो कवितालाई संघीय सौन्दर्यशास्त्रको खेलबाट पनि हेर्न सकिन्छ। हुन त विघटनतालाई समालोचक बलराम अधिकारीले अझ मिहिन ढंगले बताउने क्रममा रातो बाघ प्रतिविधामा 'उच्छेदन, अन्तरछेदन र विच्छेदन' भनेका छन्।

प्रतिसमालोचनाको सिद्धान्त
नेपाली साहित्यमा चलेको विभिन्न आन्दोलनहरूले नेपाली सिद्धान्त निर्माणको क्षेत्रमा समय खर्चेको पाइएन। समालोचकहरूले बनेको सिद्धान्तमा टेकेर काम गर्ने हो। सिद्धान्त, दर्शन, विचारको निर्माण तत्कालीन आन्दोलनहरूको क्रियाकलाप हो। इतिहासदेखि वर्तमानसम्म क्रियाशील रहेको लीला लेखनले पनि समालोचनाको बाटो तय गरेको सैद्धान्तिक दस्तावेज कतै पाइएन। इन्द्रबहादुर राईको समालोचनाको पुस्तक उपन्यासका आधारहरूलाई हेर्दा राईले विश्वव्यापी सिद्धान्तपट्टि ढल्केर नेपाली पुस्तकलाई त्यतै ढल्काएको पाइन्छ। यसमा उनले नेपाली सिद्धान्त या समालोचनाको सिद्धान्त निर्माणमा दुःख गर्न नचाहेको देखिन्छ। मैले समालोचनाको क्षेत्रमा त काम गर्नुपर्छ त्यो सिद्धान्तसंगत हुनुपर्छ। त्यो सिद्धान्त नेपालीपनको हुनुपर्छ। अहिले नेपालमा अरू छरछिमेकीको सिद्धान्त बोकेर काम चलाउँछन्, हरेक क्षेत्रमा र राजनीतिमा पनि, यो साहित्यको सन्दर्भमा मात्रै हैन। यो विचारको औपनिवेशिकीकरणको विरुद्धमा नेपाली मौलिकता, विशेषता, निजित्व, हार्दिकता र सापेक्षता (मौविनिहासा) को आधारको बहुरंगवाद अगाडि आएपछि अन्य विदेशी पुस्तकमाथि पनि काम गर्न सकिने वातावरण बनोस् भन्ने हाम्रो ध्येयका साथ यो विचार समूहले त्यहाँसम्म विश्लेषणको पकड राख्नुपर्छ भनेर बहुरंगवादको स्थापना वर्षदेखि नै समालोचनाको सम्बन्धमा ध्यान दिँदै आइएको हो। यही प्रयोजनबाट उपलब्ध अवसरमा प्रतिसमालोचनाको सिद्धान्त र ईश्वरको अदालतमा आउटसाइडरको बयान शीर्षक मार्टिन चौतारीपत्र २०६५ सालको असार महिनामा प्रस्तुत गरे। यही समालोचना रूपरेखाको सैद्धान्तिक पत्र सोही वर्षको मंसिर अंकको गरिमा मासिकमा प्रकाशित छ। मेरो विचारमा यो एउटा नेपाली साहित्य समालोचना बजारको लागि एउटा वैकल्पिक डकुमेन्ट थियो। 

प्रथम चरणमा सिर्जनाको विघटनतावाद या विद्रोहबाट विषय प्रवेश भएको नेपाली समालोचकहरूले एभान्त गार्ड मानेको बहुरंगवादी यो आन्दोलन, द्वितीय चरणमा अहिले दर्शन, सिद्धान्तको विघटनतासँग सम्बन्धित छ। तृतीय चरणमा अब यसको भागमा परेको छ, नेपाली (बहु) समाजशास्त्र, नेपाली (बहु) राजनीतिशास्त्र, नेपाली (बहु) अर्थशास्त्रको निर्माण। यसले समालोचनाको जगतमा प्रतिसमालोचनाको सिद्धान्त स्थापना गरेको छ। विधाको जगतमा प्रतिविधालाई सिद्धान्तिकृत गरेको छ। प्रतिसामालोचनाको सिद्धान्तमार्फत् बहुविधाहरूको उपस्थिति, विघटनता र सिर्जनात्मकताको अंश, विषय, आशय र समयको भागलगायत छन। ओहोरदोहोर मापदण्डवादको उपस्थितिलाई प्रतिशतमा चिनाउने काम गरेको छ। यसो गर्दा अर्थहरूलाई फरक स्थलमा पुर्‍याउन सकिन्छ भन्ने छ। बहुरंगवादले अपनाउने सिद्धान्तको सामाग्रीहरू नै यसको आधार, साभार र मार्ग निर्देशक सिद्धान्तहरू हुन्, जसलाई सामान्य बहुरंगवाद, एउटा ट्राभलिङ फिलसफीको परिकल्पना २०६६ मा छलफल चलाएको छु। 

यति भनेपछि जाँदाजाँदै कवि विरही काइँलाको कविता मेरो बोजु एक शब्दचित्रलाई पनि यहाँ टाँसिराख्छु।

हजुरआमाले
थुन्से बिसाएको ठाउँ
म आफ्नो भुइँ ठान्थे
त्यो पराइको कमान।

सुकेर टोकरीजस्तै देखिने हजुरआमा 
एक दिन टोकरी नफटाइकन मरिन्
सुकेनासले टोकेर बितेको उनी
मरेर पनि धर पाइनन्। र,
चियाको बोटमा कम्पोस्ट मल बनिदिइन्।

पहिलो पाठशाला


बिस्नु प्रवा सापकोटा


'तँ अझैसम्म सुतेकै छस्, अल्छी?'

सधैं जस्तो त्यो दिन पनि आँगनबाट बार्दलीमा रहेको मेरो ओछ्यानतिर फर्केर हजुरबा कराउन थाल्नुभयो। म जुरुक्क उठेर पाइखाना दगुरें।

धारामा मुख धुन लाग्दा हजुरबा भगवानको सेवा गर्दै हुनुहुन्थ्यो। हजुरबाको कोठामा बजेको घन्टी र धूपको गन्ध एकैचोटि मेरो कान र नाकसम्म आएर ठोक्कियो।

मैले मुख धोएँ र पिँढीमा आएर टुसुक्क बसें। हजुरआमाले स्टिलको अग्लो गिलासमा चिया ल्याइदिनुभयो। बाआमा गाईबस्तुलाई घाँस खोज्न जानुभएको थियो क्यारे। भाइबैनी उठेर कतै खेल्न गइसकेका थिए। पारिपारि डाँडामा नाँच्दै कुदिरहेको कुहिरो हेर्दै म चिया सुरुपसुरुप पार्दै थिएँ। हजुरबा पूजा सकेर मनिर आएर नम्र स्वरले सोध्नुभयो– 'चा खाइसकिस्?'


मैले टाउको हल्लाएँ।

'मलाई एकदमै बिसन्चो होला जस्तो भइच्च, जा बाबु बिराउने गएर माइला बालाई बोलाएर ले।'

हजुरआमातिर फर्केर सोध्नुभयो– 'बूढीमाउ, खाना पाक्यो? बिस्नुलाई चाँडै खान दे त। यो बिराउनेको बाटो भएर स्कुल जान्छ।'

'बेला न कुबेला किन जान परो बिराउने?' हजुरआमा चुह्लोबाटै कराउनुभयो।

तात्तातै साइसाई र सुइसुई गर्दै खाना खाएपछि माइला बालाई बोलाउन बिराउनेतिर कुदें।

हजुरबाको छाती आँगनजत्रै चाक्लो थियो। बडेमानको पहाडजत्रो शरीर। हँसिलो अनुहारमा सेेतै फुलेका जुँगाका पातला ठोसा। हजुरबा बैष्णव धर्मावलम्बी हुनुहुन्थ्यो। उहाँको निधारको बीचमा रचनाको रातो र दुवैतिर तिलकको सेतो ठाडो टीका टलक्क टल्कन्थ्यो। आफ्नो पिताको देहावसानपछि हजुरबाले आफैं पकाएर खान थाल्नुभएको थियो। दिनमा केवल एक छाकमात्रै खाना खानुहुन्थ्यो। उहाँले पकाउने तरकारीमा नुन कम र ज्यादा पोलेको जिराका काला दाना हुन्थे। परपरका मान्छे पनि दमेकी डिल्ले मुखिया भनेपछि हजुरबालाई चिनिहाल्थे। मैले पढिरहेको स्कुलको उहाँ संस्थापक हुनुहुन्थ्यो। अरू समाजसेवामा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो। हजुर बा खुब रसिक हुनुहुन्थ्यो। सायद मेरी हजुरआमा उहाँका चार वटीमध्ये कान्छी श्रीमती हुनुहुन्छ।

टाढाको स्कुल भएकोले बिहान आठ नबज्दै स्कुल कुदिसकेको हुन्थें। त्यतिन्जेलसम्म हजुरबा पूजाआजामै व्यस्त हुनुहुन्थ्यो। म हिँड्न लाग्दा बजाइरहेको घन्टा रोकेर उहाँ भन्नुहुन्थ्यो– 'राम्रोरी जा है। बाटो चिप्लो छ हिँड्दा ख्याल गर्नू।'

हजुरबा मेरो पहिलो पाठशाला र पहिलो शिक्षक पनि। उहाँकै मुखारबिन्दबाट मैले पहिलो कथा र पहिलो गीत सुनेको हुँ। उहाँले नै चिनाउनुभएको हो– आकाशका जून, तारा घामको नाम र काम पनि। घरअगाडि आँगनछेउ फुल्ने थरिथरिका फूलका नाम पनि उहाँले नै सिकाइदिनुभयो। उहाँकै हातको सहारामा सिकेको हुँ, पेन्सिल समाउन र अक्षर लेख्न।

कक्षा पाँचमा पढ्थें। बर्खामा आँपको रस टाँसिएर टाटेपाटे परेको आकाशे रङको कमिज, नीलो रङको हाफ पाइन्ट र पैतालाभन्दा मोटा हात्तीछाप चप्पल पट्याँस–पट्याँस पार्दै स्कुल जान्थें। किटेनी स्कुल पुग्न झन्डै सवा घन्टा हिँड्नुपर्थ्यो। स्कुलमा खाजा बोकेर लैजाने चलन थिएन त्यस बेला। स्कुल वरिपरि पसल पनि थिएनन्। चार बजे छुट्टी भएपछि भोकले खर्रिएर घर आइपुग्थें। कहिलेकाहीँ त अचाक्ली भोक लाग्थ्यो; हिँड्दा–हिँड्दै खुट्टा फतक्क गल्थे र कुहिसकेको कर्कलाझैं कमजोर हुन्थें। म हिँड्न नसकेर लेउ लेपिएको ढुंगामा बसेर आकाशतिर हेर्थें। आकाशमा दुइटा सूर्य पश्चिमतिर कुदिरहेझैं लाग्थ्यो। हजुरबाले पकाएको घिउ हालेको भात र आलुको तरकारीको स्वाद हावाले कता–कताबाट बोकेर मेरो मनसम्म ल्याइपुर्‍याउँथ्यो, म त्यही स्वाद सम्झेर कछुवाझैं बिस्तारै घरतिर लम्किन्थें।

घर आइपुग्दा हजुरबाले खाना खाइसक्नुभएको हुन्थ्यो। हजुरबाको कसौंडीमा बाँकी रहेको भात दिउँसोको मेरो खाजा हुन्थ्यो। म स्कुलबाट घर आइनपुग्दै पिँढीमा फ्यात्त झोला फालेर खाजा खान हत्तारिन्थें। हजुरबाको गह्रुँगो चरेसको थालमा खाना खान पाँउदा ठूलो मान्छे सम्झन्थें आफूलाई।

सानो कुसे गुन्द्रीमा बसेर हजुरबा सोध्नुहुन्थ्यो– 'ल भन् आज दिनभरि केके पढिस्?' मैले हजुरबालाई दिउँसो पढेको बेलिबिस्तार लगाउँथे। मैले केही बिगारें भने हजुरबाले सच्याइदिनुहुन्थ्यो। साँझ म खेल्न कुद्थें, हजुरबा पूजाकोठामा छिर्नुहुन्थ्यो।



शुक्रबार भएकाले आधा दिनमात्र स्कुल लाग्ने भएकाले म छिट्टै घर फर्किएँ। हजुरबा आँगनछेउ परालको टौवामा आड लिएर बसिरहनुभएको थियो। हजुरबाको अनुहारमा पहिले जस्तो चमक थिएन। दसैंमा भर्खर पोतेको कमेरो बाछिटाले बगाइदिइसकेको घरको भित्तोझैं उदास भएको थियो उहाँको अनुहार।

'बाबु, माइलो आएन?' उहाँले सोध्नुभयो।

'स्कुल छुट्टी भए'सि आउनुहुन्च रे,' मैले भनें। हजुरबाले त्यो दिन खाना पकाउनुभएको थिएन। 'अघि बार बजेतिर अलिकति दुध खाएँ। केही खान मन छैन आज,' हजुरबाले आफ्नो कुसे गुन्द्री मेरो छेउमा राख्दै भन्नुभयो।

'तपाईंलाई के भयो र हजुरबा?,' मैले उदास हुँदै सोधें। उहाँको अनुहारमा एकटक हेरिसकेपछि डरले छोप्यो। त्यही एउटा प्रश्न सोध्दा पनि मेरो ओठ काँपिरहेका थिए।

'म अब धेरै बाँच्दिन होला,' हजुरबाले यत्ति के भन्नुभएको थियो। मलाई रिंगटा लाग्ला जस्तो भयो। पृथ्वी फनफनी घुमेको देखें। एकोहोरो उहाँको आँखामा हेरें। म त सुँक्क–सुँक्क रुन थालेंछु। हजुरबा सकिनसकी कराउन थाल्नुभयो– 'किन रुन्छस् बाबु?'

'किन बाँच्दिनँ होला भनेको त!' मैले सुकसुकाउँदै भनें।

'मैरो माया लाग्छ?' उहाँले मेरो आँसु पुछ्दै आफूतिर तानेर सोध्नुभयो। मैले उहाँको तातो काखमा टाउको लुकाएँ। मेरो केश मुर्सादै उहाँले उपदेश दिन थाल्नुभयो– 'यति कुरा सधैं ख्याल राखेस्; सम्पत्ति कमाएर कोही पनि धनी हँुदैन। असल मान्छेले जिन्दगीभर कमाउने मलामी हो। सम्पत्ति थुपार्ने होइन धेरै मलामी कमाउने विद्या लिनू। अरू हिँडेको बाटो हिँडेर गन्तव्य पुगिन्न, आफैं हिँडेर नयाँ बाटो बनाउन सिक्नू।'

हजुरबाले उपदेश दिइरहेका बेला माइलाबा टुप्लुक्क आइपुग्नुभयो। तुलसीको मठछेउ उभिएर उहाँले भन्नुभयो– 'बा, सन्चो भएन र!'

मैले हजुरबाको काखबाट आफ्नो शिर हटाएँ। माइला बातिर हेर्दै उहाँले भन्नुभयो– 'शरीर सारै गह्रुँगो भएको छ। अब मेरो समय सकिए जस्तो लाग्दैछ, आज यतै बस्छस् कि!'

माइला बाका आँखा आँसुले भरिए।

'कालीप्रसाद डाक्टरलाई एकपल्ट बोलाउन पर्च कि क्या हो माइला?' आँगनको अर्कोछेउ उभिएकी हजुरआमाले आत्तिँदै भन्नुभयो।

'कसैलाई बोलाउन पर्दैन बूढिमाउ। बरु रिखेलाई र धनेलाई नि आज यतै खाना खान खबर पठा,' हजुरबाले झर्केर भन्नुभयो।

'म बाँचुन्जेल मेरो हजुरबालाई केही नहोस् प्रभु,' मैले मनमनै प्रर्थना गरें।

...

२०५१ साल चैत १७ गते शुक्रबार साँझ घरभरि पाहुना भरिएका थिए। आमा र हजुरआमा भान्सामा खाना पकाउँदै हुनुहुन्थ्यो। बाहिर आँगनमा हजुरबाका सबै छोरा र भाइहरू जम्मा भएका थिए। खाना खानेक्रम सुरु भयो।

हजुरबाले शास्त्रका कुरा पनि सुनाउँदै हुनुहुन्थ्यो। बेलुका करिब आठ बजेर २५ मिनेटतिर हजुरआमालाई सोध्नुभयो– 'बूढिमाउ खाना खायौ त?'

'सबैले खाइसक्यौं।'

'बिस्नु तैंैले खाइस्?' मलाई अन्तिमपटक हजुरबाले सोध्नुभयो। म उहाँकै छेउमा टुसुक्क बसेको थिएँ। स्विकारोक्तिमा मैले टाउकोमात्र हल्लाएँ।

आकाश सफा थियो। टाढा–टाढाका तारा पिलपिल गरिहेका थिए। आँगनको छेउमा आँपको रूखका पात हावामा यताउता हल्लिरहेका थिए। घरमुनि धूपिको रुखमा बास बसेका चराहरूको कल्याङमल्याङ र तल बगिरहेको टिमुरखोलाको आवाजबाहेक रात चुपचाप थियो।

खाना खाइसकेपछि सबै आँगनमा भेला भयौं। हजुरबाको चिल्लो तालु सूर्यको डल्लो जस्तै तातो थियो। निधारमा चिटचिट पसिना। उहाँले थरथराउँदै भन्नुभयो–राम...राम...! हजुरबाको घाँटी घ्यारघ्यार बज्न थाल्यो। माइला बाले आत्तिदै हजुरबाको टाउको समाउनुभयो।

एकाएक सबै जना अत्तालियौं। आफ्ना काँपिरहेका आंैलाले हजुरबाको जोडिएका सुख्खा ओठ खोल्दै हजुरआमाले चम्चाबाट पानी हालिदिनुभयो। तर, उहाँले निल्न सक्नुभएन। ओठको चेपबाट बगेको पानी उहाँको झुसिलो छातीका रौंभित्र विलिन भयो। ठाडो शिर लत्रक्क झर्‍यो। हातमा रहेको तुलसीको माला बाले काट्ने डालेघाँसको हाँगाझैं फ्यात्त भुइँमा खस्यो।

'ला ...! बा त जानुभएछ!' माइला बाको यही वाक्यले म मट्यांग्राले लागेर भुइँमा खसेको भँगेरो जस्तो खङ्रङ्ङ भएँ। आँगनमा थुचुक्क बसेर खुम्चिएका घुँडाबीच टाउको लुकाएर घुँक्क–घुँक्क रोएँ। हजुरबालाई सबै मिलेर तुलसीको मठसम्म पुर्‍याए।

घरभरि रुवाबासी सुरु भयो। गाँउलेहरू पनि हत्त न पत्त हातमा टर्चलाइट बाल्दै आँगनमा आउन थाले।

एक छिनअगाडि हामीमाझ बोलिरहेको जिउँदो मान्छेको प्राण चरीझंै माथिमाथि कतै उडेर गयो। हजुरबा त अब केवल हाड–मासुको थुप्रोमा परिणत हुनुभएको थियो। म एक छिनपछि आफंै सम्हालिएर उठें र हजुरबाको मृत शरीर राखिएको ठाँउनिर गएँ। हजुरबाको शरीर चिसिएर सुकेको दाउराझैं अररो भइसकेको थियो। उहाँको गालामा बग्दै गरेको आँसु पनि सुकेर मसिनो धर्सो जस्तो देखिन्थ्यो। अब उहाँ शान्त मुद्रामा हुनुहुन्थ्यो।

अहिले पनि कुनै अप्ठेरो आइपरे हजुरबालाई सम्झन्छु। उहाँ कहिलेकाहीँ सपनामा पनि आइरहनुहुन्छ।

उहाँ नभए पनि उहाँले देखाइदिएका धेरै सपना छन् मसँग। र, हिँड्नको लागि बाँकी नै छन् उहाँले देखाइदिएको लामो बाटो ...!

- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/887.html#sthash.YaOIioBY.dpuf

कथा– सत्रौं केटी


सुबिन भट्टराई


ठूलो पानी परिरहेको थियो। बैठक कोठाको ‰यालबाट बाहिर पानी परेको दृश्य हेर्दै रमाइरहेको थिएँ। थाहा छैन, पानी परेको दृश्य हेर्दा किन हो निथ्रुक्कै हुन्छु, नभिजे पनि। मन कहाँ हुन्छ? कसैलाई थाहा हुन्न। तर नदेखिए पनि त्यो यति मज्जाले भिजिदिन्छ कि त्यसको महसुसले मान्छेको चेतनामा पूरै हलचल मच्चाइदिन्छ।

र यसरी बैठक कोठाको झ्यालबाट बाहिर हेरिरहँदा स्मृतिबाट पुराना घटना मेरै अघिल्तिर पानीका बाछिटाझैं चुहिरहेछ र म आफ्नो युगै बिर्सिएर त्यसैमा निर्लिप्त भैरहेछु।





एरेन्ज म्यारिजका लागि केटी हेर्न गएको, लभ पर्दियो। अब उसको जवाफ कुर्नु थियो। उसले मानी भने 'लभ म्यारिज' हुनेछ।
सत्रौं केटी हेर्न जाँदै थिएँ। सोह्रवटी केटीसँग कुरा नमिलेपछि एक किसिमले दिक्क भएको थिएँ। यसैले सत्रौंमा पनि कुनै आश त थिएन। एकपल्ट 'हेर्दिऊँ न त' भन्ने हिसाबले निस्कें। लुगा छानेजस्तो सजिलो हुन्न रहेछ केटी छान्न?

मलाई सोधिएला– सोह्रवटी केटी हेरिसक्दा पनि किने बिहे हुन सकेन?

जति केटी हेरें, पचास प्रतिशतलाई मन पराइनँ। अनि विडम्बना! पचास प्रतिशतले मलाई पनि मन पराएनन्। जमाना पूरै जो बदलिसकेको छ। केटीलाई पनि त केटो मन नपराउने हक छ!

सत्रौं केटी पनि पचास प्रतिशतमै पर्न सक्छे। पचास प्रतिशत अर्थात् मैले मन नपराउने क्याटगोरी वा उसैले मन नपराउने क्याटगोरी।

अतः मुख्य विषयमै प्रवेश गरूँ।

त्यस दिन पनि दिनभर झरी परिरहेको थियो।

अरू केटी हेर्न जाने बेलाझैं यसपालि कपाल, दाह्री, लुगा आदिमा ध्यान दिइनँ। दाह्री अनुहार नै कालो देखिने गरी ‰याप्प थियो। लुगा एकदम रफ एन्ड टफ। कुरो मिले मिल्छ, नत्र यत्रैसित्ति!

केटीको घरमा पुगियो। म र एउटा साथी। साथी लमी थियो। उसकी बहिनी पर्ने। उनीहरूको घर पुगिसक्दा सर्ट र पाइन्टको तिघ्राको भाग केही भिजेको थियो। असारको महिना भए पनि जाडोले कामिरहेको थिएँ।

ढोकाबाहिर उभिएर घन्टी बजाउँदा सोचिरहेको थिएँ, साथीकी बहिनी नजिककी हो कि, बहिनी कि साथी। यो कुरा यसकारण दिमागमा आइरहेको थियो– सोह्रौं केटी मैले जो हेरेको थिएँ त्यो बहिनीकी साथी पर्थी।

ढोका खुल्यो। हामी भित्रपट्टि छिर्‍यौं। टेबलमा चिया र बिस्कुट आयो। दुईजना उस्तै देखिने केटीहरू थिए। जाडो भइरहेको बेला चिया देख्नेबित्तिकै मन उत्ताउलियो र म ती केटीभन्दा पनि कपमा रहेको चियामा बढी केन्द्रित रहन थालें। तर त्यो बाहिर प्रकट नहोस् भन्नेमा बडो सतर्क भएँ।

मैले साथीलाई खुसुक्क सोधें, 'दुइटामा जो छाने पनि पाइने?'

'दुवै दिदी–बहिनी हुन्,' साथीले बडो कञ्जुस्याइँ पारामा हाँस्दै भन्यो, 'दिदी चैं को बिहा भैसकेको छ। मन पराइस् भने उसैको बूढासित कुरा गराइदिऊँला।'

बडो व्यंग्यात्मक पारामा भन्यो त्यसले। मेरो दोष त हैन? दुवै उस्तै। उस्तै रूप, रंग, पहिरन। बिहा गरेकाको त कम्तीमा अलिक विवाहितजस्तो भेषभूषा हुन्छ नि! आजकालका कम्ती तरुनी देखिनु पर्दैन!

उसको व्यंग्य पचाउँदै सोधें। सोध्न आवश्यक नै थियो, 'कुन दिदी, कुन बहिनी त?'

'अहिले थाहा पाइन्छ।' सस्पेन्स राखिदियो फटाहाले। भनेन हौ।

केहीबेरमै त्यसले 'केटा र केटीलाई' कुरा गर्ने माहौल मिलाइदिनुपर्ने प्रस्ताव 'अंकल आन्टी' लाई गर्‍यो। उनीहरू तुरुन्त राजी भए।

सबै गएपछि अघिका दुइटीमध्ये एउटीको प्रवेश त्यस कोठामा भयो। बल्ल चिनियो बैनीचैं।

ऊ मभन्दा ठ्याक्कै अगाडि सोफामा बसी। हामी करिब आम्नेसामुन्ने भयौं।

केटी नराम्री भन्न नमिल्ने। राम्रीमा भुतुक्कै बनाउने पनि होइन। करिब पाँच फुट तीन इन्च हाइट। एकदमै दुब्ली। कपाल छोटो थियो मुस्किलले काँधसम्म झरेको। टाइट कुर्ता लगाएकी थिई। सुहाएको थियो। अनुहार लाम्चो किसिमको। नाक चुच्चो। त्यो अनुहारमा सबभन्दा राम्रो केही थियो भने आँखा। खाने मुख पातला थिए।

'स्मिता हो क्यारे नाउँ हैन?' केटी हेर्दा हेर्दा अभ्यस्त भैसकेको मलाई कम्तीमा कुराको सुरुवात गर्न चैं अप्ठेरो पर्थेन। सोधिहालें। नाउँ, थर सबै थाहा भए पनि 'हो क्यारे' भनेर 'वा होइन कि!' भन्ने भावका साथ अलिक शंका व्यक्त गर्दिएँ।

'हजुर हो।' उसले पनि पूरा कन्पि्कडेन्टका साथ यसरी भनी मानौं उसले पनि यसअघि सत्रैवटा केटा हेरिसकेकी छ।

'मेरो नाउँ चै विमल।'

'अँ थाहा थियो।' उसले पुनः मेरो आँखैमा हेर्दै भनी।

'अहिलेसम्म कति केटा हेरिसकेकी छ्यौ?' मेरो पहिलो प्रश्न। सोधिसकेपछि लाग्यो यस्तो प्रश्न नगरेको भए हुन्थ्यो कि! त्यहाँमाथि पहिलो प्रश्न।

ऊ एकछिन हाँसी। अनि दाहिने हातले कपाल पन्छाउँदै भनी, 'दसजना।' अनि तुरुन्त उसले पनि सोधीहाली, 'तपाईंले?'

'तिमी भन्दा हुन्छ मलाई।' मैले उसलाई भनें।

'तपाईंमा केही आपत्ति छ र?'

'छैन' मैले भनें, 'मित्रवत् माहौलमा कुरा गरौं भनेर नि! मैले तिमी भनिहालें, त्यसैले पनि।'

'हुन्छ त्यसोभए।' ऊ फेरि हाँसी र भनी, 'तिमीले चैं कति केटी हेरिसक्यौ?'

'तिमी सत्रौं नम्बर।'

'बाफ् रे!' उसले आँखीभौं तन्काउँदै भनी, 'मभन्दा सात कदम अगाडि।'

दुवै हाँस्यौं।

अनि मैले सोधें, 'तिम्रो हब्बी चैं के के हो?'

उसले सिलिङतिर हेर्दै केही सोचेर भनी, 'कुकिङ र भ्रमण'

'कुकिङ चैं मलाई इम्प्रेस गर्न भन्यौ कि क्या हो?' म जिस्किदिएँ।

'कुकिङ त्यस्तो अप्ठ्यारो काम हो र? कसैलाई इन्प्रेस नै गर्ने कोटिको?'

'हुन त महिलाहरूको हकमा त्यस्तो नसोच्नुपर्ने मैले,' मैले भनें।

'किन?' उसले निधारको भृकुटी अलिकति खुम्च्याई र भनी, 'यसमा जेन्डरको के भूमिका र? मेरो बुवा पनि पकाउनुहुन्छ।'

खानदानै कुक रै'छन्। एकछिन चुप लागिदिएँ। केटी हेर्न गएको मान्छे के बहस गर्नु?

अर्को प्रश्न सोधें, 'रक्सी पिउँछ्यौ?'

'कहिलेकाहीँ,' उसले जवाफ दिई, 'तर वाइनमात्र। हार्ड सक्तिनँ।'

अनि मलाई पनि सोधी, 'तिमी?'

'पिउँछु,' मैले भनें, 'तर हार्डमात्र।'

'स्मोक गर्छौ?' उसले सोधेकी।

'कहिलेकाहीँ मात्र,' मैले भनें, 'तर म चेन स्मोकर चैं होइन।'

अनि मैले पनि उसैलाई यै प्रश्न सोधें, 'तिमी?'

'नाइँ स्मोक त गर्दिनँ।'

'तासमा इन्ट्रेस्ट छ?'

'म्यारिज मात्र,' उसले भनी, 'अनि तिमी?'

'म दसैंमा चैं खेल्छु फलाँस। त्यति इन्ट्रेस्ट लाग्दैन।'

अनि त्यसपछि प्रश्नहरू अलिक विषयगत हुन लागे। दुवैले सोध्यौं यस्ता प्रश्नहरू।

प्रश्न मेरो उत्तर उसको

'तिम्रो विचारमा बिहा के हो?'

'एउटा आवश्यकता।'

'आवश्यकता केको?'

'आवश्यकता सम्झौताको।'

'सुहागरातको बेला यदि म नपुंसक भन्ने थाहा पायौ भने के गर्छ्यौ?'

'तिम्रो नपुंसकता सहन गर्ने क्षमता हुन्जेलसम्म सहन गर्छु, नसक्ने भएपछि विकल्प खोज्छु।'

'मैले पहिल्यै बिहा गरेर कतै आइमाई राख्या रै'छु र त्यो कुरा तिमीले हाम्रो बिहे भएपछि थाहा पायौ भने?'

'मलाई राम्ररी थाहा छ म एरेन्ज म्यारिज गर्न गइरहेकी छु। यसैले यो सब कुरा बुझेर आफ्नी छोरी दिने काम मेरा बुवा–आमाको। म यस विषयमा टेन्सनै लिन्न। मलाई उहाँहरूमाथि पूरा विश्वास छ।'

'के तिमीलाई सन्तानको चाहना छ?'

'कुन स्त्रीमा नहोला र सन्तानको चाहना?'

'तर मैले सन्तानको चाहना राखिन भनें!'

'यो त आपसी सहमतिको कुरा हो नि! एक हातले ताली बज्ने पनि त होइन।'

धन्न उसले यसमा चैं विकल्प खोज्छु भनिनँ।

'केटो त दसवटा हेरेकी रै'छ्यौ। प्रेम चैं कसैसित गरिनौ?'

'प्लस टु पढ्दा थियो एउटा। तर प्लस टुका प्रेमहरू प्रायः प्लस टुमै फेल हुँदा रहेछन्। ब्याचलर्स टेक्नै नपाउने।'

'फिजिकल भयो?'

'त्यो ब्रेकअपको कारण नै फिजिकल रिलेसनसिप बन्यो।'

'अर्थात्?'

'मैले फिजिकल रिलेसनसिप रुचाइनँ, त्यसले मसितको प्रेम रुचाएन।'

'बिहापछि मैले तिमीलाई सारीबाहेक केही लगाउन पाइँदैन भनें भने?' प्रसंग बदलें।

'सक्दो कन्भिन्स गर्छु तिमीलाई।'

'म त हतपत कन्भिन्स हुने खालको मान्छे होइन नि।'

'बु‰या छु आजकालका केटाहरूको साइकोलोजी।'

'के बुझेकी छ्यौ र?'

'आजकालका लोग्नेमान्छेहरू स्वास्नीलाई सारीमा चैं झन् हेर्नै सक्तैनन्।'

'त्यसोभए के बिकिनी लगाउँछ्यौ त?'

'अवश्य लगाउँछु। यदि कुनै बिचमा घुमाउन लग्यौ भने।'

म नहाँसिरहन सकिनँ।

अब उसले मसित प्रश्न सोध्न चाही। अर्कालाई सोध्न त मजै आ'थ्यो। अब आफूलाई सोधिँदा कुन हबिगत हुने हो भोग्न बाँकी थियो।

प्रश्न उसको उत्तर मेरो

'सोह्रवटी केटीलाई किन रिजेक्ट गर्‍यौ?'

'सोह्रलाई होइन, आठवटीलाई रिजेक्ट गरें। बाँकीले मलाई नै रिजेक्ट गरे।'

'मबाट के अपेक्षा छ त?'

'अठारौंमा जानु नपरोस् भन्ने!'

'बिहा किन चाहन्छौ?'

'अर्काको देखासिकी गरेर।'

'बिहा गरेको छ महिनामै मैले सन्तान जन्माएँ भनें?'

'दस महिनाअगाडि हाम्रो अफेयर थियो भन्ने सम्झूँला।'

'जीवन के हो?'

'म दार्शनिक होइन।'

'यो प्रश्नको जवाफ त गैरदार्शनिकले पनि दिन्छन् त!'

'होइन। यहाँ हरेक मान्छे आफूलाई दार्शनिक सम्भि्कन्छ।'

'हरेक मान्छेभित्र तिमी पर्दैनौ र?'

'पर्छु।'

'अनि किन आफूलाई हरेकभन्दा बाहिर राख्न खोज्ने अभिव्यक्ति त?'

'के मेरो यस्तो किसिमको अभिव्यक्ति आफैंमा दार्शनिक छैन र?'

हाँसोको वातावरण।

'मैले स्मोक छोड भनें भने।'

'पहिला कारण सोध्छु।'

'कारण दिएँ भनें।'

'म कन्भिन्स हुनुपर्छ।'

'अब तिम्रै प्रश्न। प्रेम गरेका छौ?'

'दुइटीलाई घुमाएँ।'

'अनि फिजिकल?'

'एउटीसित भयो।'

'विवाहपछि मैले त्यै विषयलाई इस्यु बनाएर बबाल गरें भने?'

'म विश्वस्त छु। कम्तीमा यो विषयमा चैं बवाल हुँदैन। बरु तिमी बिहा नै गर्न तयारी नहुँदी हौ।'

'यत्रो विश्वास?'

'सोह्रवटी केटी हेरिसक्या छु। केटीमान्छेको साइकोलोजी अलिअलि त बु‰छु।'

'सोह्रवटी केटी र सत्रौंमा के भिन्नता पायौ?'

'सोह्रवटीसित यसरी खुलेर कुरा गर्न पाइया थिएन।'

'किन त्यस्तो?'

'ठ्याक्कै भन्न सक्तिनँ। सायद यस्तो माहौल र मान्छे नभएर होला।'

'कस्तो माहौल र मान्छे?'

'रमाइलो माहौल र फ्र्यांक मान्छे।'

ऊ हाँसी। सम्भवतः मख्ख परी। र इम्प्रेस्ड पनि।

'कुनै पनि सम्बन्ध मजबुद हुनुको आधार के हुन सक्ला?'

'विभिन्न सम्बन्धका विभिन्न आधार होलान्। एकैनास हुन्न।'

'जस्तै कुनै एउटा उदाहरण दिँदा!'

'जस्तै पति र पत्नीको सम्बन्धकै उदाहरण लिन सकिन्छ। दुवैले एक–आपसको रुचि र उद्देश्य पहिल्याएर त्यसको सम्मान गर्‍यौं भने त्यो सम्बन्ध मजबुत रहला।'

'यो कुरा त हरेक सम्बन्धको आधार हुन सक्तैन र?'

'सक्छन्। तर यीबाहेक अरू एक–दुई थप कुरा पनि आधार हुन सक्लान्।'

'जस्तै?'

'जुनियर र सिनियरको सम्बन्ध। एउटा सिनियरले जुनियरको रुचि पहिल्याएर त्यसलाई सम्मान गर्नुपूर्व सही र गलतको कसीमा राखेर हेर्नुपर्छ। तर पति पत्नी समयात्री भएकाले र उमेरमा उस्तो धेरै फरक नपर्ने हुनाले मित्रवत् व्यवहार हुनुपर्छ। आजको युगमा उनीहरूबीच नो सिनियारिटी र जुनियारिटी।'

'एउटा अन्तिम कुरा सोधें है त?'

'अवश्य।'

'मेरा गार्जेनले हाम्रो विवाहप्रति असहमति जनाए भने?'

'अठारौंको खोजी गरौंला।'

'नाइँ खास भन्न खोजेको के भने सपोज आजको हाम्रो यस वार्तालापमा हामीबीच प्रेम भो तर उहाँहरूले यो विवाह स्वीकार्नु भएन भने भन्न खोजेको।'

'प्रेमै भो भने त भागौंला नि!'

ऊ हाँसी।



हाम्रो वार्तालाप सकियो। बाहिर अघि हामीलाई एकान्त दिनेले नै हाम्रो एकान्त बिथोले। सप्पै चलाइएको बारुलाको गोलाबाट निस्कने माहुरीझैं हुरुरु भित्र छिरे।

जान चैं एरेन्ज म्यारिजका लागि भनेर केटी हेर्न गएको थिएँ। तर लभ पर्दियो। अब उसको जवाफ कुर्नु थियो। यदि उसले मानी भने म भन्न सक्नेछु हाम्रो लभ म्यारिज हो भनेर।

'मलाई केटी मन पर्‍यो।' तिनीहरूको घरबाट बाहिर निस्कँदै गर्दा मैले साथीलाई यही कुरा भनें।

उसले एकपल्ट हाँस्दै भन्यो, 'उसोभए अब दिदी चैं को बूढासित उसकी दिदीको हात नमागे भो!'

मलाई पनि हाँस उठ्यो।



झरी धेरै नै मन्द भैसकेको थियो।

'चिया!' टेबलमा चिया ल्याएर मेरी श्रीमतीले राखिदिई। चस्मा खोलेर एकपल्ट उसलाई हेरें।

अनि भनें, 'धन्यवाद सत्रौं केटी।'

ऊ मुस्कुराई। अनि भनी, 'यहाँलाई स्वागत छ दसौं केटा।'



- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/1246.html#sthash.lqq0lmmZ.dpuf

पूर्वमा दुई चुम्लुङ


मुनाराज शेर्मा



दुई महिनाअघि झापाको काँकरभिट्टामा आयोजित कला–साहित्य उत्सवकै निरन्तरता झल्किने गरी पाँचथर सदरमुकाम फिदिममा अघिल्लो शुक्रबार दुईदिने पूर्वाञ्चलस्तरीय बृहत् साहित्य मेला आयोजना भयो। केन्द्र भत्काउने र समकेन्द्र बनाउने अभियानबीच मोफसलले आफ्नो शक्ति फेरि एकपल्ट प्रदर्शन गर्‍यो।

नौलो साहित्यिक बिहान प्रतिष्ठानको आयोजनालाई नेपाल प्रज्ञा प्रतिष्ठानले सघायो। पूर्वाञ्चलका अधिक र काठमाडौंका थोरै स्रष्टाको यो जमघटले स्थानिकतालाई जोड दियो, आफैं उठेर दौडियो। नेपाली साहित्य, भाषाको सघन विमर्शले फिदिम गर्मियो।

लिम्बूवानको बन्द छिचोल्दै पाँचथरमा भेला भएका लेखकहरूले फरक पुस्ताबीचको अन्तर मेट्न सघाउ पुर्‍याए। मेची–कोशीका साहित्यसेवीलाई सम्मान गरेर थालनी भएको महोत्सवमा आयोजक संस्थाले सन्त ज्ञानदिलदासको नाममा पुरस्कारसमेत घोषणा गर्‍यो।

लेखक प्रेम ओझाको नेतृत्वमा फिदिमे युवा लेखकले केही भिन्न शैलीको मेला आयोजना गरे। त्यहाँ साहित्य, संस्कृति, भाषा, वाङ्मय र सञ्चारमाथि बहस गरियो। अर्धऔपचारिक शैलीको चुम्लुङ, जहाँ सबै दर्शक वक्ता थिए, सबै वक्ता दर्शक।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीलगायत लेखक सहभागी महोत्सवमा प्राध्यापक टंकप्रसाद न्यौपानेले नेपाली भाषामाथिका समस्या र भ्रमबारे प्रष्ट पार्न माग गरे। नेपालका १ सय २५ मध्ये १ सय ११ भाषाको वक्ता संख्या १ प्रतिशत पनि नभएको उनले कार्यपत्रमा उल्लेख गरे। 'सरकारी भाषा नीति पनि भाषा लोप हुनुमा जिम्मेवार छ,' उनले भने, 'अन्तरभाषिक विवाहले समेत वक्ता संख्या घटाएको छ।' विशेष भाषा नीति अघि सारे मातृभाषाहरूको विकास हुने उनको तर्क थियो।

प्राध्यापक न्यौपानेले मातृभाषीहरूको भाषिक बफादारी आवश्यक हुने जिकिर गरे। 'पछिल्लो जनगणनाले एउटै मातृभाषाभित्र थुप्रै भाषिका निर्माण गरिदियो,' उनले भने, 'लिम्बू भाषाको छथरे भाषिका यसको उदाहरण हो, मातृभाषीहरू हो सचेत बन्नूस्।'

न्यौपानेको कार्यपत्रमाथि सहभागीहरूले जमेर बहस गरेका थिए। पाँचथरको याङनाम बसेर बौद्धिक विमर्शमा शक्तिशाली हस्तक्षेप गरिरहेका लेखक थाम्सुहाङ पुष्प सुब्बाले नेपाली साहित्यमा लिम्बू भाषाको प्रभावबारे बोलेका थिए। आयामेली कवि वैरागी काइँला, थाम्सुहाङसँगै सृजनशील अराजकता, उत्तरवर्ती सोचलगायत साहित्यिक आन्दोलनले लिम्बू मिथक, साँस्कृतिक विम्ब प्रयोग गरेर साहित्य लेखे पनि समालोचकीय पहिचान पाउन नसकेको उनले बताए। 'जनजातीय भाषा संस्कृति, धर्मग्रन्थ र साहित्यको अध्ययन आवश्यक छ,' उनले भने, 'समाज मिश्रित ढाँचामा रहेकाले लिम्बुभाषी क्षेत्रमा अरू जातिले समेत लिम्बू र नेपाली भाषा बोलेको पाइएको छ।'

कवि मिश्र वैजयन्तीले लिम्बू भाषाको विकासमा श्रीजङ्गा र इमानसिंङ चेमजोङको भूमिका बिर्सन नहुने बताइन्। लेखक नारायण निरौला र तेजमान आङ्देम्बेले महोत्सवमा बोले। युवा लेखकको जमघट हेर्नलायक थियो। काठमाडौंबाट उपन्यासकार राजन मुकारुङ, कवि स्वर्गीय स्वप्निल स्मृति, दुतेन्द्र चाम्लिङ आए। मोरङबाट खेम नेपाली, गण्डकीपुत्र, लोचन रिजाल, मधु पोखरेल, सुमन पोखरेल बद्रीविलास पोखरेल, सुनसरीबाट हेमन यात्री, सुदीप पाखि्रन, झापाबाट कृष्ण बराल, अभागी थेग्ाुवा, केशव आचार्य, टंक विकल्प, लीला अनमोल, ज्योति भट्टराई र चुलाचुलीबाट विवश बलिभद्र, सुन्दर कुरुप, इलामबाट विमल वैद्य, प्रकाश थाम्सुहाङलगायतको उपस्थिति थियो।

पहिलो दिन कार्यपत्र र औपचारिक सत्रमा सीमित भए पनि दोस्रो दिन महोत्सवको माहोल नै बदलियो। अन्तर्क्रियात्मक सत्र ताता बहसमा अनुदित भए। घरि वक्ताहरू नरम बोली गर्थे, घरि चर्काचर्की। दर्शकहरूसमेत उनीहरूसँगै चर्कन्थे, थामिन्थे। दोस्रो दिनको कार्यक्रम राति आठ बजेसम्म चल्यो, जहाँ ६० कविहरूले नेपालीलगायत विभिन्न भाषामा कविता पाठ गरे।

नेपाली भाषामा जनजातीय भाषाहरूको प्रभाव र लेखनमा तिनको प्रभावबारे छलफल गर्न प्राध्यापक न्यौपाने, थाम्सुहाङ पुष्प, तेजमान आङ्देम्बे र सुवास राई जुटे। 'साहित्यमा भाषा' शीर्षक सत्रमा उनीहरूलाई युवा लेखक मदन मुर्च्छनाले अन्तर्क्रिया गराएका थिए। मातृभाषाहरूको आफ्नो लिपि हुँदाहुँदै पनि देवनागरीमा लेखे फरक नपर्ने, बरु त्यसले भाषालाई बोधगम्य बनाउन सहयोग पुर्‍याउने निचोड सत्रमा निस्कियो। महत्वपूर्ण निष्कर्षहरू आउन थालेपछि दर्शकहरूले अभिलेखन गरिनुपर्ने माग गरे। आयोजकले तुरुन्तै सुन्यो।

नेपाली आख्यानमाथिको छलफलमा बद्रीविलास पोखरेल, रविमान लमजेल, लोचन रिजाल र मिश्र वैजयन्तीलाई मोडरेटर दुर्गाराज भट्टराईले बहस गराए। धेरै लामो यात्रा पार नगर्दै नेपाली आख्यानमा विभिन्न प्रयोगहरू भइसकेको वक्ताहरूको भनाइ थियो। नवीन विचारहरूलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने आख्यानकारहरूले बताए।

तेस्रो सत्रमा मोडरेटर प्रेम ओझाले 'पत्रकारिता र साहित्य' शीर्षकमा देवी क्षेत्री दुलाल, लक्ष्मी गौतम र लीला अनमोललाई बहस गराए। लेखक राजन मुकारुङ, थाम्सुहाङ पुष्प, धर्मेन्द्रविक्रम नेम्वाङ र कृष्ण बराललाई साहित्यिक आन्दोलनबारे गणेश हाङसेमले अन्तर्क्रिया गराए। राजनले सृजनशील अराजकतावादबारे बोल्दै पहिचानका मुद्दालाई साहित्यका माध्यमबाट डेढ दशकअघि बढाउन खोज्दा संस्थापनले बेवास्ता गरेको मूल्य आज चुकाउनु परिरहेको जिकिर गरे। थाम्सुहाङ पुष्पले उत्तरवर्ती सोच र बरालले लीलालेखनबारे बोलेका थिए।

अन्तिम सत्रको कविता विमर्श सर्वाधिक चर्चित भयो। प्रकाश थाम्सुहाङले मोडरेट गरेको कविता सत्रमा देवेन्द्र शक्तेन, विमल वैद्य, मुनाराज शेर्मा र गण्डकी पुत्रले जवाफ दिए। प्रश्न गर्नेहरूले उल्टै जवाफ दिनुपरेको थियो। मञ्चमा बस्नेहरूचाहिँ प्रतिप्रश्न फ्याँकिरहेका थिए। गजललाई कविताकै उपविधा मान्नुपर्ने र गजल स्वायत्त विधा हो भन्नेहरुबीच चर्को विवाद भयो।

रविमान लमजेलले पूर्वाञ्चलको साहित्य र स्रष्टाबारे अनुसन्धानमूलक कार्यपत्र पेश गरे। महोत्सवमा कतै चित्रकला सजाइएका थिए। कतै पुस्तक प्रदर्शनी। साझा प्रकाशनलगायत विभिन्न संस्थाले किताब बिक्री तथा प्रदर्शनका लागि राखेका थिए। महोत्सवमा पूर्वका विभिन्न पर्यटकीय स्थलको तस्बिर प्रदर्शनीसमेत भयो।

एकेडेमीका कुलपति वैरागी काइँलाको जिल्ला पाँचथरले थुप्रै प्रतिभाशाली लेखक जन्माएको छ। पाँचथर अहिले पनि सृजना र सक्रियता दुवैमा अब्बल छ भन्ने उदाहरण महोत्सवले पुष्टि गरेको छ।

कवि कहिल्यै बूढो हुँदैन


अमर न्यौपाने


हेर्नेहरू भन्थे, 'मालती–मंगले' नाटक हेर्दा जस्तै कठोर मान्छे पनि रुन्छ। सो गीतिनाटक चितवनको नारायणगढमा पनि मञ्चन भयो। त्यतिबेला म ११–१२ वर्षको हुँदो हुँ। बासहित स्कुलबाट सबै शिक्षक जाने भए।
मैले बालाई पिरें– 'म पनि नाटक हेर्न जान्छु!'


तर उहाँले लैजानुभएन। म खिन्न भएँ। नाटक हेरेर फर्कंदा 'मालती–मंगले' नाटकको किताब ल्याइदिनुभएछ। कमाराकमारीको कारुणिक गीतिलयमा लेखिएको नाटकले मलाई धरधरी रुवायो। पछि मात्र लेखकको नाम हेरें। उनी रहेछन् कविताले रुवाउने कवि— माधव घिमिरे।
'मालती–मंगले'बाटै प्रवाहित भएर मैलै त्यही शैलीको नक्कल गर्दै 'पहिलो भेट' शीर्षकमा वियोगान्त गीतिनाटक लेखेको थिएँ।
चार–पाँच महिनाअगाडिको भेटमा कवि घिमिरेलाई यो कुरा सुनाउँदा आफूलाई धन्य ठानें। उनी भावुक बने।
...
सानो छँदा सुत्ने बेला आमा यी श्लोक भाका हालेर सुनाउनुहुन्थ्यो–
लीला माइतका भुलेर घरका धन्धा तिमीले गर्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गर्यौर
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

जसरी एउटा बालकले फूल भन्ने थाहा नपाउँदै फूल मन पराउँछ। यस्ता श्लोक कविता हुन् भन्ने थाहा नपाउँदै मैले कविता मन पराएको रहेछु।
धेरैपछि थाहा पाएँ, त्यी त 'गौरी' खण्डकाव्यका श्लोक रहेछन्।

...
२०५५/५६ सालतिर कवि घिमिरेलाई पहिलोपटक चितवन महोत्सवमा देख्न पाएँ, टाढैबाट। हात्तीका जस्ता साना आँखाले उनी स्टेजबाट चारैतिर सूक्ष्म दृष्टि लगाइरहेका थिए।

पाँच वर्षअघि कवि प्रसन्न घिमिरे र म उनको घरमै पुग्यौं। त्यो प्रत्यक्ष भेटले म प्रफुल्लित भएको थिएँ।
भदौ महिना। १२ बजेको हुँदो हो, उनले आफ्नै शयन कक्षमा बोलाए। मैले आफ्नो परिचयसहित साहित्यका बारेमा विभिन्न जिज्ञासा राखें। उनी त धारावाहिक बोल्न पो थाले। बुढ्यौलीका कारण सुरुमा कम्पित आवाज आए पनि बोल्दै जाँदा आवाज प्रष्ट हुँदै गयो।
पत्नी महाकालीले पोलेको मकै ल्याएपछि लामो सास फेरेर भने– 'थाकेंछु!'

मैले घडी हेरें, पौने चार बजेको रहेछ। पौने चार घन्टासम्म लगातार कसरी बोल्न सकेका होलान् यी ८९ वर्षका कविले!
कविताबारे बोल्न थालेपछि उमेर, भोक, थकाइ बिर्सेर हृदयप्रदान कुरा गर्ने यी कविलाई मैले मनमनै नमन गरें। त्यसपछि बेलाबेला विभिन्न कार्यक्रममा देखभेट भइरहेकै हो, फेरि अन्तरंग कुरा गर्ने अवसर भने मिलेको थिएन।
२०६९ असोज २६ गते। मध्यदिन भर्खर ओर्लंदै गरेको समय। जनक सापकोटा भाइ र म उनको निवास लैनचौर पुग्यौं। बैठक कोठामा ९३ वर्षीय कवि ठमठम आए र सोफामा बसेर कुरा गर्न थालिहाले।
सेतै कपाल, उमेरभन्दा कम चाउरिएको उज्यालो अनुहार, हँसिलो मुख, बाक्ला आँखी भौंका तल आशैआशाले भरिएका हात्तीका जस्ता साना आँखा, कम्पनमा आफ्नोपन भएको, बोल्दै जाँदा अझ भावनात्मक हुँदै जाने मधुर आवाज, ठिक्कको शरीर र नेपालीहरूको औसत उचाइमा सुकिला कुर्तासुरुवाल = राष्ट्रकवि माधव घिमिरे।
उनलाई सानो छँदा कवि हुन्छु जस्तो लागेको थिएन रे। तर कविता भन्ने थाहा नहुँदै मनभित्र कविताजस्तै मीठा भाव उठिरहन्थे रे।
उनी उपदेश मञ्जरीका श्लोकहरू बाले मीठो लयमा भाका हालेको खुब सुन्थे। भजन, चुड्का र लोकगीतमा रमाएर खुब नाच्थे।
औपचारिक रूपमा सर्वदर्शनमा शास्त्री गरे। संस्कृत पढे। संस्कृतका सुकोमल शब्दहरूमा लोकका ठेट शब्द मिसाएर आफ्ना भाव भर्दै उनले शास्त्रीय र लोक छन्दमा कविता लेख्न थाले।
उनलाई लाग्छ, कविताप्रतिको उनको पहिलो आकर्षण लय, दोस्रो शैली र तेस्रो भाव हो।
प्रकृतिलाई प्रेम गर्दागर्दै कविको मनमा आफै नयाँ भाव पलाउँदो रहेछ–

आई कैल्यै पनि नसकिने चैत–वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा

कारणविना कार्य हुँदैन। पहिले कारण हुन्छ, अनि कार्य। तर प्रेममा कार्य र कारण कुन पहिले हुन्छ थाहै हुँदैन।
उनको यो गीतको रानीले यसै भन्छ–
तिम्रो प्रीति पहिले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म, एकैचोटि के भो कुन्नि कहिले

स्वच्छन्दवादी कवि भएकाले उनी प्रायः प्रकृतिको कोमल रूपको चित्रण गर्छन्। तर 'पापिनी आमा' मा प्रकृतिको भयानक रूपको चित्रण गरेका छन्।
ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सृजनाशक्ति संसारमा कैल्यै हुँदैन विफल

राष्ट्रिय भावका गीत भए पनि उनका राष्ट्रिय गीतलाई सूक्ष्म रूपले हेर्दा विश्वजनीन भाव पाइन्छ।
सिर्जना गर्दै जाने क्रममा पछिल्लो कृति अघिल्लोभन्दा अझ शक्तिशाली बनाऊँ भन्ने लागे पनि उनलाई भने 'गौरी' खण्डकाव्यका प्रत्येक अक्षर आँसुले लेखिएको र तीव्रतम अनुभूतिले भरिएको छ भन्ने लाग्छ।
विज्ञानले गरेको अकल्पनीय आविष्कार देखेर उनी दंग छन्। उनको पालामा पृथ्वी घुम्छ भन्दा गाउँका जान्ने भनौंदा एक जनाले भनेछन्– 'पृथ्वी घुम्ने भए उत्तरको हिमाल किन दक्षिण नगएको?' उनले विज्ञानको प्रशंसा गर्दै साधारण तरिकाले भने– 'चस्मा नभएको भए मैले लेख्न–पढ्न सक्ने थिइनँ।'
कहिलेकाहीँ टिभी हेर्ने मुड चल्छ। तर उनलाई त्यसले उति तान्दैन।
अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउन विदेशीको अनुकरण होइन आफ्नै देशमा लुकेर रहेको तर मार्मिक विषयलाई प्रस्तुत गर्नुपर्छ। यस्ता कुरा विश्वलाई नौलो हुन्छ भन्ने उनको धारणा छ।
प्रायः उनी आफू बूढो भएको कुरा नै बिर्सन्छन्। प्रेम र जवानीका गीत लेख्दा त झन् जवानी छु भन्ने लाग्छ। ऐना हेर्दा पो झस्किन्छन्– म कहिलेदेखि बूढो भएँ हँ!
उनलाई लाग्छ, साहित्य लोकबाट लिएर लोकलाई नै दिने खालको भयो भने मात्र त्यो सधैं जीवित हुन्छ। त्यसैले मुना र मदन अहिले पनि जीवित छन्। रामायण र महाभारत जस्ता ग्रन्थका पात्र जीवित मात्र होइन भगवान् नै भएर बाँचेका छन्।
बोल्दाबोल्दै उनी कहिले भावुक हुन्छन् कहिले जोसिला। मनलाई नै मुहारमा ल्याएझैं उनी भन्छन्– 'कविता हृदयबाट निस्किन्छ। कहिलेकाहीँ मस्तिष्कबाट पनि निस्किन्छ। मस्तिष्कबाट निस्किएको कुरालाई हृदयमा घोलेर मात्र बाहिर निकाल्नुपर्छ। कविता, कविता भयो कि भएन भनेर बुझ्नुपर्छ। कविको आफ्नोपन छ कि छैन हेर्नुपर्छ।'
वाद, सिद्धान्त, राजनीतिक विचार प्रधान भएर आएका कविता उनलाई घोषणा–पत्र जस्तै लाग्छन्।
कमजोर कविताहरूले कविताप्रतिको धरणा नै बिगारिदिएका छन्, तर ती पछि आफैं हटेर जान्छन्, तिनलाई हटाउनुपर्दैन भन्ने उनलाई लाग्छ।

दिनचर्या
प्रायः ६–६ः३० को बीचमा उनी उठ्छन्। अचम्मलाग्दो कुरा, उनी काठमाडौंमा चराको चिरबिर सुन्छन्। मरुस्थल बन्दै गएको काठमाडौंमा कविले अझै यो सौभाग्य घरपछाडिको सानो बगैंचाका कारण प्राप्त गरेका छन्।
बूढो जिउ कक्रक्क परेको हुन्छ। उठ्नेबित्तिकै बेनियम नृत्य गर्छन्।
चिसो लाग्ने भएकोले बिहान उनी नुहाउँदैनन्। २० मिनेटदेखि आधा घन्टासम्मको सजिलो योग भने गर्छन्।
त्यसपछि कालो चिया र बिस्कुटसँगै उनी रेडियो नेपालबाट आउने सात बजेको समाचार सुन्छन्। समाचार सुन्दा देश बाटो पहिल्याउन नसकेर कतै अल्मलिएजस्तो लाग्छ।
कहिलेकाहीँ बिहान फलफूल पनि खान्छन्।
जाडो महिनामा त चिसो लाग्छ, तर गर्मीमा उनी बगैंचामा खाली खुट्टाले कविता सोच्दै हिँड्छन्। उनलाई अरू केही रोग छैन, मधुमेह र रक्तचापबाहेक।
प्रायः वेद, उपनिषद् र गीताका केही श्लोक पढेपछि उनको समय लेखपढमा बित्छ। उनलाई सिर्जनात्मक लेखन गर्न बिहान आठदेखि १० बजेसम्मको समय उपयुक्त लाग्छ।
केही वर्षदेखि उनी महाकाव्य लेख्दै छन्। चार वर्षअगाडि आउँदा पनि उनले यही महाकाव्य लेख्दै थिए। सायद सात–आठ सर्ग सकेका थिए उतिबेला। उनको जीवनकै पहिलो महाकाव्य। नाम पनि दिइसकेका छन्¬– 'ऋतम्भरा'। १४ सर्ग बनाउने योजना छ। १३ सर्ग सकिनै लागेको छ। अब ६ महिनामा त चौधौं सर्ग पनि सक्छु भन्ने अठोट उनले लिएका छन्। बेलाबेलामा अचानक श्लोकहरू आफैं फुर्छन्।
यात्री भविष्यतिरको कवि क्रान्तदर्शी
लागें अतीततिर झन् कसरी म फर्की

महाकाव्यको श्लोक सुनाउँदै उनी भन्छन्– 'कथानक वैदिक र प्राचीन छ तर त्यसको उद्देश्य अहिलेको समयलाई देखाउने लिएको छ। अबको विश्व प्रविधिक कारणले एक भयो, तर हार्दिक रूपले एक हुन बाँकी नै छ। त्यसको प्रयत्न नै यस ऋतम्भरा महाकाव्यमा छ।'
११ बजेतिर सादा खाना, कहिलेकाहीँ बोसो नभएको खसीको मासु पनि खान्छन्। तर आजभोलि पहिलेको जस्तो मासुमा रुचि छैन। खाना खाएपछि आधा घन्टाजति यसै बस्छन्, आराम गरेर। त्यसपछि बल्ल अखबार हेर्छन्। अखबारमा एक घन्टा समय बित्छ। सामान्यतया उनी हेडलाइन मात्र हेर्छन्। मन परे मात्र हेडलाइनभित्र छिरेर बडी लाइन हेर्छन् अनि पढ्छन्।
भूमिका लेखाउन ल्याइएका पाण्डुलिपिहरूलाई पनि उनी केही समय दिन्छन्।
एक बजेतिर एकाध घन्टा सुत्नुपर्छ उनलाई। उठेपछि प्रायः खाजा चिल्लो हालेको गहुँको रोटी हुन्छ। कहिलेकाहीँ दिउँसो विशेषगरी साहित्यिकहरू भेटघाटका निम्ति पनि आउँछन्।
साँझको समय उनलाई असाध्यै मन पर्छ। साँझको रंगीन संसारमा डुब्नु राम्रा कविताको रसमा डुब्नुभन्दा मीठो लाग्छ। प्रकृतिमा डुब्न मन पराउने यी कवि सहरमा बसेर गाउँ मन पराउँछन्। भन्छन्– 'मन त गाउँमै जान्छ तर गाउँमा छोराछोरी, नातिनातिना हाँसेको खेलेको देख्न पाउँदिनँ।'
बेलाबेलामा उनी किशोर भएर गाउँ गएको सपना देखिरहन्छन्।
बेलुका खाना खाएपछि विश्राम र पारिवारिक कुरा गर्दै उनी टिभीमा समाचार हेर्छन्। त्यसपछि नौ बजेदेखि ११ बजेसम्म आफ्नै लेखपढको काममा लाग्छन्।
कहिलेकाहीँ सुत्न भनेर लाग्यो स्वाट्ट नौलो कुरा कविता भएर आइदिन्छ र उनी अबेरसम्म पनि बस्छन्।
निद्रा परोस् भनेर उनी सुत्नुअघि आधा घन्टाजति योगासन गर्छन्, जसले उनलाई निद्रा लाग्न सहयोग गर्छ।
यो उमेरमा आएर आफ्नै जीवनलाई उनी कहिले द्रष्टा भएर हेर्छन्, कहिले भोक्ता भएर।
जे भएर हेरे पनि जिन्दगी पहिलेको वागमती र विष्णुमतीझैं छङछङ बग्छ।
...
पोहोर 'मदन पुरस्कार' अर्पण समारोहमा आमाबाले नै राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा भावविभोर हुँदै कुरा गर्नुभयो। पछि आमाले भन्नुभयो— 'त्यति बेला 'गौरी'का कविता गाउँदा कुनै दिन माधव घिमिरेलाई भेटिएला भन्ने लागेकै थिएन! म धन्य भएँ।'

- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/6627.html#sthash.ytSNrtD0.dpuf